गत बुधबार भोटेकोशीमा आएको बाढीमा परी मृत्यु भएका मानव तथा पशुपन्छीको दुर्गन्ध फैलिन थालेको छ। उक्त नदीमा आइतबार पुनः आएको बाढीले माटोमुनि पुरिएका मानव तथा पशुपन्छी बाहिर निस्किएपछि दुर्गन्ध फैलिएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईंले बताए। ‘आज (आइतबार) बिहान आएको बाढीले माटोभित्र मिसिएका मानव तथा पशुपन्छीका शरीर तथा टुक्राहरू बाहिर निकालेपछि दुर्गन्ध फैलिएको छ,’ उनले भने ।
रसुवाको वेत्रावती बगरमा पनि यस्तो गन्ध फैलिन थालेको बाढी प्रभावितहरूले जनाएका छन्। नुवाकोटको देवीघाटमा पनि आइतबार तीन वटा मृत गाई बाहिर निस्किएको अवस्थामा फेला परेको पशु सेवा विभागका पशु चिकित्सक नवराज श्रेष्ठले बताए। पशुहरू भेटिनेबित्तिकै व्यवस्थापनका लागि स्थानीय निकायसँग समन्वय गरिएको र देशभरबाट एम्बुलेन्स तथा अन्य शव व्यवस्थापनका गाडी प्रभावित जिल्लामा पुगेको उनले जानकारी दिए। ‘काठमाडौं महानगरले पनि थुप्रै यस्ता एम्बुलेन्स र गाडी पठाएको छ,’ उनले भने। दुर्गन्ध तथा कीटाणु फैलिन नदिन कीटनाशक रसायन प्रयोग गर्ने व्यवस्था पनि मिलाइएको उनले बताए ।
चिकित्सकका अनुसार मृत मानिस तथा पशुपन्छीबाट बस्तीमा दुर्गन्ध फैलिए पनि त्यसबाट सिधै संक्रामक रोग फैलिँदैन तर मृत पशुपन्छी खाएर जाने चराहरूले खानेपानीको स्रोत दूषित पारे इकोलाईजस्ता ब्याक्टेरियाबाट संक्रमण फैलने जोखिम हुन्छ। मृत शव खाएका काग तथा मुसा मानवबस्तीमा पुगे मानिसमा स्क्रब टाइफस सर्ने जोखिम हुने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसन्धान शाखाका संयोजक डा. शेरबहादुर पुनले बताए। ‘यस्तो शवबाट सिधै मानिसमा संक्रमण हुने होइन, यी शव छुने मुसा तथा चरामार्फत मानिसमा रोग सर्ने जोखिम हुन्छ,’ उनले भने। उनका अनुसार शवबाट मानिसमा सिधै रोगको प्रकोप फैलिएको तथ्य अहिलेसम्म रहेको छैन ।
बाढीबाट आएको माटोमा रहेका कीटाणुबाट गाईबस्तुमा संक्रमण हुने जोखिम रहेको डा. नवराज श्रेष्ठ बताउँछन्। उनका अनुसार माटोमा हुने यस्ता कीटाणुबाट पशुमा ‘पड्के’ भन्ने रोग लाग्न सक्छ। यो रोग पशुबाट मानिसमा समेत सर्ने जोखिम रहने उनले बताए।
यो कीटाणु पशुको मुख, मलद्वार वा आँखाबाट शरीरमा प्रवेश गर्छ। संक्रमण भएपछि मलद्वार र नाकबाट कालो रगत बग्ने तथा रगत नजम्ने समस्या देखिन सक्छ। यो रोगका कारण पशुको मृत्युसमेत हुन सक्छ। मानिसमा संक्रमण भए छालामा घाउ हुने डा. श्रेष्ठले बताए। चिकित्सकका अनुसार बाढी प्रभावित क्षेत्रका विस्थापितमा सरसफाइको कमी भए विभिन्न रोगको संक्रमण हुने जोखिम हुन्छ। त्यसैले उनीहरूले पिउने पानी, खानेकुरा र बस्ने ठाउँको सफाइमा विशेष ध्यान दिनु आवश्यक छ ।
सफाइको कमी भए झाडापखाला, लामखुट्टेबाट सर्ने रोग तथा रुघाखोकी फैलिने जोखिम हुन्छ। त्यसका लागि सरकारले सफा पिउने पानी र खानेकुराको व्यवस्था गर्नुपर्ने डा. पुन बताउँछन्। साथै अस्थायी टहरामा बसोबास व्यवस्थित नहुने र भिडभाड हुने भएकाले मास्कको प्रयोग तथा सफा शौचालयको व्यवस्था गर्ने सुझाव उनको छ ।
प्रकाशित: १५ भाद्र २०८३ ०९:२७ सोमबार