केही दिनअघि देशैभरिका चिकित्सकलाई हडतालमा उतार्ने वीरगन्जको नारायणी अस्पतालमा खासै सुधार देखिएको छैन। अस्पताल सुधारको जिम्मा लिएका निमित्त मेसु चितरञ्जन शाहले नियमविपरीत निजी अस्पतालमा समय दिइरहेको पाइएपछि अस्पताल सुधार हुन नसकेको रहस्य खुलेको छ। नारायणी मधेस प्रदेशकै एक प्रमुख संघीय र धेरै बिरामीको चाप हुने अस्पताल हो।
शाह वीरगन्जको पानीटंकी क्षेत्रस्थित सर्वोत्तम अस्पतालमा कार्यरत रहेको पाइएको छ। पथरी तथा मूत्ररोग विशेषज्ञ रहेका डा. चितरञ्जनसँग जचाउन बुधबार पर्साका अठराहा सुगौलीनिवासी वीरेन्द्र पण्डित पुगेका थिए। उनले सात सय रुपैयाँ तिरेर सर्वोत्तम अस्पतालको ओपिडीको टिकट काटी डा. चितरञ्जनसँग जचाएका थिए। किडनीमा पथरी भएको अन्य डाक्टरबाट जानकारी पाएपछि आफू यहाँ आएको पण्डितले बताए। डा. शाहसँग समस्या सुनाएपछि उनले रगत र पिसाब जाँच र अल्ट्रासाउन्ड गराएर ल्याउन पुर्जीमा लेखी सुझाएको पण्डितले बताए।
सर्वोत्तम अस्पतालको काउन्टरबाट ११ सय रुपैयाँको रसिद काटेर रगत र पिसाब चेकजाँच गर्नका लागि दिएको र अस्पतालको अल्ट्रसाउन्ड बिग्रेकोले बाहिरबाट गराएर ल्याउन भनेको पडितले बताए।
पण्डितजस्तै डा. चितरञ्ञनसँग जचाउन ४÷५ जना बिरामी लाइनमा बसेका थिए। डा. शाहले दैनिक रूपमा बिहान ८ बजेदेखि ९ः३० बजेसम्म र बेलुका ५ बजेदेखि ७ः३० बजेसम्म सर्वोत्तम अस्पतालमा सेवा दिने गरेको अस्पताल प्रशासनले जनाएको छ।
सर्वोत्तम अस्पताल प्रवेश गरेपछि भुइँतलाको ओपिडी १ नम्बर लेखिएको कोठाअगाडि डा. चितरञ्जन शाहको नामको बोड राखिएको छ। नारायणी अस्पतालको निमित्त मेडिकल सुपरिटेन्डेन्डको जिम्मेवारीमा रहेका शाहलाई निजी अस्पताल सर्वोत्तममा सेवा दिन रोक लगाइएको छ तर पनि स्वास्थ्य मन्त्रालयले गरेको निर्णयविपरीत शाह निजी अस्पतालमा सेवा दिइरहेका छन्। स्वास्थ्य मन्त्रालयले गरेको निर्णयअनुसार सरकारी अस्पतालको नेतृत्वमा रहेका चिकित्सक निजी अस्पतालमा काम गर्नै पाउँदैनन्।
नियमविपरीत सर्वोत्तम अस्पतालमा काम गरेको विषयमा डा. शाहसँग प्रश्न गर्दा उनले आफू बाध्यले निमित्त मेसुको जिम्मेवारी पाएको तर्क गरे। निजी अस्पतालमा सेवा दिन नछाड्ने बरु मेसु पद छाड्न तयार रहेको डा. शाहले बताए।
प्रकाशित: २१ श्रावण २०८३ ११:५३ बिहीबार