स्वास्थ्य

अस्पतालका ओपीडी बन्द हुँदा सेवाग्राही मर्कामा

नेपाल चिकित्सक संघले मंगलबार देशैभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द गरेको छ।

चिकित्सक र स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको विरोधमा सरकारी, गैरसरकारी तथा निजी अस्पतालहरूमा आकस्मिक सेवाबाहेकका सबै स्वास्थ्य सेवा स्थगित गरिएको हो।

काठमाडौं उपत्यकाका नयाँ बानेश्वरस्थित सिभिल अस्पताल, वीर अस्पताल र शिक्षण अस्पताल, ललितपुरस्थित पाटन अस्पतालमा  आकस्मिकबाहेक अन्य सेवा बन्द हुँदा बिरामी तथा सेवाग्राही प्रभावित मर्कामा परेका छन्। उपचारका लागि अस्पताल पुगेका बिरामी यत्तिकै फर्कन बाध्य भएका छन्।

चिकित्सक संघले आफ्ना माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएको छ।

वीरगन्जको नारायणी अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मीमाथि आक्रमण र तोडफोड भएको थियो। चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षाको प्रत्याभूति, दोषीमाथि कारबाही र सुरक्षित कार्य वातावरण सुनिश्चित गर्नुपर्ने माग राख्दै संघले आन्दोलन गरेको जनाएको छ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले पनि नारायणी अस्पतालको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। मन्त्रालयले घटनाको छानबिन र दोषीमाथि आवश्यक कानुनी कारबाही गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ।

प्रकाशित: १२ श्रावण २०८३ १२:३० मंगलबार