अरू रोगहरूको लक्षण सुरुमै देखिन्छ। तर अण्डाशयको क्यान्सर सुटुक्क फैलिने हुँदा सुरुमै थाहा पाउन गाह्रो हुने चिकित्सक बताउँछन्। यो क्यान्सर चिकित्सकले पनि सुरुमै थाहा पाउन मुस्किल पर्छ। ‘अरू क्यान्सर जस्तो सुरुमै थाहा पाउन सकिँदैन,’ पाटन अस्पतालमा अन्कोमेडिकल चिकित्सक डा. अरुण शाहीले भने।
यो क्यान्सर महिलाहरूमा हुने क्यान्सर मध्येमा सबैभन्दा खतरा मानिन्छ। यो क्यान्सरको लक्षण पेटको अन्य रोगको लक्षणसँग मिल्दो–जुल्दो भएकाले बिरामीले सुरुमा अनुमान गर्न पनि सक्दैनन्। यस्तो अवस्थामा धेरैजसो अण्डाशयको क्यान्सर तेस्रो या चौथो चरणमा मात्र थाहा हुन्छ। जति बेला रोग छिप्पिइसकेको हुन्छ र उपचार प्रभाव कम पर्छ।
विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार नेपालमा महिलामा हुने क्यान्सरमध्ये अण्डाशयको क्यान्सर ७ प्रतिशतलाई हुने गर्दछ। प्रतिवर्ष नेपालमा १ हजारदेखि १२ सय जना अण्डाशय क्यान्सरका नयाँ बिरामी हुन्छन्। ग्लोवोक्यानेको तथ्याकं अनुसार नेपालमा हरेक वर्ष २० देखि २५ हजार नयाँ क्यान्सरका बिरामी छन्। धेरैजसो बिरामी ढिला अस्पताल पुग्ने गर्छन्।
नेपालमा ६० देखि ७० प्रतिशत अण्डाशयको क्यान्सर तेस्रो वा चौथो चरणमा मात्र पहिचान हुने गरेको तथ्याकं छ। प्रसूति गृह अस्पतालका निर्देशक श्रीप्रसाद अधिकारीको अनुसार पेटको भिडियो एक्स-रे गर्ने क्रममै अण्डाशय क्यान्सर पत्ता लाग्छ। ‘यो क्यान्सरमा लक्षण सजिलै थाहा नहुँदा ढिला पुग्छन्,’ उनले भने, ‘पाठेघरको मुखको क्यान्सरमा रगत बग्ने कारण सुरुमै थाहा हुन्छ, यो क्यान्सरमा पेट ठुलो भएको हुन्छ, वास्तै हुँदैन।’ पेट फुलेको अवस्थामा बेवास्ता गरेपछि ढिला मात्र थाहा हुने निर्देशक अधिकारी बताउँछन्।
पाटन अस्पतालका क्यान्सर विशेषज्ञ डा. शाहीको अनुसार पहिलो चरणमा २० प्रतिशत, तेस्रो र चौथो र ६० प्रतिशत र चौथो चरणमा १० प्रतिशत मात्र थाहा हुने गर्छ। उपचारमा आएका तेस्रो चरणभित्रका ९० प्रतिशत उपचारपछि निको हुन्छन् भने चौथो चरणको क्यान्सरमा थप केही वर्ष हेरचाह गरेर बाँच्न सक्छन्।
नेपालमा ढिला उपचार गर्नुको कारण यो क्यान्सर लागेकामध्ये ६० प्रतिशतको केही वर्षभित्रै मृत्यु हुने तथ्यांक छ। बिरामी उपचारमा ढिला आउनुको पछि जनचेतनाको कमी, आर्थिक अभाव, नियमित जाँचको पहुँच कम, लक्षणलाई बेवास्ता गर्नु, आर्थिक बाधा, भौगोलिक विकटता रहेको पाटन अस्पतालका मेडिकल अन्कोलोजिष्ट डा. शाही बताउँछन्।
अण्डाशयको क्यान्सरको लक्षणहरू:
पाठेघर तथा पेटको तल्लो भाग दुख्नु
पेटको तल्लो भागमा दुखिरहन्छ भने तुरुन्तै चिकित्सकसँग जाँच गरिहाल्नुपर्दछ। यस्तो दुखाइलाई महिलाहरू पाचन प्रणालीको समस्या या महिनावारी गडबडीको दुखाइ मानेर भ्रममा पर्न सक्छन्। यस्तो दुखाइ नियमित छ भने स्वास्थ्य परीक्षण गरिहाल्नु पर्छ।
