राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति बाहेकका पदाधिकारीहरूको नियुक्तिका लागि सार्वजनिक आवेदन फारम गायब पारिएपछि पदाधिकारी नियुक्तिको निष्पक्षतामाथि नै प्रश्न उब्जिएको छ।
अहिले प्रतिष्ठानको आधिकारिक वेबसाइटमा यो आवेदन भेटिन्न। यो आवेदन फारम वेबसाइटबाट डाउनलोड गरेर भर्नु पर्ने प्रावधान हो। तर आवेदन फारमै गायब पारिएपछि आवेदन दिन चाहनेहरूले समेत दिन नचाहेको हुन सक्ने भएकाले पदाधिकारी नियुक्तिको निष्पक्षतामाथि आशंका गर्ने ठाउँ प्रशस्त रहेको स्रोत बताउँछ।
प्रतिष्ठान स्रोत भन्छ, ‘नियतवश् गायब पारिएको छ, यसले आशंका बढाएको छ।’ यस विषयमा प्रतिष्ठानका अधिकारीहरू नै अनभिज्ञ देखिए। ‘धेरैले आवेदन देखिएन भनेर सोधिरहेका छन्,’ स्रोतले भन्यो, ‘वेबसाइटमा देखिनु पर्ने, ठ्याक्कै के भएको हो, थाहा भएन।’
त्यसोत, पदाधिकारी नियुक्तिका लागि कार्यविधि निर्माणमा संलग्न व्यक्ति नै उम्मेदवार बनेपछि प्रतिष्ठानकै उपकुलपति डा. अजयकुमार मिश्रको नियतमाथि शंका गर्ने ठाउँ मिलेको छ। कार्यविधि निर्माणका लागि उपकुलपतिको संयोजकत्वमा समिति निर्माण गरिएको थियो।
‘प्रतिष्ठानका पदाधिकारी नियुक्तिका लागि प्रतिष्ठानले कार्यविधि बनाएको छ, यो कार्यविधि बनाउन सहभागी व्यक्ति नै अहिले उम्मेदवारका रूपमा प्रतिष्पर्धामा सहभागी भएको अवस्था छ,’ प्रतिष्ठान स्रोतले भन्यो, ‘उपकुलपतिको यो कदमले कसरी स्वच्छ प्रतिष्पर्धाको अपेक्षा गर्न सकिन्छ?’
स्रोतका अनुसार प्रतिष्ठान निमित्त अस्पताल निर्देशक डा. सुरेश रसाईली कार्यविधि निर्माणमा सहभागी भएका थिए। अहिले उनी आफैँ प्रतिष्ठानको अस्पताल निर्देशक पदको उम्मेदवारका रूपमा सहभागी भएका छन्। ‘उहाँ कार्यविधि बनाउने बेलामा बैठकहरूमा सहभागी हुनु भएको थियो,’ प्रतिष्ठान स्रोतले भन्यो, ‘बैठक उपकुलपतिको अध्यक्षमा बसेका थिए।’ कार्यविधि बनाउने व्यक्ति नै उम्मेदवारका रूपमा प्रस्तुत हुनुलाई कतिपयले यसलाई उपकुलपतिको नियतमाथि प्रश्न गरिरहेका छन्।
त्यसोत, केही समयअघि मात्रै प्रतिष्ठानका उपकुलपतिका रूपमा आएका डा. मिश्रको अधिव्यक्ति र उनको निर्णयले पनि निर्देशक चयनमा निष्पक्षता हुनेमा आशंका गरिएको छ। उनी उपकुलपति नियुक्त भई दाङ आए लगत्तै प्रतिष्ठानको स्वागत कार्यक्रममा निमित्त उपकुलपति डा.सुरेश रसाईलीलाई आगामी अस्पताल निर्देशक भनेर सार्वजनिक कार्यक्रममै घोषणा गरिदिएका थिए। लगत्तै उनले निर्देशक नियुक्ति नहुँदासम्मको अवधिका लागि भन्दै निमित्त अस्पताल निर्देशकका रूपमा नियुक्त गरिदिएका थिए।
‘यसरी कुनै पनि पदाधिकारीलाई निमित्तको जिम्मेवारी दिन मिल्दैन,’ स्रोत भन्छ, ‘निमित्त नियुक्तिको जिम्मेवारीको पनि आफ्नै प्रकृया हुन्छ, तर सार्वजनिक कार्यक्रममा फलानोलाई फलानो पद भनेर भन्न नसुहाउने कुरा भयो।’ आफैँले अस्पतालको निर्देशक भनेर सार्वजनिक रूपमै घोषणा गरिदिएका उपकुलपतिले उनै व्यक्तिलाई पदाधिकारी नियुक्तिका लागि कार्यदल बनाउन गठित समितिमा सहभागी गराइनु र उनै व्यक्ति उम्मेदवारका रूपमा सहभागी भएपछि मिश्रको निष्पक्षता माथि पनि आशंका गर्ने ठाउँ प्रशस्त रहेको स्रोत बताउँछ।
प्रतिष्ठानको पदाधिकारी नियुक्तिका लागि बनाइएको कार्यविधि अनुसार प्रतिष्ठानको शिक्षाध्यक्ष, डिन, रजिष्ट्रार र निर्देशक पदका लागि आवेदन माग गरिएको थियो। 'यि पदमा उम्मेदवारी दिएकाहरूको आज अन्तर्वार्ता हुँदैछ’ अन्तर्वार्ता पश्चात प्रतिष्ठानका सहकुलपति स्वास्थ्य मन्त्री समक्ष सिफारिस गरिनेछ। सिफारिसका लागि उपकुलपतिको संयोजकत्वमा अर्को समिति बनाइएको छ। यो समितिमा पदाधिकारी र विज्ञहरूलाई सदस्यका रूपमा चयन गरिने छ भनि कार्यविधिमा उल्लेख गरिएको छ। तर यो समितिका सदस्य पदाधिकारी तथा विज्ञ को हुन् भन्ने स्पष्ट खुलाइएको छ।
प्रतिष्ठानको पदाधिकारी नियुक्ति सम्बन्धी कार्यविधिमा सिफारिस समितिमा आबद्ध पदाधिकारी वा सदस्यहरूले आफूले दरखास्त हाल्न वा स्वार्थ बाँझिने अवस्थामा रहेमा त्यस्तो सदस्य वा विज्ञ मूल्यांकन प्रकृयामा सहभागी हुन नपाइने उल्लेख गरिएको छ। तर कार्यविधि निर्माणमै सहभागी व्यक्ति उम्मेदवार बन्नुले यो मूल्यांकन प्रकृया प्रभावित हुने दाबी स्रोतको छ।
प्रकाशित: ८ भाद्र २०८३ १०:०३ सोमबार