स्वास्थ्य

‘अरूको घाउ पुर्ने प्लास्टिक सर्जन उपेक्षित’

जब कोही जल्छन्, लड्छन् र गहिरो घाउ बन्छ तब प्लास्टिक सर्जरी गरी घाउ पुरिन्छ। शरीरको नमिलेको अंग पनि प्लास्टिक सर्जरीबाट मिलाइन्छ। शरीरमा लागेका घाउ पुर्न र नमिलेका अंग मिलाउने सर्जरी गर्न प्लास्टिक सर्जन चाहिन्छ। तर प्लास्टिक सर्जरी विधाको राज्य पक्षबाटै उपेक्षा भएको गुनासो प्लास्टिक सर्जनहरूको छ। विश्व प्लास्टिक सर्जरी दिवसका अवसरमा मंगलबार उनीहरूले यस्तो गुनासो पोखेका हुन्।

चिकित्सकहरूका अनुसार सबैले यो सेवालाई राम्रोसँग बुझेका छैनन्। तर प्लास्टिक सर्जनले चोटपटक, क्यान्सर, जलन र जन्मजात क्षति भएको अंगको पुनस्र्थापना गर्छन्। यो उपचारमा नेपालका प्लास्टिक सर्जनले दक्षता हासिल गरिसकेको र सेवाग्राही पनि लाभान्वित हुँदै आएको उनीहरू बताउँछन्।

प्लास्टिक सर्जरी दिवसका अवसरमा प्रस्तुति दिँदै राष्ट्रिय ट्रमा सेन्टरका हाडरोग विशेषज्ञ डा. अनुरागसिंह थापाले जटिल हाडजोर्नीको चोटमा प्लास्टिक सर्जनको आवश्यकता पर्ने बताए।

‘प्लास्टिक सर्जरीबिना चोटपटकको उपचार अधुरो हुन्छ,’ उनले भने। थापाका अनुसार चोटपटकले टाउकाको छाला गएमा, अन्य भागको मासु र छाला गएमा, हात चुँडिएमा, औंला चुँडिएमा, मासु निस्किएको ढाड या खुट्टा नमिलेमा मिलाउने काम यिनै प्लास्टिक सर्जनले गर्छन्।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जका वर्न तथा प्लास्टिक सर्जन डा. निरज महर्जनले जलनका कारण गम्भीर क्षति पुगेका अंगको पुनर्निर्माण पनि प्लास्टिक सर्जनबाटै सम्भव हुने बताए। यो तहको उपचार कीर्तिपुर अस्पताल, त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, सुष्मा कोइराला मेमोरियल ट्रस्ट, पाटन अस्पतालबाट भइरहेको छ। कुनै पनि मानिसले जलेपछि जलेको ठाउँमा गोलभेंडा, घिउकुमारी लगाउनुको साटो सफा पानी प्रयोग गर्दा र जलेको भागबाट कपडा निकाल्दा लाभ हुने महर्जनले बताए। पानीले भित्री भाग जल्न नदिने उनले बताए।

त्रिवि शिक्षण अस्पतालका अर्का प्लास्टिक सर्जन डा. समित शर्माले क्यान्सरको उपचारमा प्लास्टिक सर्जरीको प्रयोग भइरहेको प्रस्तुति दिए। क्यान्सर ट्युमरका कारण क्षति पुगेको जुनसुकै अंगलाई प्लास्टिक सर्जरी गरेर सामान्य रूपमा ल्याउने गरिएको उनले बताए।

टाउकाको ट्युमर, ढाड, अनुहार, नाक, मुख, स्तन क्यान्सरमा प्लास्टिक सर्जरी भइरहेको जानकारी उनले दिए। ‘क्यान्सरको सर्जरीपछि संक्रमण हुन सक्ने भएकाले अन्य भागको मासु या छाला निकालेर प्रत्यारोेपण गरी घाउ पुरिन्छ,’ उनले भने।

नेपाल क्लेफ्ट एन्ड वर्न सेक्टर विभाग कीर्तिपुरका प्रमुख प्लास्टिक सर्जन डा. विशाल कार्कीले जन्मजात शरीरको अंग संरचना बिग्रेका मानिसको अंग मिलाउन पनि प्लास्टिक सजरी गर्नुपर्ने बताए। जन्मजात ओंठ च्यातिएका, नाक नमिलेका, हातको औंला जोडिएका, कानको आकृति नमिलेका, तालु फाटेका, चिउँडो फाटेका मानिसको अंग पनि प्लास्टिक सर्जरीबाट मिलाउने काम भइरहेको जानकारी उनले दिए।

