स्वास्थ्य

अस्पतालमा ‘एमआर’ निषेध, डाक्टरले फार्मेसीमा भएका औषधीमात्र सिफारिस गर्नुपर्ने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘अस्पताल सेवा सुधार कार्यविधि २०८२’ जारी गर्दै अस्पताल सेवालाई जनमैत्री, पहुँचयोग्य र प्रभावकारी बनाउने पहल गरेको छ। 

मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीका अनुसार जनस्वास्थ्य सेवा ऐन, २०७५ अनुरूप तयार गरिएको उक्त कार्यविधिले स्वास्थ्य संस्थामा सेवा प्रवाहलाई व्यवस्थित र गुणस्तरीय बनाउने लक्ष्य राखेको छ।

कार्यविधिअनुसार अब अस्पतालहरूले प्रत्येक नागरिकलाई सहज रूपमा गुणस्तरीय सेवा उपलब्ध गराउनुपर्नेछ। बिरामीको उपचार अभिलेख र ‘फलोअप’ व्यवस्थापनका लागि एकीकृत विद्युतीय अभिलेख प्रणाली विकास गर्ने, प्रयोगशाला प्रतिवेदन २४सै घण्टा उपलब्ध गराउने तथा अस्पतालको फार्मेसीमा उपलब्ध औषधी मात्रै चिकित्सकले सिफारिस गर्नुपर्ने व्यवस्था गरिएको छ।

त्यस्तै, बिरामीलाई अन्यत्र पठाउनुपर्ने अवस्थामा ‘रिफर स्लिप’ अनिवार्य रूपमा दिई सरकारी अस्पतालमा पठाउनुपर्ने, अस्पतालमा दैनिक आवश्यक पर्ने औषधी पर्याप्त मात्रामा मौज्दात राख्नुपर्ने र सेवा प्रवाहका बेला औषधी बिक्री प्रवर्द्धक (एमआर)लाई प्रवेश निषेध गरिने प्रावधान पनि समेटिएको छ। 

मन्त्रालयले यी व्यवस्थामार्फत स्वास्थ्य सेवामा पारदर्शिता, उत्तरदायित्व र सेवाको गुणस्तर सुधार हुने अपेक्षा गरेको छ।

प्रकाशित: २८ चैत्र २०८२ १७:११ शनिबार