स्वास्थ्य

सर्पदंश र रेबिजविरुद्धका भ्याक्सिन टेकु केन्द्रीय स्टोरमा आइपुग्यो

स्वास्थ्य सेवा विभागको नियमित खरिद प्रक्रिया सर्पदंश र रेबिजविरुद्धका भ्याक्सिन टेकु केन्द्रीय स्टोरमा आइपुगेको छ।

बिहिबार साँझ ५ बजे सर्पदंशको उपचारमा प्रयोग हुने ८ हजार २ सय भायल भ्याक्सिन र रेबिजविरुद्ध प्रयोग हुने १७ हजार ६ सय भायल रेबिज इम्युनोग्लोबुलिन भ्याक्सिन स्टोरलाई प्राप्त भएको स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा अनुज भट्टचनले जानकारी दिए।

उनका अनुसार आवश्यक प्रक्रिया पूरा गरी प्राप्त भ्याक्सिनहरू सातवटै प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमार्फत सम्बन्धित स्वास्थ्य संस्थामा वितरण गरिनेछ।

सर्पदंश तथा रेबिजको जोखिममा रहेका बिरामीको उपचारका लागि आवश्यक यी सामग्री प्राप्त भएपछि देशभरका स्वास्थ्य संस्थामा उपचार सेवा थप सहज हुने अपेक्षा गरिएको छ।

प्रकाशित: २८ श्रावण २०८३ १८:४५ बिहीबार