स्वास्थ्य

आधारभूत अस्पताल निर्माणपछि सञ्चालनमा समस्या

मोरङका १० वटा पालिकामा निर्माण सुरु गरिएको आधारभूत अस्पतालहरू निर्माण सम्पन्न हुँदै आए पनि सञ्चालनमा समस्या देखिएको छ। अस्पतालको भौतिक पूर्वाधार सम्पन्न भए पनि चिकित्सक, स्वास्थ्यकर्मी, उपकरणलगायतको व्यवस्थापन हुन नसक्दा अधिकांश अस्पताल सञ्चालनमा आउन सकेका छैनन्।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ मंसिर १५ गते देशभरका स्थानीय तहमा एकैसाथ आधारभूत अस्पताल निर्माण अभियान सुरु गरेका थिए। संविधानले सुनिश्चित गरेको आधारभूत स्वास्थ्य सेवालाई स्थानीय तहसम्म विस्तार गर्ने उद्देश्यले सुरु गरिएको यो महत्त्वाकांक्षी कार्यक्रमअन्तर्गत मोरङका १० स्थानीय तहमा पनि १० र १५ शय्याका आधारभूत अस्पताल निर्माण योजना अघि बढाइएको थियो, तर शिलान्यास भएको पाँच वर्ष बितिसक्दा पनि मोरङका अधिकांश अस्पताल पूर्णरूपमा सञ्चालनमा आउन सकेका छैनन्। कतै भवन निर्माण नै अधुरो छ भने कतै भवन बनेर पनि जनशक्ति, उपकरण र सञ्चालन बजेट अभावका कारण अस्पतालले अपेक्षित सेवा दिन सकेका छैनन्।

मोरङमा आधारभूत अस्पताल निर्माण कार्यक्रमअन्तर्गत बुढीगंगा गाउँपालिका, रतुवामाई नगरपालिका, जहदा गाउँपालिका, मिक्लाजुङ गाउँपालिका, पथरीशनिश्चरे नगरपालिका, धनपालथान गाउँपालिका, ग्रामथान गाउँपालिका, केरावारी गाउँपालिका, कानेपोखरी गाउँपालिका, पथरी शनिश्चरे नगरपालिका र सुनवर्षी नगरपालिकामा निर्माण सुरु गरिएको थियो। यसमध्ये हालसम्म पाँचवटा स्थानिय तहमा अस्पताल निर्माण कार्य सम्पन्न भइसकेको छ। काम सम्पन्न भएका स्थानिय तहमध्ये बुढीगंगा गाउँपालिका र रतुवामाई नगरपालिकाले अस्पताल सञ्चालनमा ल्याएका छन्।

 अन्य पालिकाले अझै अस्पताल सञ्चालनमा ल्याउन सकेका छैनन्। कतिपय अस्पतालहरूको भौतिक पूर्वाधार तयार भए पनि अस्पताल सञ्चालनका लागि आवश्यक जनशक्ति, उपकरण र व्यवस्थापनको काम बाँकी रहेको ती पालिकाहरूले जानएका छन्। मोरङ बुढीगंगा गाउँपालिकाका सूचना अधिकारी विभुषण न्यौपानेका अनुसार बुढीगंगामा ६ महिना पहिलेदेखि अस्पताल सञ्चालनमा आएको हो।

हाल पालिकाले क्रमशः अस्पतालमा उपकरण, प्रविधि, जनशक्ति व्यवस्थापन गर्दै सेवाहरू थप गरिरहेको न्यौपानेले बताए। उनले भने, ‘६ महिना पहिलेदेखि सञ्चालनमा आएको अस्पतालमा क्रमशः सेवा विस्तार गर्दै लगेका छौं।’

यस्तै मोरङको रतुवामाई नगरपालिकाले पनि एक महिना पहिल्यैदेखि आधारभूत अस्पताल सञ्चालनमा ल्याएको नगरपालिकाका स्वास्थ्य संयोजक सन्तोषकुमार साहले जानकारी दिए। उनका अनुसार हाल अस्पतालमा दुईजना मेडिकल अफिसर, एकजना एमडीले सेवा दिइरहेका छन्। अस्पताल पूर्णरूपमा सञ्चालनमा आउन समय लाग्ने उनले बताए।

यता जहदा गाउँपालिकाले भने अस्पतालको भौतिक संरचना निर्माण सम्पन्न गरे पनि हालसम्म अस्पताल सञ्चालनमा ल्याउन सकेको छैन। जहदा गाउँपालिकाका सूचना अधिकारी गजेन्द्र भुजेलका अनुसार गत वर्ष नै भवन निर्माण सम्पन्न भए पनि जनशक्ति व्यवस्थापन, उपकरणलगायत व्यवस्थापन हुन नसक्दा अस्पताल सञ्चालनमा आउन सकेको छैन।

मिक्लाजुङ गाउँपालिकामा पनि अस्पतालको भौतिक पूर्वाधार निर्माण सम्पन्न भइसकेको छ तर ठेकदारले अस्पताल पालिकालाई हस्तान्तरण गरिनसकेका कारण सञ्चालन नभएको पालिकाका सूचना अधिकारी चिन्तामणि पोखरेलले जानकारी दिए।