दिसा–पिसाबको व्यवहारमा परिवर्तन
दिसा–पिसाबको व्यवहारमा परिवर्तन हुनु पनि अण्डाशयको क्यान्सरको एक लक्षण हो। अनियमित दिसा लाग्ने, कहिले पखाला, कहिले कब्जियत हुनुले समस्या हुनसक्छ। तर मानिसहरू यस्तो समस्या ग्याष्टिक या पेटको रोगको कारणले हुन्छ भन्ने बुझाइ छ ।
पाचन प्रक्रिया तथा पेटमा समस्या
अण्डाशयको क्यान्सरको सुरुको लक्षण पाचन प्रणालीमा समस्या देखिन्छ। पेट जति बेला पनि अघाएजस्तो अनुभव हुनु, केही कारण पेट भरिएजस्तो भइरहनु, भोक कम लाग्ने गर्छ भने यो क्यान्सरको लक्षण हुनसक्छ। क्यान्सरको कारण बनेको ट्युमरले ठाउँमा ओगटेमा वा दबाब परेमा पनि यस्तो हुन सक्छ।
घरी–घरी पिसाब लाग्नु
घरी–घरी पिसाब लाग्नु या पिसाब थैलीमा हुने दबाब पनि अण्डाशयको क्यान्सरको लक्षण हुन सक्छ। ट्युमरको दबाब परेमा यस्तो हुन सक्छ। बिस्तारै नजिकका अन्य अङ्गमा पनि दबाब पर्न सक्छ। यस्तो बेलामा तुरुन्तै विशेषज्ञ चिकित्सकसँग स्वास्थ्य परीक्षण गराउनुपर्छ।
एक्कासि तौल घट्नु
तौल बढ्नु या घट्नु पनि क्यान्सरको लक्षण हुन सक्छ। तौलमा घटबढ भइरहन्छ भने समयमै चिकित्सकसँग स्वास्थ्य परीक्षण गराउनुपर्छ।
थकाइ लागिरहनु
हरेक समय तपाईँलाई थकाइ लागिरहन्छ ? यो पनि अण्डाशयको क्यान्सरको संकेत हुन सक्छ। शरीरमा लुकेर बसेको अण्डाशयको क्यान्सरको कारण पनि थकाइ लागिरहेको हुन सक्छ। जुन थकाइ आरम गरे पनि कम नहुन सक्छ।
कस्ता महिला जोखिममा ?
अण्डाशयको क्यान्सर जुनसुकै उमेरका महिलामा हुन्छ। तर यसको बढी जोखिम ५० वर्ष भन्दा बढी उमेरका महिलामा हुन्छ। खास गरी महिनावारी बन्द भएपछि अण्डाशयको जोखिम हुन्छ। यो क्यान्सर वंशाणुगत कारणले पनि हुन्छ। कतिपय महिलाको व्यक्तिगत कारणले पनि हुन्छ। जस्तो कि कसैको सामान्य समय(उमेर) भन्दा पहिल्यै या ढिला गरी महिनावारी बन्द भएमा र कहिल्यै गर्भवती नभएकी महिलामा पनि डिम्बाशयको क्यान्सरको जोखिम बढी हुन्छ। यी महिलाहरूले आफ्नो शरीरमा आउने उल्लेखित लक्षणको निगरानी गर्ने र नियमित स्वास्थ्य परीक्षण गर्नु आवश्यक हुन्छ।
छिटो थाहा पाए पुरै निको हुन्छ
अण्डाशयको क्यान्सर थाहा पाउनको लागि विश्वासिलो परीक्षण सबै महिलाको पहुँचमा छैन। अण्डाशय पेटको तल्लो भागमा हुन्छ। यसको पहिचान नियमित परीक्षणबाट मात्र थाहा हुन सक्छ। यसको लागि सम्भावित लक्षण तीन हप्ताभन्दा बढी छ भने मेडिकल परीक्षण गर्नुपर्छ। यसको लागि भिडियो एक्स-रे, सोनीग्राफि, रगत परीक्षण, सिटिसक्यान या एमआरआई, वायोप्सी परीक्षण गर्न सकिन्छ। यी लगातार दुइ साता भन्दा बढी देखिएमा तुरुन्त स्वास्थ्य परीक्षण गर्नुपर्ने चिकित्सक सुझाउँछन्।
प्रकाशित: १७ चैत्र २०८२ १८:०८ मंगलबार