स्वास्थ्य

दक्षिण एसियालीका आन्द्राका सूक्ष्मजीव अन्यत्रका भन्दा फरक

दक्षिण एसियाली जनसंख्याको आन्द्रामा पाइने सूक्ष्मजीव समुदाय (गट माइक्रोबायोम) विश्वका अन्य भागमा पाइनेभन्दा फरक रहेको नयाँ अध्ययनले देखाएको छ। स्थानीय संस्कृति, आहार, भूगोल र जीवनशैलीले आन्द्राको माइक्रोबायोमलाई प्रभावित गर्ने गरेको अध्ययनले देखाएको हो। भारतको लखनउमा रहेको वीरबल साहनी इन्स्टिच्युट अफ प्यालियोसाइन्सेस (बिएसआइपी) का वैज्ञानिकहरूको नेतृत्वमा गरिएको अध्ययनले यस्तो निष्कर्ष निकालेको हो।

विज्ञान तथा प्रविधि विभाग (डिएसटी) अन्तर्गतको स्वायत्त संस्था वीरबल साहनी इन्स्टिच्युट अफ प्यालियोसाइन्सेस (बिएसआइपी), सिकागो विश्वविद्यालय तथा भारत, श्रीलंका र अमेरिकाका सहयोगी संस्थाका वैज्ञानिकहरूले गरेको अध्ययनको निष्कर्षले दक्षिण एसियाली जनसंख्याका लागि, विशेषगरी जीवनशैलीसँग सम्बन्धित रोगका क्षेत्रमा, माइक्रोबायोममा आधारित रोग पहिचान, व्यक्तिअनुसारको पोषण र सटिक स्वास्थ्य सेवा विकासका लागि महत्वपूर्ण वैज्ञानिक आधार प्रदान गरेको छ।

वैज्ञानिकहरूले विभिन्न सांस्कृतिक, आहारसम्बन्धी र पारिस्थितिक परिवेशमा जीवनशैलीमा आउने परिवर्तनले आन्द्राको माइक्रोबायोमलाई कसरी प्रभावित गर्छ भन्ने बुझ्न तथा दक्षिण एसियाको विविधतालाई समेट्ने व्यापक माइक्रोबायोम स्रोत तयार गर्न अध्ययन गरेका थिए।

पछिल्ला दशकमा दक्षिण एसिया तीव्र गतिमा सहरीकरण भइरहेको छ। यही क्रममा मोटोपना, मधुमेह तथा अन्य हृदय–चयापचयसम्बन्धी रोगहरू पनि तीव्र रूपमा बढिरहेका छन्। सहरीकरणले आन्द्राको माइक्रोबायोमलाई प्रभावित गर्ने मानिए पनि दक्षिण एसियाका विभिन्न जनसमुदायमा यस्ता परिवर्तन समान रूपमा हुन्छन् कि हुँदैनन् भन्ने स्पष्ट थिएन।

सबैभन्दा ठूला र भौगोलिक रूपमा विविध अध्ययनमध्ये एक मानिएको उक्त अध्ययनले प्रत्येक समुदायको आन्द्राको माइक्रोबायोममा हुने परिवर्तनले स्थानीय संस्कृति, आहार, भूगोल र जीवनशैलीअनुसार आफ्नै विशिष्ट बाटो पछ्याउने देखाएको छ। भारतको नयाँदिल्लीस्थित केन्द्रीय विज्ञान तथा प्रविधि मन्त्रालयले एक वक्तव्यमार्फत यस्तो जानकारी दिएको हो।

अनुसन्धान विधि

अनुसन्धानकर्ताले दक्षिण एसियाका १० वटा समुदायका ५७५ जना स्वस्थ वयस्कबाट दिसाको नमुना तथा उनीहरूका आहार, जीवनशैली र स्वास्थ्यसम्बन्धी जानकारी संकलन गरेका थिए। बिएसआइपीका वैज्ञानिकहरूले भारतमा पहिलोपटक प्रयोगमा ल्याएको ‘साउथ एसियन माइक्रोबायोम एरे (सम्बर)’ प्रयोग गरी भारत र श्रीलंकाका सांस्कृतिक र भौगोलिक रूपमा फरक १० समुदायका ५७५ बयस्कको आन्द्राको माइक्रोबायोम विश्लेषण गरिएको थियो।

