स्वास्थ्य

राष्ट्रिय स्ट्रोक उपचार प्रोटोकल २०२५ स्वीकृत, मस्तिष्कघात उपचारमा सुधारको अपेक्षा

राष्ट्रिय स्ट्रोक उपचार प्रोटोकल २०२५ स्वीकृत भएको छ। शुक्रबार मन्त्रिस्तरीय निर्णयबाट उक्त प्रोटोकल स्वीकृत भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार देशभरका स्थानीयदेखि केन्द्रीय स्तरका स्वास्थ्य निकायसम्म स्ट्रोकको उपचारमा एकरूपता र सामञ्जस्यता कायम हुने गरी प्रोटोकल बनेको छ। यो प्रोटोकल बनेपछि मस्तिष्कघातको उपचार समयमै हुने र समयमै नियमसङ्गत उपचार हुँदा यो रोगका कारण हुने मृत्यु घटाउन सकिने मन्त्रालयले जनाएको छ।

नेपालमा मस्तिष्कघातको समयमै उपचारको अभावमा वर्षेनी धेरैको मृत्यु हुने र जीवनभरको अपाङ्गता हुने समस्या विकराल रहेको अवस्थामा प्रोटोकलले उपचार पद्धतिमा नवीन व्यवस्थापनले प्रभाव पार्ने मन्त्रालयले अपेक्षा लिएको छ। प्रोटोकलले आधारभूत अस्पतालदेखि विशिष्टीकृत अस्पतालसम्मको उपचारको मार्गनिर्देशन तोकेको छ।

औषधि उपचार, शल्यक्रिया र पुनर्स्थापनाको पक्षलाई पनि प्रोटोकलमा समेटिएको छ। मस्तिष्कघातको उपचारमा विश्वव्यापी मान्यता ‘गोल्डेन आवर’ अर्थात् सुरुको चार घण्टाभित्र स्वास्थ्य संस्थामा पुर्‍याइसक्ने र भइसक्ने उपचारको बारेमा पनि उल्लेख गरिएको छ।

साथै उपचारमा व्यक्ति, घरपरिवार र समुदायको भूमिकाको बारेमा पनि उल्लेख गरिएको मन्त्रालयले जनाएको छ।

प्रकाशित: ३० श्रावण २०८२ १५:२९ शुक्रबार