स्वास्थ्य

स्वास्थ्य पूर्वाधारमा सुनसरीको फड्को

सुनसरीका प्रायः सबै स्थानीय तहले पछिल्ला वर्षमा स्वास्थ्य पूर्वाधार विस्तारलाई प्राथमिकता दिएका छन्। धरानमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र सदरमुकाम इनरुवामा जिल्ला अस्पताल छ।

यसबाहेक सुनसरीका धेरैजसो स्थानीय तहले अस्पताल सञ्चालनमा ल्याएका छन् भने केही निर्माण तथा सञ्चालन तयारीमा छन्। जिल्लामा दुई उपमहानगरपालिका, चार नगरपालिका र ६ गाउँपालिका छन्।

स्वास्थ्य सेवाको विस्तार गर्ने क्रममा यातायात, शिक्षा, व्यापार र खेलकुदको हब मानिएको इटहरी उपमहानगरपालिकामा १५ शड्ढयाको अस्पताल सञ्चालनमा छ। नगर अस्पताल सञ्चालनमा आएपछि स्थानीयवासीलाई राहत भएको छ। इटहरीवासीलाई विशेष उपचारका लागि धरान, विराटनगर वा सिलिगुडीका अस्पताल धाउनुपर्ने बाध्यता भने कायमै छ।

इटहरी अस्पतालमा चौबिसै घण्टा एम्बुलेन्स, अल्ट्रासाउन्ड, भिडियो एक्सरे, इमरजेन्सी सेवा र फार्मेसी सेवा उपलब्ध छ। यहाँ भेन्टिलेटर, आइसियु, एनआइसियुजस्ता सेवा भने छैनन्। जसले गर्दा जटिल खालका बिरामीलाई बाहिर जानुपर्ने बाध्यता रहेको इटहरी–१ का प्रकाश बस्नेतले बताए। इटहरीमा जनघनत्व पनि दिनदिनै बढ्दै छ।

चालु आर्थिक वर्षका लागि इटहरी उपमहानगरपालिकाले अस्पताललाई पूर्वाधार विकास, जनशक्ति व्यवस्थापन, फार्मेसीसहितका सेवा विस्तारका लागि बजेट दिने भएको छ। बजेटमा नगरवासीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भनिएको छ। इटहरीले स्वास्थ्य क्षेत्रमा सात करोड रुपैयाँ विनियोजन गरेको छ।

सुनसरीकै धरान उपमहानगरपालिकामा पूर्वकै प्रतिष्ठित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान छ। धरान उपहानगरपालिका पनि नगर अस्पताल सञ्चालन गर्ने तयारीमा रहेको जनस्वास्थ्य अधिकृत उमेश मेहताले बताए। नगर अस्पताल सञ्चालनका लागि उपमहानगरपालिकालई वडा नं. १ स्थित एक बिघा चार कट्ठा १३ धुर जग्गा भोगाधिकार गर्न दिने निर्णय संघीय सरकारले गरिसकेको छ।

नागरिकको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने प्रतिबद्धताअनुसार उपमहानगरपालिकाले आधारभूत अस्पताल निर्माण गर्न लागेको हो।  बराहक्षेत्र नगरपालिकाले पनि नगर अस्पताल सञ्चालनमा ल्याएको छ। बराहक्षेत्र नगर अस्पतालमा दैनिक तीन सय हाराहारी सेवाग्राही उपचारमा आउँछन्।

अस्पतालले ३६५ दिन नै बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म ओपिडी र आकस्मिक सेवा दिँदै आएको छ। अस्पतालले इमरजेन्सी, प्रयोगशाला, फार्मेसी, फिजियोथेरापी, भिडियो एक्सरे, दन्त, आँखा उपाचरलगायतका सेवा दिँदै आएको छ। सेवा विस्तार गर्न भौतिक संरचना निर्माण र जनशक्ति थप्ने योजना बनाएको अस्पतालका निमित व्यवस्थापक दिवस विष्टले बताए। अस्पतालकै आम्दानीबाट फार्मेसी भवन र आधुनिक आकस्मिक कक्ष बनाइएको छ। सामान्य शल्यक्रियाका लागि भवन निर्माणाधिन रहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका नगरप्रमुख रमेश कार्कीले बताए।  

बराहक्षेत्र नगरपालिका–२ मा पनि चतरा अस्पताल सञ्चालनमा छ। २०७५ भदौ १ देखि चतरा अस्पतालले सेवा दिन थालेको हो। यहाँ स्वास्थ्य जाँच गराउन बराक्षेत्रबाहेक उदयपुर, धनकुटा र भोजपुरबाट पनि बिरामी आउँछन्।

२०७८ सालमा १५ शड्ढयामा रुपान्तरण गरिएको चतरा अस्पतालमा दैनिक तीन सय हाराहारी सेवाग्राही आउने गरेका छन्। अस्पतालले ३६५ दिन नै बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म ओपिडी र आकस्मिक सेवा दिँदै आएको छ। यो अस्पतालबाट ल्याब, फार्मेसी, भिडियो एक्सरे, फिजियोथेरापी, आँखा, दन्त, प्रसूति (सोमबार–बिहीबार)लगायत सेवा पाइन्छ।  

दुहबी नगरपालिकाले पनि १५ करोड रुपैयाँ लागतमा नगर आधारभूत अस्पताल निर्माण गरेको छ। उक्त अस्पताल दुहवी–११ मा करिब ३ बिघा ६ कट्ठा क्षेत्रफलमा छ। दुहवी नगरपालिकाका जनस्वास्थ्य अधिकृत विन्देश्वरप्रसाद महतोका अनुसार बिरामीलाई बढीभन्दा बढी सेवा पु¥याउने ढंगले काम भइरहेको छ। यतिबेला अस्पतालमा तीनजना मेडिकल अफिसर पूर्णकालीन छन्।