मोरङका अन्य पालिकामा १५ वेडको अस्पताल निर्माण भए पनि मिक्लाजुङमा भने १० वेडको अस्पताल निर्माण गरिएको छ। अस्पताल आठ करोड ५८ लाख रुपैयाँको लागतमा निर्माण भएको मिक्लाजुङ गाउँपालिकाका इन्जिनियर दीपकराज क्षेत्रीले बताए।

यस्तै पथरीशनिश्चरे नगरपालिकामा पनि १२ करोड रुपैयाँ लगानीमा अस्पताल भवन निर्माण सम्पन्न भइसकेको छ, तर आवश्यक जनशक्ति, उपकरणलगायतको व्यवस्थापन भइनसकेका कारण अस्पताल सञ्चालनमा आउन नसकेको पथरीशनिश्चरे गाउँपालिकाका सूचना अधिकारी हसात अली नेपालले जानकारी दिए।

यस्तै ग्रामथान गाउँपालिकामा अस्पताल निर्माण कार्य अन्तिम चरणमा पुगेको पालिकाका सूचना अधिकारी नारायण चौधरीले जानकारी दिए। चौधरीका अनुसार २१ करोड रुपैयाँ लागतमा १५ बेडको अस्पताल निर्माण अन्तिमचरणमा पुगेको हो। कानेपोखरी गाउँपालिकामा पनि आधारभूत अस्पताल निर्माण अन्तिम चरणमा पुगेको छ।

११ करोड रुपैयाँ लागतमा निर्माण भइरहेको अस्पताल ६० प्रतिशत काम सम्पन्न भएको कानेपोखरी गाउँपालिकाका इन्जिनियर दीपक गुरागाईले जानकारी दिए। केरावारी गाउँपालिकामा भने अस्पताल निर्माणका क्रममा जग्गा अभावका कारण निर्माणमा ढिलाइ भए पनि गत वर्षदेखि जग्गा उपलब्ध भइसकेका कारण धमाधम निर्माण काम भइरहेको स्वास्थ्य अधिकृत टोमप्रसाद चौंलागाईले जानकारी दिए। उनका अनुसार १२ करोड रुपैयाँ लागतमा भवन निर्माण भइरहेको छ। ‘नक्सा परिमार्जन र जग्गा अभावका कारण चार वर्षदेखि निर्माण कार्य रोकिए पनि गत आर्थिक वर्षमा जग्गा प्राप्त भएका कारण हाल धमाधम निर्माण भइरहेको छ।’

यता धनपालधान गाउँपालिकामा आधारभूत अस्पताल निर्माण सुरु भए पनि नक्सा परिमार्जन गर्नुपर्ने अवस्था आएकाले हाल काम रोकिएको छ। १९ करोड रुपैयाँ लागत अनुमान गरी निर्माण सुरु गरिए पनि निर्माणकै क्रममा काम रोक्नुपरेपछि हाल अस्पताल निर्माण अलपत्र परेको छ।’

यता सुनवर्षी नगरपालिकामा भने बल्ल जग्गाको टुंगो लागेको सूचना अधिकारी युवराज कोइरालाले जानकारी दिए। उनका अनुसार जग्गा टुंगो लागे पनि बजेट सुनिश्चित नहुँदा निर्माण सुरु हुन सकेको छैन।

सरकारले स्थानीय तहमा सामान्य शल्यक्रिया, प्रसूति सेवा, प्रयोगशाला, एक्स–रे, आकस्मिक उपचार तथा भर्ना सेवा उपलब्ध गराउने उद्देश्यसहित अस्पताल निर्माण सुरु गरेको थियो। त्यसबेला संघीय सरकारले भवन निर्माणको बजेट व्यवस्थापन गर्ने र सञ्चालनको जिम्मेवारी स्थानीय तहसँग समन्वय गरी अघि बढाउने योजना सार्वजनिक गरेको थियो तर निर्माण प्रक्रिया, ठेक्का व्यवस्थापन, बजेट निकासा र प्राविधिक कारणले अधिकांश आयोजना निर्धारित समयमै सम्पन्न हुन सकेनन्। अस्पताल निर्माण कार्यक्रमको मुख्य कमजोरी सञ्चालन व्यवस्थापनमा देखिएको छ।

संघीय सरकारले भवन निर्माणलाई प्राथमिकता दिए पनि अस्पताल सञ्चालनका लागि आवश्यक स्थायी जनशक्ति, उपकरण, औषधि र बजेटको दीर्घकालीन योजना समयमै तयार नगर्दा नागरिकले अपेक्षित सेवा पाउन सकेका छैनन्। फलस्वरूप करोडौं रुपैयाँ खर्च गरेर निर्माण गरिएका भवन पूर्ण उपयोगमा आउन सकेका छैनन्।

 मोरङका १० पालिकामा निर्माणाधीन आधारभूत अस्पतालहरू पूर्णरूपमा सञ्चालनमा ल्याउन संघ, प्रदेश र स्थानीय सरकारबिच प्रभावकारी समन्वय, पर्याप्त बजेट विनियोजन, दक्ष जनशक्ति र आवश्यक उपकरण व्यवस्थापन अपरिहार्य देखिएको छ।  

प्रकाशित: २९ श्रावण २०८३ १०:२५ शुक्रबार