स्वास्थ्य

वीरको आकस्मिक कक्षमा एक बेड एक बिरामी

राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्स) वीर अस्पतालको आकस्मिक कक्षमा पुग्दा अहिले पहिलेको भन्दा भिन्न दृश्य देख्न सकिन्छ। न भिड छ, न एउटै शय्यामा दुई–तीन जना बिरामी। त्यहाँ एक जना बिरामी र आवश्यक चिकित्सक मात्र देखिन्छन्। अस्पतालले एक महिनादेखि आकस्मिक कक्षमा एक शय्यामा एक जना मात्र बिरामी राख्ने व्यवस्था मिलाएपछि उपचारका लागि पुग्ने बिरामीले शान्त वातावरणमा उपचार पाउन थालेका छन्।

वीर अस्पतालको आकस्मिक कक्ष प्रमुख डा. सुरेश नेपालका अनुसार एक महिनादेखि अस्पतालले आकस्मिक कक्षमा आउने बिरामीका लागि ‘एक शड्ढया एक बिरामी’ नीति लागु गरेको हो। यसअघि अस्पतालमा पुग्ने बिरामीको भर्ना व्यवस्थापन र आवश्यकता अनुसार रेफरको व्यवस्था नहुँदा एउटै शय्यामा दुई–तीन जना बिरामीको उपचार गर्नुपर्ने अवस्था थियो। पछिल्लो समय आकस्मिक कक्षमा पुगेका बिरामीको ६ घण्टाभित्र सबै परीक्षण सकेर वार्डमा भर्ना गरिसक्नुपर्ने, आइसियु खाली नभए गम्भीर प्रकृतिका बिरामीलाई अन्यत्र रेफर गर्ने तथा कक्षको ‘ग्रिन जोन’ मा रहेका बिरामीलाई आकस्मिक कक्षकै बहिरंग विभागबाट स्वास्थ्य जाँच गर्ने व्यवस्था गरेपछि एक शय्यामा एक बिरामीको नीति लागु गर्न सम्भव भएको डा. नेपालले बताए। ‘ओपिडीमै जाँच गरेर उपचार गर्न मिल्ने बिरामीलाई कक्षमाथिको जनरल ओपिडीमार्फत सेवा दिएर पठाउँछौं,’ उनले भने।

पछिल्लो समय रेफर भएर आएका जटिल बिरामीका लागि आइसियु खाली नभए तुरुन्तै पाटन र टिचिङ अस्पतालमा रेफर गर्ने व्यवस्था पनि मिलाइएको अस्पतालले जनाएको छ। अस्पतालले एक वर्षदेखि आकस्मिक कक्ष सुधार तथा निर्माणको काम गरिरहेको छ। यस अवधिमा आकस्मिक कक्ष सुधार, निर्माण तथा ट्रियाज सुधारका काम भइरहेका छन्।

आगामी पुसभित्र निर्माण सम्पन्न भएपछि आकस्मिक कक्ष ७५ शय्यामा विस्तार हुने अस्पतालले जनाएको छ। ७५ शय्याको विस्तारित आकस्मिक कक्षमा १२ वटा शय्या ‘रेड जोन’का लागि प्रयोग हुने छन्। तीमध्ये दुई वटा शय्या सिपिआरका लागि तयारी अवस्थामा राखिने छन्। त्यस्तै २७ वटा शय्या ‘यलो जोन’का लागि छुट्याइने छन्।

बाँकी शय्यामध्ये ओसिएमसीका लागि पाँच र संक्रमित रोगका बिरामीका लागि पाँच शय्या छुट्याइने छन्। विस्तारित आकस्मिक कक्ष सञ्चालनका लागि थप जनशक्ति र सामग्री व्यवस्थापन गर्नुपर्ने छ। थप जनशक्ति तथा सामग्री व्यवस्थापनका लागि अस्पताल प्रशासनले काम गरिरहेकाले समयमै आकस्मिक कक्ष विस्तार हुने कक्ष प्रमुख डा. नेपालले जानकारी दिए।

प्रकाशित: १७ आश्विन २०८३ ०८:१९ शनिबार