स्वास्थ्य

आततायी दृश्यले मानसिक स्वास्थ्य खलबलिँदै

सन्दर्भ जेनजी आन्दोलन

कुशासनविरुद्धको दुई दिने जेनजी आन्दोलनले देशलाई परिवर्तनको सम्मुख पुर्‍याएको छ । यसका सकारात्मक र नकारात्मक आयामको विश्लेषण हुँदै जानेछ तर इतिहासका विभिन्न कालखण्डमा भएका आन्दोलनमध्ये यो अलि पृथक र भयावह रहयो ।

तन्नेरी पुस्ताको विद्रोहले सत्ता परिवर्तन मात्र नभएर संविधानको सारमा परिवर्तन र सुशासनलाई अठिलो बनाउने प्रयास गरेको छ । ठुलो मानवीय र भौतिक क्षति पनि आन्दोलनका क्रममा भयो । तर आन्दोलनको रापतापले धेरैको मथिंगल हल्लाएको छ । नेताहरूको प्रतिष्ठा एकाएक गुमेको छ भने आन्दोलनका आततायी दृष्यले आमनागरिकलाई तर्साएको छ ।

१० वर्षे माओवादी द्वन्द्व र कोरोना महामारीबाट तंग्रिँदै गरेको नेपाली समाजमा यतिबेला फेरि जेनजी आन्दोलनले झट्का दिएको छ । जेनजी आन्दोलनका क्रममा भएका आततायी घटनाले फेरि मानिसको मनस्थिति खलबलिएको छ । माओवादी द्वन्द्वका क्रममा छोरा गुमाएकी एक आमाले भदौ २३ गते प्रहरीको गोलीबाट ज्यान गुमाएका जेनजीको शवमा आफ्नो छोराको अनुहार देखिन् । यसले उनको पुरानो घाउ बल्झाएको छ । उक्त घटनापछि राम्ररी सुत्न सकेकी छैनन् । दुई छोराको अगाडि उनलाई बलात्कार गर्दैगर्दा कान्छा छोराले विरोध गरे । विरोध गरेको छोरालाई हानिएको गोलीको स्मरण ताजा भएपछि ती आमा छटपटीमा परेकी हुन् ।

‘मेरो छोरालाई पनि त्यसैगरी (भदौ २३ मा जस्तै) गोली हानेर ढालिएको थियो । भदौ २३ गतेको घटनापछि छोरालाई हानिएको गोलीको आवाज, उसको छटपटी र रगतको आहाल मात्र आँखामा घुमिरहेको छ । आँखा खोल्दा छटपटी हुन्छ, चिम्म गर्दा छोरा चिच्याएको आवाज र उसको तड्पाइ मात्र सुनिन्छ,’ नाम नखुलाउने सर्तमा ती आमाले भनिन् । यतिबेला उनी जस्ता धेरै नेपाली आमा छटपटीमा छन् । उनलाई स्थानीयले सम्झाए पनि मनोचिकित्सकको सहयोग चाहिने भएको छ ।

सात वर्षअघि आर्थिक लेनदेनमा एक महिलाका पतिलाई मारियो । सोही अभियोगमा जेलमा बस्दै आएका अपराधी भदौ २४ गतेको ध्वंसमा जेल फोडेर गाउँ छिरेपछि ती महिला सुरक्षा खोज्दै घरबार छोडेर परिवारसहित सहर पसेकी छन् । ‘एसै जेल उसै जेल । मलाई मुद्दा हाल्नेलाई पनि छप्काउने हो’, जेलबाट भागेका ती कैदीले भनेको भन्दै गाउँलेले सुनाएपछि ती महिला गाउँ छाडेर भागेकी हुन् । करिब १० हजार कैदी जेल छाडेर हिँडेपछि गाउँगाउँमा त्रास पैदा भएको छ ।

‘मानवीय संवेदनालाई ध्यान नदिएरै सम्पादनबिना पोस्ट गरिएका विभत्स दृष्य सामाजिक सञ्जालमा राख्नु लापरबाहीको पराकाष्टा हो । पत्रकारिताको धर्म र मानवीय संवेदनालाई ख्याल नगरी राखिएका विभत्स दृश्यले समाजमा पार्ने नकारात्मक असरबारे आँखा चिम्लेको देखियो,’ डा. अरबिन्द भुसाल भन्छन् ।

