दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्य बिमा सेवा प्रभावकारी, चुस्त–दुरुस्त तथा व्यवस्थित बनाउन बहिरङ्ग (ओपिडी) टिकट काउन्टर थप गरेको छ।
प्रतिष्ठानमा उपचारका लागि आउने स्वास्थ्य बिमाका सेवाग्राहीको सङ्ख्या बढ्दै गएपछि टिकट वितरणलाई व्यवस्थित बनाउने उद्देश्यले एउटा काउन्टर थप गरी सञ्चालनमा ल्याइएको हो।
यसअघि प्रतिष्ठानमा स्वास्थ्य बिमा सेवाका लागि दुई वटा ओपिडी टिकट काउन्टर सञ्चालनमा थिए । सातामा दुई दिन बिदा हुने भएकाले अन्य दिन सेवाग्राहीको चाप बढ्दा अव्यवस्थित भीड र लामो समयसम्म लाइन बस्नुपर्ने अवस्था रहेको थियो। सोही अवस्थालाई मध्यनजर गर्दै काउन्टर थप गरिएको प्रतिष्ठानका सूचना अधिकारी निशानदाजु भट्टराईले बताए।
एउटा काउन्टर थपिएसँगै सेवाग्राहीको बढ्दो चाप व्यवस्थापन गर्न तथा टिकट वितरण प्रक्रियालाई छिटो, सहज र व्यवस्थित बनाउन सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे। उनका अनुसार प्रतिष्ठानमा पछिल्लो समय उपचारका लागि आउने बिरामीको सङ्ख्या निरन्तर बढ्दै गएको छ।
प्रतिष्ठानका निमित्त अस्पतालका अनुसार स्वास्थ्य बिमामार्फत सेवा लिने सेवाग्राहीलाई सहज र प्रभावकारी रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले ओपिडी टिकट काउन्टर थप गरिएको हो।
प्रतिष्ठानले स्वास्थ्य बिमा सेवामात्र नभई समग्र ओपिडी सेवामा आउने बिरामीको चाप व्यवस्थापन गर्न सेवा प्रवाहलाई क्रमशः सुधार गर्दै आएको जनाएको छ।
प्रकाशित: ३० श्रावण २०८३ १२:३२ शनिबार