मधेस प्रदेशमा सर्पदंशका बिरामीको उपचारमा प्रयोग हुने अत्यावश्यक औषधि एन्टिस्नेक भेनम (एएसभी) को अभाव पाइएको छ।
प्रदेशका दुई ठूला अस्पताल वीरगन्जस्थित नारायणी अस्पताल र प्रादेशिक अस्पताल जनकपुरमा एएसभीको मौज्दात सकिँदै गएपछि सर्पले टोकेका बिरामीको उपचार प्रभावित हुन थालेको हो।
मधेस प्रदेशकै प्रमुख आर्थिक नगरी वीरगन्जस्थित नारायणी अस्पतालमा सोमबारदेखि एन्टिस्नेक भेनमको मौज्दात सकिएको अस्पताल प्रशासनले जनाएको छ।
अस्पतालले सोमबार सूचना जारी गर्दै तालुक कार्यालयबाट औषधि प्राप्त नभएकाले सर्पदंशका बिरामीको उपचारमा समस्या भएको र यसबाट पर्न गएको असुविधाप्रति क्षमासमेत मागेको थियो।
नारायणी अस्पतालको आकस्मिक कक्षमा दैनिक औसत ७ देखि ८ जना सर्पदंशका बिरामी उपचारका लागि आउने गरेका छन्।
अस्पतालमा एएसभीको मौज्दात सकिएपछि आउने बिरामीलाई तत्काल अन्यत्र पठाउनुपर्ने बाध्यता सिर्जना भएको स्वास्थ्यकर्मीले बताएका छन्।
नारायणी अस्पतालमा पर्सा, बारा, रौतहट, सर्लाहीलगायत जिल्लाबाट सर्पदंशका बिरामी उपचारका लागि आउने गर्छन्।
यसअघि अस्पतालमा औषधि कम हुन थालेपछि प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, जनकपुरको निर्देशनमा पर्साको ठोरी, बाराको निजगढ र कौल्हबी तथा सर्लाहीको नवलपुरलगायतका सर्पदंश उपचार केन्द्रबाट एएसभी ल्याएर उपचार धानिँदै आएको थियो।
अस्पताल प्रशासनले मंगलबार साँझसम्म प्रदेश स्वास्थ्य कार्यालयबाट एन्टिस्नेक भेनम प्राप्त हुने जानकारी दिएको छ। तर नियमित आपूर्ति नहुँदा सर्पदंशको उपचारमा निर्भर बिरामी र स्वास्थ्य संस्थामाथि थप जोखिम बढेको छ।
यस्तै, प्रादेशिक अस्पताल जनकपुरमा पनि एन्टिस्नेक भेनमको अभाव देखिएको छ। अस्पतालका आकस्मिक कक्ष इन्चार्ज उज्ज्वल झाका अनुसार जनकपुर अस्पतालमा दैनिक ५ देखि ७ जना सर्पदंशका बिरामी उपचारका लागि आउने गरेका छन्।
अस्पतालमा हाल पुरानो स्टकका रूपमा करिब १०० भायल एएसभी मात्र रहेको झा बताउँछन्। उनका अनुसार यो मौज्दात पाँच जना जति गम्भीर अर्थात् ‘पोजेटिभ’ सर्पदंशका बिरामीलाई मात्र पर्याप्त हुने अवस्था छ। नयाँ आपूर्ति भने हालसम्म अस्पतालमा आइपुगेको छैन।
जनकपुर अस्पतालमा सिरहा, सप्तरी, महोत्तरीलगायत मधेसका जिल्लाबाट मात्र नभई सीमावर्ती भारतीय क्षेत्रबाट समेत सर्पदंशका बिरामी उपचारका लागि आउने गरेका छन्।
त्यसैले अस्पतालमा एएसभीको नियमित मौज्दात आवश्यक भए पनि आपूर्ति प्रणाली कमजोर देखिएको स्वास्थ्यकर्मीको भनाइ छ।
उता, रौतहटको सदरमुकाम गौरस्थित प्रादेशिक अस्पतालमा पनि एन्टिस्नेक भेनमको मौज्दात न्यून रहेको छ।
अस्पतालका प्रमुख डा. अभिषेक ठाकुरका अनुसार हाल अस्पतालमा जम्मा ३० भायल एएसभी मात्र मौज्दात छ।
गौर अस्पतालमा दैनिक औसत ४ देखि ५ जना सर्पदंशका बिरामी उपचारका लागि आउने गरेको डा. ठाकुरले बताए।
उनका अनुसार तराई–मधेसमा अत्यधिक गर्मीसँगै वर्षा भएपछि जमिनमुनि लुकेर बसेका सर्प बाहिर निस्कने क्रम बढ्दा सर्पदंशका घटना पनि बढ्ने गरेका छन्।
वर्षायाममा सर्पदंशका घटना बढ्ने भए पनि सोही समयमा उपचारका लागि अत्यावश्यक एएसभीको अभाव देखिनुले प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापनप्रति प्रश्न उठेको छ।
सर्पदंशको उपचारमा समयमै एएसभी उपलब्ध नहुँदा बिरामीको अवस्था गम्भीर बन्न सक्ने भएकाले प्रदेश सरकारले तत्काल पर्याप्त मात्रामा औषधि आपूर्ति गरी अस्पतालहरूमा न्यूनतम मौज्दात सुनिश्चित गर्नुपर्ने स्वास्थ्यकर्मीको जोड छ।
मधेसका अस्पतालमा दैनिक ठूलो संख्यामा सर्पदंशका बिरामी पुग्ने गरेको अवस्थामा एएसभीको नियमित आपूर्ति नहुँदा बिरामीलाई एक अस्पतालबाट अर्को अस्पतालमा पठाउनुपर्ने अवस्था दोहोरिएमा उपचारमा ढिलाइ भई जोखिम अझ बढ्न सक्ने चिकित्सकहरू बताउँछन्।
प्रकाशित: २६ श्रावण २०८३ १६:५७ मंगलबार