काठमाठौं पढ्न गएकी एक किशोरलाई दसैं मनाउन घर फर्किन मन छैन । जेनजी आन्दोलनका क्रममा सहपाठीको रगताम्य शव नजिकबाट देखेका उनी राम्ररी निदाउन पनि सकेका छैनन् । ‘खान मन लाग्दैन, सुत्न निद्रा आउँदैन, पढाइमा ध्यान नै जान्न’, ती किशोरले भने, ‘खै किनकिन यो वर्ष दसैं मनाउन घर फर्किन मन छैन ।’ ज्यान गुमाउने त गइगए तर उनीहरूका साथीभाइले चैनको सास फेर्न पाएका छैनन् ।

जेनजी आन्दोलनपछि मानसिक रुपमा एकदमै नकारात्मक प्रभाव परेको मनोचिकित्सक डा. मोहन बेलवासे बताउँछन् । ‘निको भएका बिरामीहरु पनि भदौ २३ र २४ को घटनापछि फेरि मानसिक समस्या दोहरिएकाले उपचारका लागि आउन थालेका छन् । उनीहरुलाई फेरि सुरुबाटै औषधि चलाउन थालेका छौं’, डा. बेलवासेले भने, ‘बच्चा र महिलामा बढी असर परेको देखिन्छ ।’

न्युज र भ्युजका लागि सम्पादन नगरिएका भदौ २३ र २४ का दृष्यहरु सामाजिक सञ्जालमा आएपछि कमजोर मानिसमा मानसिक समस्या थपिएको हो । डा. बेलवासेले भने, ‘बढी जोखिम सामाजिक सञ्जालले पनि बनायो । सामाजिक सञ्जालमा राखिएका विभत्स दृष्यले समस्या बढाएको देखिन्छ । न्युज र भ्युज बढाउन सम्पादन नगरी राखिएका दृश्यले समस्या जटिल बनायो ।’

अर्का मनोचिकित्सक डा. अरबिन्द भुसाल पनि जेनजी आन्दोलनपछि स्वास्थ्य संस्थामा मानसिक समस्याका बिरामीको चाप बढेको बताउँछन् । ‘आन्दोलनमा प्रत्यक्ष सहभागी भएका र सामाजिक सञ्जालमा विभत्स दृष्य देखेकाहरुको भित्री दिमागमा आघात परेको छ । निदाउन नसक्ने, तर्सिने, डराउने, मुटु ढुकढुक हुने, कुनै पनि काममा ध्यान दिन नसक्ने समस्या धेरैमा देखिएको छ’, डा. भुसालले भने । 

केही समयपछि धेरैमा एन्जाइटी, डिसअडर, डिप्रेसिक डिसअडर हुन सक्ने पनि उनले बताए । उनका अनुसार सामाजिक सञ्जालमा राखिएका विभत्स दृष्यले पनि धेरैलाई सताउन थालेको छ । ‘यो समस्या लामो समय रहन सक्छ । आफैंले आफ्नो समस्या समाधान गर्न नसक्ने अर्थात् भलनरेबल समूहलाई ठुलो जोखिम हुन सक्छ । देशमा मानसिक समस्या झन् बढ्ने सम्भावना छ । धेरैलाई आघात परेको छ ।’

चिकित्सकहरु विभत्स दृश्य सामाजिक सञ्जालमा नराख्न सुझाउँछन् । ‘मानवीय संवेदनालाई ध्यान नदिएरै सम्पादनबिना पोस्ट गरिएका विभत्स दृष्य सामाजिक सञ्जालमा राख्नु लापरबाहीको पराकाष्टा हो । पत्रकारिताको धर्म र मानवीय संवेदनालाई ख्याल नगरी राखिएका विभत्स दृश्यले समाजमा पार्ने नकारात्मक असरबारे आँखा चिम्लेको देखियो,’ डा. भुसाल भन्छन् ‘सामाजिक सञ्जालमा गरिएका पोस्ट निकै खतरनाक थिए । त्यो गर्नै नहुने थियो ।’

नागरिक आवाज ललितपुरका वरिष्ठ मनोविमर्शकर्ता एन्टिना रन्जितले पनि भदौ २३ र २४ को घटनापछि सेवा लिन आउनेको संख्या बढेको बताइन् । ‘मानिसमा चिन्ता बढेको छ । असुरक्षा महसुस हुनुका साथै विश्वासमा कमी आएको छ । धेरैमा त्रास एकदमै बढेको छ’, उनले भनिन्, ‘आन्दोलनको दृष्यले समस्या थपेको हो । जहाँ हुदा पनि पनि मनमा त्यही कुरा आउने, स्वास फेर्न गाह्रो महसुस हुने, छाती भारी हुने, निद्रामा असजिलो हुने र डरलाग्दा सपना देखिँदा धेरैको दिनचर्या असजिलो भएको छ ।’

प्रकाशित: ५ आश्विन २०८२ २०:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App