चितवनमा गत आर्थिक वर्षमा स्क्रब टाइफस परीक्षण गरिएका बिरामीमध्ये एक हजार ५५ जनामा सङ्क्रमण पुष्टि भएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय, चितवनको तथ्याङ्कअनुसार सो अवधिमा एक जनाको स्क्रब टाइफसका कारण मृत्यु भएको छ।
सङ्क्रमितमध्ये ३९५ पुरुष र ६६० महिला छन्। भरतपुर महानगरपालिकामा ८० पुरुष र १३४ महिला, खैरहनी नगरपालिकामा २२ पुरुष र ४८ महिला, माडी नगरपालिकामा छ पुरुष र पाँच महिला, रत्ननगरमा ५३ पुरुष र ७७ महिला, राप्तीमा २४ पुरुष र ३३ महिला, कालिका नगरपालिकामा २२ पुरुष र ३१ महिला र इच्छाकामना गाउँपालिकामा १० पुरुष र १४ महिला सङ्क्रमित छन्।
अन्य जिल्लाबाट आएका बिरामीमध्ये १७८ पुरुष र ३१८ महिला छन्। गत आर्थिक वर्षमा कूल सात हजार ९५ जनाको स्क्रब टाइफस परीक्षण गरिएको थियो। जनस्वास्थ्य कार्यालय चितवनका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले स्क्रब टाइफस नियन्त्रणका लागि जनचेतना फैलाउन र समयमै उपचार गर्न आवश्यक रहेको बताए। उनले सरसफाइमा विशेष ध्यान दिन, झाडी क्षेत्रबाट बच्न र लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गरे।
उनले यही साउनमा मात्रै ४७८ जनाको परीक्षणमा ३० जनामा सङ्क्रमण पुष्टि भएको बताए। तीमध्ये केही जिल्लाभित्रका र केही अन्य जिल्लाबाट उपचारका लागि आएका बिरामी छन्। खासगरी बर्खामा यो रोगको सङ्क्रमण बढी हुने उनले बताए। उनले भने, ‘पानी परेपछि मुसाहरू घर, गोठ वा ओसिलो ठाउँमा पस्छन्। त्यस क्रममा तिनको शरीरमा रहेका किर्ना खसेर मानिसलाई टोकेमा सङ्क्रमण हुन्छ।’
उनले अघिल्लो आर्थिक वर्षमा जिल्लाका विभिन्न अस्पतालमा उपचार गरिएका तीन हजार आठ सय जनाको परीक्षणमा पाँच सय ५२ जनामा स्क्रब टाइफस सङ्क्रमण देखिएको बताए।
चितवनमा स्क्रब टाइफसको पहिलो रिपोर्टिङ विसं २०७२ मा भएको थियो। भेक्टर कन्ट्रोल निरीक्षक केसीका अनुसार परीक्षणको दायरा विस्तार हुँदै जाँदा सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ। आर्थिक वर्ष २०७६/७७ मा एक हजार पाँच सय १६ जनाको परीक्षणमा एक सय २७ जनामा, २०७७/७८ मा दुई हजार दुई सय ९० जनामध्ये तीन सय १८ जनामा, २०७८/७९ मा तीन हजार दुई सय ८६ परीक्षणमा दुई सय ६८ जनामा र आर्थिक वर्ष २०७९/८० मा तीह जार चार सय ६१ जनाको परीक्षणमा पाँच सय तीन जनामा सङ्क्रमण देखिएको थियो।
स्क्रब टाइफस एक सरुवा रोग हो, जुन मुसामा पाइने माइट (किर्नाजस्तो कीरा) को टोकाइबाट मानिसमा सर्छ। यो रोग मानिसबाट मानिसमा सर्दैन।
केसीका अनुसार स्क्रब टाइफस ओरिएन्टिया सुसुगामुशी नामक जीवाणुबाट लाग्छ। माइट प्रायः झाडी, खेतबारी, वनजंगल वा घर वरिपरि फोहोर क्षेत्रमा पाइन्छ। रोग नियन्त्रणका लागि उनले खेतबारी, वनजंगल वा घाँस काट्न जाँदा पूरै शरीर ढाक्ने कपडा लगाउन, सकेसम्म जुत्ता प्रयोग गर्न, घाँसबारी वा चौरमा गुन्द्री वा दरी ओछ्याएर मात्र बस्न र भुइँमा नसुत्न सुझाए। मुसा नियन्त्रणका लागि अन्न भण्डारण सही ढङ्गले गर्नुपर्ने उनले बताए।
रोगका लक्षणमा उच्च ज्वरो (१०४ डिग्री फरेनहाइटभन्दा बढी), अत्यधिक पसिना, आँखा रातो हुने, झाडापखाला, शरीरका मुख्य अङ्ग प्रभावित हुने र कीराले टोकेको स्थानमा रातो दाग देखिने, पछि कालो दाग बस्ने रहेको केसीले बताए। रासस
प्रकाशित: १५ श्रावण २०८२ २०:३२ बिहीबार