त्रिवि शिक्षण अस्पतालर्क प्लास्टिक सर्जन डा. संगम रायमाझीले शरीरका कुनै अंगको संरचना नमलिेर सौन्दर्य गुमाएका मानिसमा सौन्दर्य भर्ने काम पनि प्लास्टिक सर्जनले गरिरहेको बताए। उनका अनुसार मोटोपनका कारण झोलिएको पेटको बोसो हटाउने, अनुहारको अमिल्दो भाग मिलाउने, शल्यक्रियाका कारण बसेको टाँका मिलाउने, आँखाको आकृति मिलाउने, गालामा डिम्पल निर्माण गर्ने, कोठी हटाउने, बाँगिएको नाक मिलाउने, कान मिलाउने, स्तनको आकार मिलाउनेलगायत काम पनि प्लास्टिक सर्जनबाटै भइरहेको छ।

सरकारबाटै बेवास्ता

प्लास्टिक सर्जरी र सर्जनलाई उपेक्षा गर्ने काम सरकार पक्षबाट भइरहेको गुनासो सम्बद्ध चिकित्सकहरूको छ। राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठानका वर्न प्लास्टिक सर्जन डा. पियुष दाहालले नेपालमा प्लास्टिक सर्जनका लागि आवश्यक दरबन्दी सिर्जना नगर्दा समस्या भएको बताए।

उनका अनुसार प्रतिष्ठानमा १० वर्षको अवधिमा प्लास्टिक सर्जनको दुईवटा मात्र दरबन्दी सिर्जना गरिएको छ। पर्याप्त दरबन्दी सिर्जना नहुँदा पछिल्लो समय यो विधा पढ्न विद्यार्थीले आकर्षण पनि देखाउन छाडेको दाहालको भनाइ छ।

‘हामीकहाँ प्लास्टिक सर्जरीमा एमसिएच गर्न जनरल सर्जरीको अध्ययन सकेपछि मात्र पाइने व्यवस्था छ, यस्तो व्यवस्था गर्न आवश्यक छैन,’ उनले भने, ‘यसको विकल्पमा छोटो र सिधा बाटोबाट यो शिक्षा दिलाउनेगरी नीति तय गर्न सकिन्छ।’

प्लास्टिक शल्यक्रियामा धेरै खट्नुपर्छ तर त्यस अनुसार दरबन्दी र सुविधा नपाउँदा पनि यो विषयमा आकर्षण घट्दो रहेको देखिएको उनले बताए। जनशक्ति उत्पादन घटेपछि बहुुक्षेत्रमा आवश्यक पर्ने प्लास्टिक सर्जरीलाई अगाडि बढाउन समस्या आउने संकेत उनले गरे।

त्रिवि शिक्षण अस्पतालका वर्न प्लास्टिक सर्जन ईश्वर लोहनीले प्लास्टिक सर्जरीतर्फ सरकारको उचित ध्यान पुग्न नसकेको गुनासो गरे। यो विषय पढेका चिकित्सकको उचित व्यवस्थापनमा सरकारले ध्यान नदिएकै कारण नयाँमा यसतर्फ रुचि नदेखिएको उनले बताए।

‘एमसिएच उत्तीर्ण गरेकाले वर्न वार्ड सुरु गरेका छन्, यसले निरन्तरता पाउन यसमा मन्त्रालय कति प्रतिबद्ध छ भन्ने कुरामा भर पर्छ,’ उनले भने। लोहनीले राज्य पक्षले अहिले पनि प्लास्टिक सर्जरीलाई नबुझेकै कारण यो जनशक्तिको उपयोग, व्यवस्थापन र बिस्तारमा समस्या भएको बताए। ‘प्लास्टिक सर्जरी भनेको सौन्दर्य चिकित्सा मात्र हैन, यो सबै रोगको उपचारमा आवश्यक छ,’ उनले भने।

नेपालमा प्लास्टिक सर्जरी सन् १९७३ देखि सुरु भए पनि छुट्टै विधाका रूपमा 

सन् २००० देखि अघि बढेको हो।

प्रकाशित: ३२ असार २०८२ ०७:१५ बुधबार

# Nagarik # Plastic surgery