ब्याक्टेरियाको ‘१६एस आरआरएनए जिन’ को डिएनए परीक्षण गरी आन्द्रामा रहेका सूक्ष्मजीवको पहिचान गरिएको थियो। त्यसपछि उन्नत जैवसूचना प्रविधि (बायोइन्फर्मेटिक्स) विश्लेषण गरिएको थियो। अनुसन्धानकर्ताहरूले प्रत्येक समुदायभित्रका ग्रामीण र सहरी बासिन्दाको तुलना गर्नुका साथै दक्षिण एसियाली माइक्रोबायोमलाई विश्वका विभिन्न स्थानबाट प्राप्त तथ्यांकसँग पनि तुलना गरेका थिए।

अनुसन्धानका क्रममा भारत र श्रीलंकाका विभिन्न स्थानीय समुदायसँग क्षेत्रीय टोलीहरूले नजिकबाट सहकार्य गरेका थिए। उनीहरूले अध्ययनमा सहभागी छनोट गर्न तथा जैविक नमुना र जीवनशैलीसम्बन्धी जानकारी संकलन गर्न स्थानीय समुदायको सहयोग लिएका थिए।

समुदायसँगको सहकार्यमा आधारित अध्ययन

अध्ययनभरि समुदायसँगको सहकार्यमा आधारित विधि अपनाइएको थियो। अनुसन्धानकर्ताले अध्ययनबाट प्राप्त निष्कर्ष सहभागी समुदायसँग पनि साझा गरेका थिए। त्यसपछि आन्द्राका सूक्ष्मजीवको विविधता पहिचान गर्न तथा भूगोल, आहार, सहरीकरण र चयापचय स्वास्थ्यबिचको सम्बन्ध पत्ता लगाउन प्रयोगशाला विश्लेषण, डिएनए अनुक्रमण र कम्प्युटेसनल विधि प्रयोग गरिएको थियो।

‘गट माइक्रोब्स’ नामक वैज्ञानिक जर्नलमा प्रकाशित अध्ययनले विश्वव्यापी माइक्रोबायोम अनुसन्धानमा कम प्रतिनिधित्व भएका जनसंख्यालाई समावेश गर्नुको महत्व औंल्याएको छ। स्वस्थ भारतीय व्यक्तिहरूबाट प्राप्त भारतको यो पहिलो आधारभूत आन्द्रा माइक्रोबायोम तथ्यांक भएको र यसले चिकित्सा तथा मानव विकासक्रमसम्बन्धी अध्ययनमा महत्वपूर्ण प्रभाव पार्न सक्ने अध्ययनले जनाएको छ। यस अध्ययनमा श्रेया एल. रामचन्द्रन, नागार्जुन पासुपुलेटी, रिचर्ड जे. अब्दिल, निरज राई र मानसा राघवनको नेतृत्वमा रहेको टोलीले विभिन्न समुदायका आन्द्रामा पाइने सूक्ष्मजीवका विशेषता र सहरीकरण तथा स्वास्थ्यसँग सम्बन्धित परिवर्तन पहिचान गरेको थियो।

विभिन्न समुदायले सहरीकरणप्रति फरक–फरक प्रतिक्रिया जनाउने देखिएपछि भविष्यमा माइक्रोबायोममा आधारित उपचार क्षेत्रीय जनसंख्याको विशेषताअनुसार विकास गर्नुपर्ने अध्ययनले सुझाव दिएको छ। पश्चिमी जनसंख्याका लागि मात्र विकसित उपचार विधि अन्य जनसंख्यामा जस्ताको तस्तै लागु गर्नु उपयुक्त नहुन सक्ने अध्ययनको निष्कर्ष छ।

साउथ एसियन माइक्रोबायोम एरे (सम्बर) स्रोतले दक्षिण एसियामा तीव्ररूपमा बढिरहेका मधुमेह, मोटोपना, हृदयसम्बन्धी रोग तथा अन्य जीवनशैलीसँग सम्बन्धित रोगबारे भविष्यमा गरिने अनुसन्धानलाई पनि सहयोग गर्नेछ।

प्रकाशित: १६ भाद्र २०८३ १३:१७ मंगलबार