चालु आर्थिक वर्षदेखि प्रदेश सरकारले छात्रवृत्ति करारका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई दिँदै आएको ‘कर्णाली प्रोत्साहन भत्ता’ रोकेपछि चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेका छन्।
२४ घण्टाभित्र आफूहरूका माग पूरा नभएको भन्दै कालीकाेटका प्रमुख जिल्ला अधिकारी झबिलाल भट्टराईलाई ज्ञापन पत्र बुझाएर चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले शुक्रबारदेखि आन्दोलनका कार्यक्रम तय गरेका हुन्।
चिकित्सक र स्वास्थ्यकर्मीहरूले प्रदेशका अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा बिहान ९ देखि ११ बजेसम्म धर्ना तथा विरोधका कार्यक्रम गरेका छन्।
२४ घण्टे ध्यानाकर्षणको समयसीमा समाप्त हुँदासमेत माग सम्बोधनका सम्बन्धमा ठोस निर्णय नभएकाले, छात्रवृत्ति करार चिकित्सक तथा स्वास्थ्यकर्मी संघर्ष समितिले चरणबद्ध तथा शान्तिपूर्ण आन्दोलनका कार्यक्रमहरू घोषणा गरिएको जनाएकाे हाे।
पहिलो चरण - कालोपट्टी, धर्ना तथा प्रदेशव्यापी विरोध (असोज १६-१९ गते)
प्रत्येक अस्पताल तथा स्वास्थ्य संस्थामा २ घण्टा (विहान ९ वजेदेखि ११ वजेसम्म) शान्तिपूर्ण धर्ना तथा
विरोध कार्यक्रम सञ्चालन गर्ने र तत्पश्चात् कालोपट्टी बाँधी सेवा प्रदान गर्ने। आकस्मिक, आइसियू तथा प्रसूति सेवा यथावत् रहनेछ।
दोस्रो चरण - विहानी सत्र सेवा बहिष्कार (असोज २०-२१ गते)
चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले बिहानको शिफ्टमा ओपिडी तथा गैर-आपतकालीन नियमित सेवा बहिष्कार गर्ने। आकस्मिक, आइसियू तथा प्रसूति सेवा सञ्चालनमा रहने छन्।
तेस्रो चरण - अनिश्चितकालीन आन्दोलन
माग सम्बोधनका लागि ठोस निर्णय नभएमा समितिको निर्णयबमोजिम अत्यावश्यक सेवा बाहेकका सेवाहरू स्थगित गरी अनिश्चितकालीन शान्तिपूर्ण आन्दोलन घोषणा गरिनेछ।
प्रकाशित: १६ आश्विन २०८३ १३:१७ शुक्रबार