रसुवा बाढीपछि होल्डिङ सेन्टरमा मानसिक स्वास्थ्य सेवा दिनका लागि पुग्ने नयाँ मानसिक स्वास्थ्य टोली पुगेको पाइएको छ।
सरकारको संयन्त्रबिना परिचालन भएका यस्ता टोलीबाट गुणस्तरीय सेवामा चुनौती थपिएको इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखा नसर्ने रोग तथा मानसिक शाखाले औंल्याएको छ। 'हाम्रो संयन्त्रबाट जोडिएर साझेदार पहिला नै पुगिसकेको भए पनि अहिले पनि विभिन्न अन्यत्रैबाट अनुमति लिएर पनि पुगेका छन्,' शाखा प्रमुख डा. पोमावती थापाले भनिन्।
पुगेका मध्ये धेरै जसो नुवाकोटमा केन्द्रित भएको उनले जानकारी दिइन्। सोमबार स्वास्थ्य शिक्षा तथा सूचना केन्द्रद्वारा आयोजित सञ्चारकर्मीबिच शाखाले प्रभावित क्षेत्रमा गरेको कार्यहरूको बारेमा प्रस्तुति दिँदै उनले यस्तो औंल्याएकी हुन्। शाखाको अनुसार रसुवाका २७ जना मनोपरामर्शदाता पुगेका छन् भने नुवाकोटमा ७८ जना छन्।
प्रभावित क्षेत्रमा जथाभावी दिइने सेवाले गुणस्तरीय सेवा नपुग्ने, सही उपचार नहुने, सेवा लिनेको अभिलेखमा दोहोरोपना हुने, मापदण्ड अपुग हुँदा चुनौती बनेको थापाले बताइन्। महाशाखाले आवश्यक क्षेत्रमा पहिला र दोस्रो चरणमा गरी तालिमप्राप्त टोली परिचालन गरिसकेको र टोली मौजुदा रहेको बेलामा नयाँ–नयाँ टोली पुग्नु र नुवाकोट केन्द्रित हुनुले गुणस्तर, मापदण्ड जस्ता विषय अपुग हुने आंशका बढेको उनको भनाइ छ। 'विभिन्न निकायबाट अनुमति लिएर प्रभावित क्षेत्रमा पुगेको पाइयो, एकद्वार प्रणालीबाट हुँदा सेवा प्रभावकारी हुन्छ भन्ने हाम्रो मान्यता हो,' उनले भनिन्।
हालसम्म बाढी प्रभावित पाँच वटा जिल्लाहरूमा मानसिक स्वास्थ्य सेवाका लागि १ सय २८ जनाको टिम परिचालन गरिएको छ। नुवाकोटमा ७८, रसुवामा २७, काठमाडौंमा २०, भरतपुर १८, धादिङमा १२ जना छन्। ती मध्येमा दुई जना मानसिक रोग विशेषज्ञ, दुई जना क्लिनिकल साइकोलोजिष्ट र १ सय ३४ जना, मनोपरामर्शदाता, मानसिक स्वास्थ्य सेवादात छन्।
हालसम्म ७ हजार ४ सय ३० जनाले स्थलगत पहुँचमा छन् भने कुल ४ हजार ८ सय ४४ ले मनोसामाजिक परामर्श लिइसकेका छन्। त्यसैगरी हेल्पलाइन मार्फत ८६ जना र पछिल्लो २४ घण्टामा १ हजार ३१ जनाले सेवा लिएका छन्।
भरतपुर र काठमाडौंमा शव बुझ्ने प्रभावित परिवारका सदस्यलाई मनोसमस्या सेवा दिने, अन्य जिल्लाका प्रभावित परिवारलाई समेत सेवा दिने गरेको शाखाले जनाएको छ।
बाढी प्रभावितहरूमा अबको एक साताभित्रमा सुरुको चरणको भन्दा भिन्न प्रकारका मानसिक स्वास्थ्य समस्या देखा पर्ने र सोही अनुसार सेवा दिने गरी जनशक्ति परिचालन गरेको शाखाकी प्रमुख डा. थाापले बताइन्। उनका अनुसार अबको एक साताभित्र एन्जाइटी, डिप्रेशनलगायत समस्या देखिने र सोही अनुसार उपचारका लागि तयारी अवस्थामा रहेको बताइन्।
उनका अनुसार जसमध्ये आवश्यक औषधी र तालिमप्राप्त जनशक्ति प्रभावित क्षेत्रमा परिचानल भइसकेको छ। यसका साथै बिरामीको स्थिति अनुसार रेफरल सिस्टमको मापदण्ड तयार गर्ने, प्रभावित क्षेत्रमा किशोरकिशोरीमा रहेको मनोसमस्याको पहिचान गरी आवश्यक सेवा प्रदान गर्ने गरेको शाखाले जानकारी दिएको छ। यसका लागि पाटनको मानसिक अस्पताल, टिचिङ अस्पताल रेफरल केन्द्रको रूपमा तयार गरिएको छ।
प्रकाशित: २३ भाद्र २०८३ ११:५५ मंगलबार



