स्वास्थ्य

चितवनमा डेङ्गु र ‘स्क्रब टाइफस’ को प्रकोप: दुई महिनामै २८३ जना सङ्क्रमित

जिल्लामा चालु आर्थिक वर्षको पहिलो दुई महिनामै डेङ्गु र स्क्रब टाइफसका २८३ जना बिरामी भेटिएका छन्। चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ९२ जनामा डेङ्गु र १९१ जनामा ‘स्क्रब टाइफस’ को सङ्क्रमण पुष्टि भएको हो।

जनस्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रक राम केसीका अनुसार ८८६ जनाको नमूना परीक्षण गर्दा ९२ जनामा डेङ्गु देखिएको छ।

कुल सङ्क्रमितमध्ये ७८ जना चितवनकै हुन् भने बाँकी अन्य जिल्लाका हुन्। जिल्लाभित्र सबैभन्दा बढी रत्ननगर नगरपालिकामा ३० जना र सबैभन्दा कम कालिका नगरपालिकामा २ जना सङ्क्रमित भेटिएका छन्।

यसैगरी, जिल्लामा डेङ्गुको तुलनामा स्क्रब टाइफसको सङ्क्रमण अझ तीव्र देखिएको छ। एक हजार १४ जनाको नमूना परीक्षण गर्दा १९१ जनामा यो रोग फेला परेको हो। जसमा ११८ जना चितवनका छन्। किट नियन्त्रक केसीका अनुसार यो रोग मुसामा लाग्ने किर्ना जस्तै देखिने ‘माइट’ नामक किराको टोकाइबाट सर्छ।

सहरी क्षेत्रमा पानी जम्ने ठाउँ धेरै हुने भएकाले डेङ्गुको जोखिम सहरमै बढी देखिएको केसीले जानकारी दिए।

स्वास्थ्यकर्मीहरूले यी रोगहरूबाट बच्न सतर्कता अपनाउन आग्रह गरेका छन्। जसका लागि पानी जम्ने खाल्डाखुल्डी पुर्ने, भाँडामा पानी जम्न नदिने, सुत्दा झुल प्रयोग गर्ने तथा झाडी, बारी वा चौरमा जाँदा लामखुट्टे र किराको टोकाइबाट जोगिन लामो बाहुला भएका लुगा लगाउन सुझाव दिइएको छ।

प्रकाशित: १ आश्विन २०८३ २१:२४ बिहीबार