स्वास्थ्य

तोडफोडपछि पलाँता अस्पतालको सेवा बन्द, काममा नफर्कने डाक्टरको अडान

कालीकोटको पलाँता गाउँपालिका–९ थिर्पुस्थित पलाँता अस्पतालको सेवा बन्द भएको छ । सेवा बन्द भएसँगै अस्पतालमा मेडिकल अफिसर डा. अली हैदर राईन काममा नफर्कने भएका छन् । अस्पतालमा कार्यरत चिकित्सक र नर्समाथि कुटपिट तथा अस्पतालमा तोडफोड भएपछि अस्पताल अनिश्चितकालका लागि बन्द गरिएको हो ।

आफ्नो ड्युटीमा खटिएका चिकित्सक र नर्सहरू माथि गत साउन २२ गते शुक्रबार दिउँसो र  त्यही दिन बेलुकी क्वाटरमा नै गएर दोहोर्‍याएर कुटपिट तथा तोडफोड गरेको घटना बाहिर आएको थियो ।  

स्थानीय मैना बमका छोरासहित केही व्यक्ति अस्पतालको ओपीडी अगाडि बसेर अस्पतालको वाइफाइ प्रयोग गरी मोबाइलमा भिडियो गेम खेलिरहेका थिए । स्वास्थ्य सेवा प्रभावित हुने भन्दै  मेडिकल अफिसर डा. अली हैदर राईन र स्टाफ नर्स शान्ता गिरीले उनीहरूलाई अस्पतालबाहिर गएर मोबाइल चलाउन आग्रह गरे ।

यो पनि पढ्नुहोस्

डाक्टर, नर्स कुटिएको पलाँता अस्पतालमा फेरि तोडफोड 

त्यसपछि विवाद सुरु भएको थियो । सुरक्षा गार्डले उनीहरूलाई अस्पताल परिसरबाट बाहिर निकाल्न खोज्दा चिकित्सक तथा नर्समाथि हातपात भएको अस्पताल प्रशासनले जनाएको छ ।  

ओपीडीमा रहेको भिडियो स्क्यान मेसिन, भ्याक्सिन राख्ने फ्रिज, पंखा, अस्पतालका झ्याल लगायतमा तोफफोड गरेको डा.अलीले जानकारी दिए ।

फार्मेसी पूरै तोडफोड भएको उनले बताए । ढोका फोरेर फार्मेसीभित्र छिरेर औषधि राखिएका दराज, र्‍याक पूरै लडाइदिएको सीसीटीभी भिडियोमा देखिन्छ ।

कुटपिट र तोडफोडमा संलग्न पलाता–९ थिर्पूकी ३२ वर्षीया मैना बम, स्थानीय तपेन्द्र बम, मैनाका पति सुशीलकुमार बम र उनका १३ वर्षीय छोरालाई प्रहरीले राति नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

प्रकाशित: २४ श्रावण २०८३ १७:०१ आइतबार