भक्तपुर क्यान्सर अस्पतालमा उपचारका लागि पुगेका काभ्रे धुलिखेलका ४० वर्षीय राजु कालिराज ठगीमा परेका छन्। भक्तपुर क्यान्सर अस्पतालका चिकित्सकले शरीरमा रहेको क्यान्सरको शल्यक्रिया गरी निकाल्नका लागि उनलाई अस्पतालमा भर्ना गरेका थिए। तर, भर्ना भएकै अवस्थामा उनी अस्पतालबाट हराएपछि चिकित्सकहरू चकित परेका थिए।
अस्पतालबाहिर रहेका केही व्यक्तिले ‘ज्यानमा हतियार लगाउनु हुँदैन, तीन महिना औषधि खाएपछि निको हुन्छ’ भन्दै प्रलोभनमा पारेर कालिराजलाई अस्पतालबाट बाहिर लगेका थिए।
त्यसपछि प्राकृतिक चिकित्साको औषधि भन्दै ती व्यक्तिहरूले उनलाई पटक–पटक बोलाएर औषधि दिएका थिए। १५–१५ दिनको फरकमा औषधि दिँदै उनीहरूसँग करिब अढाइ लाख रुपैयाँ लिएको परिवारले जनाएको छ।
तर, करिब आठ महिनासम्म ती औषधि सेवन गर्दा पनि उनको स्वास्थ्यमा कुनै सुधार आएन। बरु रोग झन् बढ्दै गएपछि कालिराजको परिवार पुनः भक्तपुर क्यान्सर अस्पताल पुगेको हो।
‘ज्यानमा हतियार लगाउनु हुँदैन, यो औषधिले तीन महिनामा ग्यारेन्टी निको हुन्छ भन्नुभयो, अनि हामी उतै गयौँ,’ राजुकी आमाले चिकित्सकलाई बताइन्।
अस्पतालका अनुसार उपचारमा ढिलाइ हुँदा क्यान्सर शरीरभर फैलिएको छ। अहिले शल्यक्रिया गर्न नमिल्ने अवस्थामा पुगेको शल्यक्रियाको तयारीमा रहेका चिकित्सक डा पुण्य खरबुजाले जानकारी दिए।
प्रकाशित: २७ श्रावण २०८३ १३:०९ बुधबार