चालु आर्थिक वर्षमा गत वर्षको भन्दा धेरै व्यक्तिमा स्क्रबटाइफस फैलिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकमा उल्लेख छ।
असोजको पहिलो सातासम्ममा ११ हजार ६ सय ४३ जना संक्रमित भएका छन् भने सातजनाको स्क्रबटाइफसबाट मृत्यु भएको पुष्टि भएको छ।
तथ्यांकअनुसार पछिल्लो तीन वर्षमा क्रमशः संक्रमित संख्या बढ्दै गएको छ। सन् २०२४ मा संक्रमितको संख्या ९ हजार ७ सय ११ थियो भने सन् २०२५ मा १० हजार ६ सय ४९ र सन् २०२६ को अक्टोबरसम्म ११ हजार ६ सय ४३ जना संक्रमित भएका छन्।
ग्रामीण भेगमा खेतबारी, झाडी तथा जङ्गलमा काम गर्ने मानिसमा स्क्रबटाइफस संक्रमण हुने मान्यता भए पनि नेपालमा गाउँदेखि सहरसम्म स्क्रबटाइफस संक्रमण भएको महाशाखाका किटजन्य शाखाका प्रमुख डा. गोकर्ण दाहालले जानकारी दिए।
गत वर्ष काठमाडौं उपत्यकामा पनि उल्लेखनीय संख्यामा स्क्रबटाइफस फैलिएको थियो भने यो वर्ष चितवन, दाङलगायतका सहरी जिल्लामा पनि स्क्रबटाइफस उल्लेखनीय संख्यामा फैलिएको छ। महाशाखाका अनुसार हालसम्म ७४ वटा जिल्लामा स्क्रबटाइफसको संक्रमण देखिए पनि १० वटा जिल्लामा प्रकोपको रूप लिएको छ।
प्रकोपका रूपमा देखा परेका जिल्लामा दाङ, सल्यान, बझाङ, संखुवासभा, पाल्पा, धादिङ, स्याङ्जा, बर्दिया, दार्चुला, गोर्खा जिल्ला रहेका छन्। तथ्यांकमा उल्लिखित जिल्लाका सहरी भेगमा समेत संक्रमण बढी देखिएकाले गाउँमा काम गर्ने किसानमा मात्र स्क्रबटाइफस हुन्छ भन्ने मान्यता बदलिएको डा. दाहाल बताउँछन्। उनी भन्छन्, ‘यो वर्ष सहरमा पनि उल्लेखनीय संख्यामा देखिएको छ।’
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसन्धान शाखाका संयोजक डा. शेरबहादुर पुनको अनुभवमा गत वर्ष काठमाडौं उपत्यकामा यो वर्षभन्दा बढी संख्यामा स्क्रबटाइफस संक्रमण भएको थियो। उनका अनुसार गत वर्ष उपत्यकामा दैनिक २०÷२२ जना संक्रमित उपचारमा पुग्ने गर्थे। यो वर्ष टेकु अस्पतालमा स्क्रबटाइफसका बिरामी फाट्टफुट्ट भर्ना भइरहेका छन्।
के हो स्क्रबटाइफस?
चिकित्सकका अनुसार जंगली वा घरमा पाइने मुसामा हुने ‘टिगर माइटस’ नामक किर्ना परजीवीले मानिसलाई टोकेमा संक्रमण हुन्छ। झाडीमा मुसा हुने र यस्ता ठाउँमा बसेमा किर्ना शरीरमा प्रवेश गर्छ। मुसाका साथै अन्य जनावरमा पनि किर्ना हुन्छ।
उक्त किर्ना बढी तापक्रम बढेको र पानी परेर ओसिलो बनेको मौसममा बढी वृद्धि हुन्छ। वृद्धि भएका किर्ना मुसा या अन्य जनावरको शरीरमा रहेको बखत यही मौसममा भुईंमा खस्छ। भुईंमा खसेको किर्ना मानिसलाई टोकेमा शरीरभित्र ‘ओरन्सिया सुसोगामा’ नामक किटाणु प्रवेश गराउँछ।
उक्त किटाणु रगत हुँदै शरीरका विभिन्न भागमा पुगेर संक्रमण गर्छ। उक्त किर्नाले टोकेको एक सातादेखि बीस दिनभित्र संक्रमणको लक्षण देखिन्छ।
ज्वरो आउने, टाउको दुख्ने, पसिना आउने, आँखा रातो हुनु र किर्नाले टोकेको छालामा डाबर देखिनु र पछिपछि कालो दाग जस्ता लक्षण देखिन्छ। संक्रमितको समयमै उपचार नभएमा निमोनियाँ हुने र कलेजो, मिर्गौला, मुटु, स्नायु जस्ता बहुअंगमा असर पु¥याई बिरामीको मृत्युसमेत हुन्छ।
प्रकाशित: ११ कार्तिक २०८३ ०९:३८ बुधबार