त्यस्तै एमडी गरेका चिकित्सक एक र डेन्टल चिकित्सक एकजना छन्। अस्पतालमा रेडियोलोजिस्ट र गाइनोकोलोजिस्ट पनि छन्। दुहबी नगर अस्पतालमा दैनिक दुई सय हाराहारी बिरामी उपचारका लागि आउँछन्। चौबिसै घण्टा आकस्मिक सेवा रहेको यो अस्पतालमा बर्थिङ सेन्टर, डेन्टल, आयुर्वेद सेवा र आँखा सेवा पनि छ। अस्पतालमा एक्सरे, भिडियो एक्सरे, ल्याबसहितका सुविधा रहेको जनस्वास्थ्य अधिकृत महतोले बताए। दुहबीमा अस्पताल खुलेसँगै दुहवीवासीलाई विराटनगर र धरान धाउनुपर्ने बाध्यता केही हदसम्म अन्त्य भएको छ। दुहबी नगरपालिकामा एउटा नगर अस्पताल र छवटा स्वास्थ्य चौकी र आधारभूत स्वास्थ्य केन्द्र छन्।

रामधुनी नगरपालिकामा पनि अस्पताल छ। वडा नं. १ मारहेको उक्त अस्पतालबाट एकजना एमबिबिएस डाक्टरले साधारण उपचार सेवा दिँदै आएको नगरपालिकाका स्वास्थ्य शाखा अधिकृत सुलोचना चौधरीले बताइन्। त्यस्तै वडा नं. ६ बक्लौरीमा १५ शड्ढयाको अस्पताल भवन निर्माण अन्तिम चरणमा पुगेको छ। दुई महिनाभित्र आवश्यक जनशक्तिका लागि विज्ञापन आह्वान गरी अघि बढ्ने योजना रहेको चौधरीले सुनाइन्।  

जिल्ला सदरमुकामसमेत रहेको इनरुवा नगरपालिकामा जिल्ला अस्पताल छ। धेरैजसो बिरामी जिल्ला अस्पतालमै उपचारका लागि जाने गर्छन्। जसले गर्दा नगरपालिकाले अस्पताललाई कम प्राथमिकतामा राखेको छ।

इनरुवामा पाँचवटा स्वास्थ्य केन्द्र, चारवटा आधारभूत स्वास्थ्य केन्द र दुईवटा सहरी स्वास्थ्य एकाइ केन्द्र पनि छन्। इनरुवा– ५ मा थेरापी सेन्टर सञ्चालनमा छ। नगरपालिकामा बर्थिङ सेन्टर पनि छ। स्वास्थ्य संस्थामा आवश्यक स्रोतसाधन र जनशक्तिको भने कमी छ।  

जिल्लामा ६ वटा गाउँपालिका छन्। देवानगन्ज गाउँपालिकामा १० शड्ढयाको अस्पताल सञ्चालन गर्न भवन निर्माण पूरा भएको छ। गाउँपालिकाका सूचना अधिकारी जनार्दनप्रसाद मेहताका अनुसार अस्पतालका लागि आवश्यक सामान खरिद गर्न थालिएको छ। अस्पतालबाट आकस्मिक र ओपिडी सेवा दिने योजना रहेको अधिकारीले सुनाए। देवानगन्ज पाँचवटा स्वास्थ्य चौकी र दुईवटा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनमा छन्।

हरिनगर गाउँपालिकामा पाँच शड्ढयाको अस्पताल छ। अस्पतालका तीनजना चिकित्सक ले बिरामीलाई सेवा दिँदै आएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख प्रकाश थापामगरले जानकारी दिए। अस्पतालमा ल्याब र एक्सरे सेवा पनि छ। दैनिक दुई सय हाराहारी बिरामी उपचारका लागि आउने गरेको थापामगरले बताए।

 सरकारी नियमअनुसार स्वास्थ्य बिमाअन्तर्गत बिरामीलाई औषधिी र सेवा पनि हरिनगर अस्पतालबाट प्रदान गरिएको थापामगरले बताए। हरिनगर गाउँपालिकामा एउटा अस्पताल, चारवटा स्वास्थ्य चौकी, एउटा आधारभूत स्वास्थ्य केन्द्र र एउटा आधारभूत सहरी एकाइ केन्द्र सञ्चालनमा छन्।  

मुस्लिम समुदाय बाहुल्य कोसी गाउँपालिकामा आधारभूत स्वास्थ्य केन्द्र र बर्थिङ सेन्टर छ। भोक्राहा नरसिंह गाउँपालिकामा बर्थिङ सेन्टरबाट सेवा दिन थालिएको छ। भोक्राहा नरसिंह गाउँपालिकामा दुईवटा स्वास्थ्य चौकी र ६ वटा आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा छन्।

बर्जु गाउँपालिकाको चिमडी स्वास्थ्य चौकीमा पनि बर्थिङ सेन्टर छ। बर्ज गाउँपालिकामा चारवटा स्वास्थ्य चौकी र दुईवटा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनमा छन्। त्यस्तै गढी गाउँपालिकामा तीन वटा स्वास्थ्य चौकी, दुईवटा आधारभूत स्वास्थ्य केन्द्र र एउटा प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालनमा छन्।

प्रकाशित: ७ श्रावण २०८३ ०९:५९ बिहीबार