स्वास्थ्य

विश्व अल्जाइमर्स दिवसमा मन्त्री बादीको सन्देश : जति छिटो हुन्छ ज्ञान, उति सहज निदान

अल्जाइमर्स तथा डिमेन्सियाको प्रारम्भिक पहिचान, समयमै उपचार र सम्मानजनक हेरचाहमा जोड

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले अल्जाइमर्स तथा डिमेन्सियाजस्ता रोगको प्रारम्भिक पहिचान, समयमै उपचार र सम्मानजनक हेरचाहमा विशेष ध्यान दिनुपर्ने बताएकी छन्।

विश्व अल्जाइमर्स दिवस २०२६ का अवसरमा शुभकामना सन्देश जारी गर्दै मन्त्री बादीले अल्जाइमर्सका लक्षण प्रारम्भिक चरणमै पहिचान गरी आवश्यक उपचार र उचित हेरचाह सुनिश्चित गर्न तथा स्वस्थ जीवनशैली अपनाउन सबैमा आग्रह गरेकी हुन्।

यस वर्षको विश्व अल्जाइमर्स दिवसको नेपालमा 'जति छिटो हुन्छ ज्ञान; उति सहज निदान: महत्वपूर्ण छ डिमेन्सियाको पहिचान' भन्ने नारासहित दिवस मनाइँदैछ।

मन्त्री बादीले नेपालको कुल जनसङ्ख्यामा ज्येष्ठ नागरिकको संख्या बढ्दै गइरहेको अवस्थामा अल्जाइमर्स तथा डिमेन्सियाको चुनौतीसमेत बढ्दै गएको उल्लेख गरेकी छन्। यसको प्रभावकारी सम्बोधनका लागि प्रारम्भिक पहिचानसँगै स्वस्थ जीवनशैली, उचित खानपान, समयमै उपचार र सम्मानजनक हेरचाहमा ध्यान दिनुपर्ने उनको भनाइ छ।

अल्जाइमर्स तथा डिमेन्सियाबाट प्रभावित व्यक्तिलाई रोगकै कारण विभेद वा हेयभाव गर्न नहुनेमा जोड दिँदै मन्त्री बादीले परिवार, समुदाय, सरकार तथा सरोकारवाला सबैको सहकार्यमा प्रभावित व्यक्तिको सहयोग, संरक्षण र सम्मान सुनिश्चित गर्नुपर्ने बताएकी छन्।

विपद्का समयमा ज्येष्ठ नागरिकको संरक्षणमा विशेष ध्यान

मन्त्री बादीले विपद्का समयमा ज्येष्ठ नागरिकको सम्मान, संरक्षण र सुरक्षा अझ संवेदनशील विषय बन्ने उल्लेख गरेकी छन्।

यस वर्ष भदौ १० गते रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा ज्यान गुमाएका सम्पूर्ण ज्येष्ठ नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उनले घाइते तथा प्रभावित ज्येष्ठ नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छन्।

बाढी प्रभावित ज्येष्ठ नागरिकका लागि उद्धार, राहत, पुनःस्थापना, स्वास्थ्य तथा मनोसामाजिक सहयोग लगायतका कार्यमा मन्त्रालयले सरोकारवालासँग निरन्तर समन्वय र सहकार्य गर्ने प्रतिबद्धता पनि मन्त्री बादीले व्यक्त गरेकी छन्।

मन्त्री बादीले अल्जाइमर्स तथा डिमेन्सियाबारे समयमै जानकारी हासिल गरी प्रारम्भिक पहिचान र उपचारमा जोड दिनुपर्ने तथा प्रभावित व्यक्तिको जीवनलाई सम्मान, सुरक्षा र आत्मसम्मानसहित अघि बढाउन परिवार, समुदाय र राज्यको साझा प्रयास आवश्यक रहेको सन्देश दिएकी छन्।

प्रकाशित: ५ आश्विन २०८३ १०:४० सोमबार