दैनिक बिरामीको चर्को चाप खेपिरहेको भैरहवास्थित भीम अस्पताललाई १०० शय्याको सुविधासम्पन्न अस्पतालमा विस्तार गरिने भएको छ।
लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री दीपेन्द्रकुमार पुनले ५० शय्याको हालको क्षमताले बिरामीको चाप धान्न नसकेकाले भौतिक संरचना र जनशक्ति थपेर अस्पताललाई १०० शय्यामा स्तरोन्नति गर्न प्रदेश सरकारले आवश्यक पहल तथा सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन्।
अस्पतालको भौतिक संरचना विस्तारसँगै विशेषज्ञ चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मीको दरबन्दी र विशिष्टीकृत सेवा थप्न प्रदेश सरकार पूर्ण रूपमा सकारात्मक रहेको मन्त्री पुनले सुनाए।
भीम अस्पतालमा व्यवस्थापन समिति, विभागीय प्रमुख तथा स्वास्थ्यकर्मीहरूसँगको आन्तरिक छलफलमा मन्त्री पुनले यसलाई उपचार सेवा दिने संस्थामा मात्र सीमित नराखी दक्ष स्वास्थ्य जनशक्ति उत्पादन गर्ने केन्द्रका रूपमा विकास गर्नुपर्ने योजना अघि सारे।
मुलुकभर नर्सिङलगायत विभिन्न विधाका स्वास्थ्यकर्मीको अभाव खड्किरहेको उल्लेख गर्दै उनले अस्पताललाई स्वास्थ्य जनशक्ति उत्पादनतर्फ अघि बढाउन र त्यसका लागि आवश्यक सहकार्य गर्न व्यवस्थापनलाई आग्रह गरे।
भीम अस्पताल लुम्बिनी प्रदेशकै रणनीतिक स्वास्थ्य संस्था भएको उल्लेख गर्दै मन्त्री पुनले यहाँ दैनिक करिब ६०० बिरामीले सेवा लिइरहेको जानकारी दिए।
रूपन्देही, कपिलवस्तु र नवलपरासीका साथै सीमावर्ती भारतबाट समेत बिरामीहरू उपचारका लागि आउने गरेकाले अस्पतालमा आधुनिक पूर्वाधार, अत्याधुनिक प्रविधि र विशेषज्ञ जनशक्ति तत्काल थप्नुपर्ने आवश्यकता उनले औंल्याए।
कोभिड-१९ महामारीका बेला अन्य अस्पतालहरू आंशिक रूपमा सञ्चालन भइरहँदा भीम अस्पतालले अग्रपङ्क्तिमा रहेर कोभिड अस्पतालका रूपमा प्रशंसनीय सेवा दिएको उनले स्मरण गरे।
साथै, लामो समयदेखि अस्थायी तथा ज्यालादारीमा कार्यरत कर्मचारीहरूको सेवा-सुविधाका विषयमा प्रदेश सरकार, अस्पताल र व्यवस्थापन समिति मातहतका कर्मचारीबीच देखिएको विभेद अन्त्य गरी एकरूपता ल्याउन पहल गर्नेसमेत मन्त्री पुनले आश्वासन दिए।
छलफलका क्रममा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष डा. आनन्दकुमार शर्माले भीम अस्पताल यस क्षेत्रकै पुरानो र सुलभ सेवा दिने संस्था भएकाले १०० शय्यामा विस्तार गरी गुणस्तरीय सेवा प्रवाह गर्न प्रदेश सरकारको दरिलो सहयोग अपरिहार्य रहेको बताए।
त्यस्तै, अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेजा घिमिरेले अस्पतालमा भौतिक पूर्वाधार, आधुनिक उपकरण तथा स्वास्थ्यकर्मीसँगै विशेष गरी रेडियोलोजी विभागमा विशेषज्ञको चरम अभाव रहेको जानकारी गराइन्।
स्वदेशी तथा भारतीय बिरामीको विश्वास कायम राख्न जनशक्ति र नयाँ प्रविधि तत्काल भित्र्याउनुपर्ने उनको माग थियो।
अस्पतालका व्यवस्थापक छमबहादुर अधिकारीले बजेट तथा दरबन्दी अभावका कारण सेवा विस्तारमा समस्या परेको भन्दै विशेषज्ञ चिकित्सक र पर्याप्त बजेटको प्रबन्ध मिलाउन आग्रह गरे।
स्वास्थ्यकर्मीहरू गोपाल उपाध्याय र जनकराज पन्तले अस्पतालका समस्या समाधान गरी जनमुखी स्वास्थ्य सेवालाई अझ प्रभावकारी बनाउन प्रदेश सरकारको ठोस कदम आवश्यक रहेको धारणा राखेका थिए।
प्रकाशित: २१ भाद्र २०८३ १६:३७ आइतबार