पछिल्लो एक दशकमा नेपाली समाजमा स्वास्थ्य चेतनाको स्तरमा आएको सकारात्मक परिवर्तनको एक उत्कृष्ट उदाहरण वीर अस्पतालको आनुवंशिक विभागमा देखिएको छ।
कुनै समय सन्तानमा देखिने जन्मजात स्वास्थ्य समस्यालाई भाग्यसँग जोडेर हेर्ने समाजमा अब दम्पतीहरू सन्तान जन्माउनुअघि नै सम्भावित आनुवंशिक जोखिमबारे सचेत हुन थालेका छन्।
वीर अस्पतालले २०७३ सालमा जेनेटिक सेवा सुरु गरेयता, स्वस्थ सन्तान प्राप्तिका लागि प्रजनन्-पूर्व आनुवंशिक परीक्षण र परामर्श लिने दम्पतीको संख्यामा उल्लेख्य वृद्धि भएको छ।
वीर अस्पतालको आनुवंशिक विभागकी प्रमुख डा. नीलम ठाकुरका अनुसार सेवा सुरु भएको प्रारम्भिक दिनहरूमा यस्तो परीक्षणबारे आम मानिसमा लगभग शून्य जानकारी थियो।
तर, विगत केही वर्षयता जनचेतनाको स्तर बढेसँगै परीक्षण गराउन आउनेहरूको संख्या निरन्तर उकालो लागेको छ। ‘पहिला कसैलाई थाहा नै थिएन, अहिले धेरैले थाहा पाएर परामर्श लिन आउनुहुन्छ,’ डा. ठाकुरले भनिन्।
विभागको तथ्यांकअनुसार हाल सातामा औसत एक दर्जन दम्पती आनुवंशिक परीक्षण तथा परामर्शका लागि आउने गरेका छन्। वार्षिक करिब ५७० भन्दा बढी दम्पतीले यो सेवा लिइरहेका छन्।
परीक्षणका लागि आउनेहरूमा अधिकांश विवाहित दम्पती भए पनि केही संख्यामा विवाहको तयारीमा रहेका अविवाहित जोडीहरू समेत रहेको डा. ठाकुर बताउँछिन्।
किन आउँछन् दम्पती परीक्षणका लागि ?
विभागमा आउने दम्पतीहरू प्रायः आफ्नो परिवार वा वंशमा कुनै न कुनै प्रकारको आनुवंशिक रोगको इतिहास भएपछि स्वस्थ बच्चा जन्माउने उपायको खोजीमा आइपुग्छन्।
विशेषगरी, परिवारमा थालसेमिया (रक्तअल्पताको एक प्रकार), हेमोफिलिया (रगत नजम्ने समस्या), बाँझोपन, पटक–पटक गर्भ तुहिने समस्या, डाउन सिन्ड्रोम, मांसपेशीसम्बन्धी समस्या, र क्यान्सर जस्ता रोगहरूको पृष्ठभूमि भएका दम्पती प्रमुख रूपमा आउने गरेका छन्।
यसका साथै, आँखा, मुटु, कान, हातखुट्टा जस्ता शारीरिक अपाङ्गताको वंशाणुगत समस्या भएकाहरू पनि परामर्शका लागि पुग्छन्। ढिलो उमेरमा विवाह गरेका र सन्तान जन्माउँदा हुन सक्ने जोखिमबारे बुझ्न चाहने दम्पतीको संख्या पनि बढ्दो छ।
विभागमा आउनेहरूमध्ये सबैभन्दा बढी थालसेमिया, बाँझोपन र बारम्बार गर्भपतन हुने समस्या भएका दम्पती रहेको देखिन्छ।
के हो परीक्षण प्रक्रिया र समाधान ?
यो प्रक्रियामा पहिलो चरणमा दम्पतीको रगत परीक्षणमार्फत उनीहरूको क्रोमोजोमको विस्तृत विश्लेषण गरिन्छ। यसबाट उनीहरूमा कुनै आनुवंशिक रोगको जीन छ वा छैन, वा उनीहरू रोगको बाहक मात्र हुन् भन्ने कुरा पत्ता लगाइन्छ।
यदि दुवै जनामा कुनै जोखिम नदेखिएमा उनीहरूलाई स्वस्थ बच्चा जन्माउन कुनै बाधा नहुने परामर्श दिइन्छ।
तर, यदि परीक्षणबाट जोखिम देखियो भने, दम्पतीलाई गर्भधारणपछि शिशुको स्वास्थ्य अवस्थाबारे निश्चित हुने विकल्प प्रदान गरिन्छ।
‘गर्भ रहेको १४ हप्तापछि गर्भको पानी निकालेर शिशुमा आनुवंशिक रोग सरेको छ वा छैन भनेर यकिन गर्न सकिन्छ,’ डा. ठाकुरले प्रक्रियाबारे प्रस्ट्याइन्।
यदि गर्भको शिशुमा आनुवंशिक रोग भएको पुष्टि भएमा, दम्पतीको सहमतिमा गर्भपतन गराएर पुनः स्वस्थ गर्भका लागि प्रयास गर्न सकिन्छ।
यो प्रविधिले आनुवंशिक रोगको जोखिम बोकेका परिवारलाई पनि स्वस्थ र सुरक्षित रूपमा सन्तान जन्माउने अवसर प्रदान गरेको छ।
यसले आनुवंशिक रोगलाई भाग्यको खेल मान्ने पुरानो सोचलाई विस्थापित गर्दै विज्ञान र प्रविधिको मद्दतले स्वस्थ भविष्य निर्माण गर्न सकिन्छ भन्ने विश्वास बढाएको छ।
प्रकाशित: २ मंसिर २०८२ २१:३३ मंगलबार