स्वास्थ्य

अब प्रसूतिगृहमा शुक्रकिटको गुणस्तर परीक्षण हुने

परोपकार प्रसूतिगृहमा शुक्रकीटको गुणस्तर पत्ता लगाउने आधुनिक स्वचालित उपकरण आइपुगेको छ, जुन मेसिनलाई अटोमेटिक सिमन एनालाइजर भनिन्छ। मेसिन साउनको पहिलो साता खरिद प्रक्रियाबाट आइपुगेको हो। मेसिन आए पनि रिएजेन्ट खरिद प्रक्रियामा गएको र भदौको पहिलो साता मात्र सेवा सुरु हुने अस्पतालले जनाएको छ। यसअघि यो मेसिन सरकारी तहमा टिचिङ अस्पताल महाराजगन्जमा आएको थियो। सरकारी तहमा यस्तो मेसिन ल्याउने प्रसुति गृह दोस्रो अस्पताल हुन पुगेको छ।

अस्पतालकी आइभिएफ केन्द्रकी प्रमुख डा. ज्वाला थापाका अनुसार यो उपकरण अत्याधुनिक प्रविधि हो। यो उपकरणमा पुरुषको वीर्यको गुणस्तर पहिचान गर्न सकिन्छ। यो मेसिनमा रिएजेन्टसहित शुक्रकीट राखेपछि शुक्रकीटको प्रत्येक अंगको तस्बिर र भिडियो सिधै कम्प्युटरमा देखिन्छ। शुक्रकीटको हरेक भागको आकार प्रस्ट देखाउने भएकाले साधारण एनालाइजरभन्दा यो आधुनिक मानिएको हो।

अस्पताल निर्देशक डा. अधिकारीका अनुसार यसअघि अस्पतालको आइभिएफ–निःसन्तान उपचार केन्द्र) मा साधारण उपकरणमार्फत परीक्षण हुँदा धेरै दम्पतीको गर्भधारणमा गलत परिणाम आएको थियो।

साधरण मेसिनले शुक्रकीट भएको मात्र रिपोर्ट दिने तर यसको आकारका बारेमा थाहा नहुँदा गलत रिपोर्ट र गर्भधारण पनि हुन नसकेको स्थिति थियो। कतिपयमा भए पनि कतिपयमा नहुने गरेको निर्देशक अधिकारीले बताए।

साधारण एनालाइजरका कारण धेरै दम्पतीमा बाँझोपनाको उपचार असफल भएपछि अस्पतालले धेरै वर्षदेखि सरकारसँग यो उपकरण आवश्यक भएको माग गरेको थियो।

गत आर्थिक वर्षमा बजेट विनियोजन भएपछि खरिद प्रक्रियाबाट उक्त उपकरण ल्याइएको हो। उक्त उपकरणको बजारमूल्य ५० लाख रुपैयाँ बराबर छ। प्रसूतिमा आउने बिरामीलाई सुलभ मूल्यमा सेवा उपलब्ध गराउने र दम्पत्तिमा हुने बाँझोपना यकिन गरी उपचार गर्न यो प्रविधि भित्र्याइएको निर्देशक अधिकारीले बताए। ‘हामीकहाँ यो सेवा १२ देखि १५ हजारमै दिन सक्छौं, अन्यत्र दोब्बर महँगो पर्छ’, उनले भने।

चिकित्सकका अनुसार यसअघि परीक्षण हुने उपकरणले सूक्ष्म शुक्रकीटको सूक्ष्मस्थितिबारे जानकारी नदिँदा सबै दम्पतीमा गर्भधान हुँदैनथ्यो। यस्तो समस्या धेरै दम्पतीमा गुणस्तरहीन शुक्रकीटको कारणले हुने तर हीनताबोध र लाञ्छनाको सिकार महिला हुने गर्थे। ‘पुरुषको शुक्रकीट राम्रो हुन्थेन, तर महिला आफ्नै कारणले हो भन्ठानेर पीडित हुन्थे’, उनले भने।

धेरै सेवा लिन आउने यो अस्पतालमा गुणस्तरीय सेवा दिने उद्देश्यले यो मेसिन ल्याइएको अधिकारीले बताए। ‘अन्यत्र आइभिएफ सेवा लिँदा दोब्बर महँगो पर्छ, तर सरकारीमा यो सेवा सबैको पहुँचमा हुन्छ’, उनले भने।

निर्देशक अधिकारीका अनुसार यो उपकरणमा वीर्य राखेर परीक्षण गरेपछि त्यसको टाउको, घाँटी, शरीर र पुच्छरको स्थिति प्रस्ट देखिन्छ। यी भाग निश्चित आकारको भएमा राम्रो शुक्रकीट मानिन्छ। आकार नमिलेमा असामान्य शुक्रकीट मानिन्छ। ‘शुक्रकीटको टाउको पनि हुनुपर्ने भन्दा ठूलो हुनु भएन, पुच्छर पनि लामो हुनु भएन’, उनले भने।

असामान्य आकारका शुक्रकीट डिम्बाशयसँग टाँसिन नसकेपछि गर्भधान हुन सक्दैन। नेपालमा पछिल्लो समय धेरै पुरुषमा बाँझोपनाको समस्या देखापरेको छ। एनालाइजरको परीक्षणबाट पुरुषमा हुने बाँझोपना यकिन हुन्छ। ‘शुक्रकीटको गुणस्तर राम्रो नभए पनि बाँझोपनामा महिला नै दोषी देखिन्थे, अब यो समस्याबाट महिला मुक्त हुन्छन्।’

पछिल्लो समय शुक्रकीटमा बाँझोपना बढेकाले आधुनिक परीक्षण आवश्यक रहेको उनले बताए। रक्सी, चुरोट, गुट्खा सेवन, अस्वस्थकर खानपान, व्यायामको कमी र बढी तापक्रम हुने खाडी मुलुकमा बसोबास गर्ने पुरुषमा पनि यो समस्या देखिने गरेको छ। यीमध्ये कुनै पनि कारणले शुक्रकीट कमजोर भएमा उपचारबाट राम्रो बन्ने चिकित्सक बताउँछन्। यसका लागि जीवनशैली परिवर्तन, औषधी तथा प्रतिस्थापित खानामार्फत उपचार गराइन्छ।

 यसका साथै अस्पतालमा भ्रूण सुरक्षित राख्न बेन्च टप इन्कुभेटर आएको छ। यसमा हरेक दम्पतीको भ्रूण छुट्टाछुट्टै राख्दा त्यसको गुणस्तर नघट्ने डा. अधिकारी बताउँछन्। उनका अनुसार एउटै इन्कुभेटरमा राखेमा पटकपटक खोल्दा त्यहाँ रहेका अन्य भ्रूणको तापक्रममा असर परी गुणस्तर घट्छ।

प्रकाशित: १ भाद्र २०८३ ०९:३९ सोमबार