बागमती प्रदेशका नेकपा (एमाले) संसदीय दलका नेता जगन्नाथ थपलिया सोमबार राति एमाले अध्यक्ष केपी शर्मा ओलीको गुण्डुस्थित निवासमा भएको छलफलका क्रममा अचानक बेहोस भएका थिए। अस्पताल पुर्याइएका थपलियामा स्वास्थ्य परीक्षणका क्रममा रक्तचाप र सुगरको मात्रा बढेको पाइएको छ।
सरकार गठनबारे लामो समयसम्म चलेको छलफलका क्रममा थपलिया अचेत भएर ढलेपछि उनलाई तत्काल मध्यपुर थिमीस्थित अस्पताल लगिएको थियो। चिकित्सकहरूले स्वास्थ्य परीक्षण गरेपछि आवश्यक औषधि दिएर उनलाई डिस्चार्ज गरेको बताइएको छ।
स्रोतका अनुसार बैठक करिब ७ बजेदेखि राति १ बजेसम्म चलेको थियो। लामो छलफल, मानसिक तनाव र दबाबका बीच थपलिया असहज महसुस गर्दै अचानक ढलेका थिए।
अस्पतालमा गरिएको प्रारम्भिक जाँचमा उनको रक्तचाप र मधुमेहको अवस्था बढेको देखिएको बताइएको छ। चिकित्सकीय निगरानीपछि अवस्था सामान्य भएपछि उनलाई घर पठाइएको हो।
बैठकमा बागमती प्रदेश सरकार गठनका लागि बहुमत जुटाउने विषयमा छलफल भइरहेको थियो। छलफलका क्रममा राजनीतिक दबाब र लामो बहसका कारण तनावपूर्ण अवस्था बनेको सहभागी नेताहरूले बताएका छन्।
स्वास्थ्य अवस्था सामान्य भएपछि थपलियाको राजनीतिक जिम्मेवारी र बागमती सरकार गठनको विषयमा भने एमालेभित्रको छलफल जारी रहने बताइएको छ।
प्रकाशित: १९ श्रावण २०८३ १५:०३ मंगलबार