स्वास्थ्य

नेपालमा एक वर्षमा २ लाख २३ हजार बढी जनावरको टोकाइका घटना

विश्व रेबिज दिवस

आज विश्व रेबिज दिवस २०२६ मनाइँदैछ। हरेक वर्ष सेप्टेम्बर २८ मा मनाइने दिवसका अवसरमा रेबिजको रोकथाम, जनचेतना अभिवृद्धि तथा मानव र पशु स्वास्थ्यबीचको समन्वयलाई सुदृढ गर्दै रेबिज निवारणतर्फ प्रतिबद्धता दोहोर्‍याइएको छ।

स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार यस वर्ष ‘एकतामा शक्ति, रेबिजबाट मुक्ति’ भन्ने सन्देशका साथ विश्व रेबिज दिवस मनाइँदैछ।

महाशाखाका अनुसार रेबिज घातक भए पनि रोकथाम गर्न सकिने रोग हो। विश्वभर हरेक वर्ष अनुमानित ५८ हजार ९९० जनाको रेबिजका कारण मृत्यु हुने गरेको छ। तीमध्ये ४७ प्रतिशत मृत्यु दक्षिणपूर्वी एसिया र ३२.५ प्रतिशत अफ्रिकी मुलुकमा हुने गरेको छ। रेबिजका कारण मृत्यु हुनेमध्ये करिब ४० प्रतिशत १५ वर्षभन्दा कम उमेरका बालबालिका छन्।

मानवमा हुने रेबिजका करिब ९९ प्रतिशत घटना कुकुरसँग सम्बन्धित रहेको महाशाखाले जनाएको छ। नेपालमा पनि रेबिज महत्वपूर्ण जनस्वास्थ्य समस्याका रूपमा रहेको छ।

महाशाखाका अनुसार आर्थिक वर्ष २०८१/८२ मा देशभर २ लाख २३ हजार ५१० वटा जनावरको टोकाइका घटना रिपोर्ट भएका थिए। तीमध्ये करिब ९६ प्रतिशत घटना कुकुरको टोकाइबाट भएका थिए। नेपालमा हरेक वर्ष करिब १०० जनाको रेबिजका कारण मृत्यु हुने अनुमान गरिएको छ।

नेपालको करिब ५० प्रतिशत जनसंख्या रेबिजको उच्च जोखिम क्षेत्रमा बसोबास गर्ने र बालबालिका विशेष जोखिममा रहने महाशाखाले जनाएको छ। हाल देशभर २८६ वटा सेवा केन्द्रबाट रेबिजविरुद्धको खोप सेवा उपलब्ध गराइएको छ।

जनावरले टोकेमा के गर्ने?

महाशाखाले कुकुर, बिरालो वा अन्य सम्भावित रेबिज संक्रमित जनावरले टोकेमा वा चिथोरेमा उपचारमा ढिलाइ नगर्न आग्रह गरेको छ।

जनावरले टोकेको अवस्थामा घाउलाई साबुन र बगिरहेको पानीले कम्तीमा १५ मिनेटसम्म राम्ररी धुनुपर्ने महाशाखाले जनाएको छ। घाउमा खुर्सानी, तेल, माटो, जडीबुटी वा अन्य घरेलु पदार्थ नलगाउन पनि आग्रह गरिएको छ।

घाउ धोएपछि सम्भव भएसम्म तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा गई स्वास्थ्यकर्मीको सल्लाहअनुसार उपचार तथा खोप सुरु गर्नुपर्ने महाशाखाले जनाएको छ। स्वास्थ्यकर्मीले दिएको सल्लाहअनुसार उपचारको निर्धारित प्रक्रिया पूरा गर्न पनि आग्रह गरिएको छ।

महाशाखाले जनावरको टोकाइलाई सामान्य वा सानो घाउ भन्दै बेवास्ता नगर्न आग्रह गरेको छ। रेबिजको लक्षण देखिएपछि रोग सतप्रतिशत घातक हुने भएकाले लक्षण देखिने समय पर्खन नहुने भन्दै समयमै उचित उपचार लिनु नै रेबिजबाट हुने मृत्यु रोक्ने प्रमुख उपाय भएको जनाएको छ।

प्रकाशित: १२ आश्विन २०८३ १४:३१ सोमबार