मलेरियाविरुद्धका औषधिले कम प्रभाव देखाउन थालेको सन्दर्भमा वैज्ञानिकहरूले यसको कारण पत्ता लगाएका छन्। मलेरियाका परजीवीमा भएका नयाँ आनुवंशिक परिवर्तन (उत्परिवर्तन) यसका लागि जिम्मेवार भएको वैज्ञानिक निचोड छ।
अमेरिकाको ब्राउन विश्वविद्यालयका वैज्ञानिकको नेतृत्वमा गरिएको अध्ययनले युगान्डामा मलेरियाबाट संक्रमित सयौं मानिसको रगतबाट लिइएका मलेरिया गराउने परजीवीको सम्पूर्ण आनुवंशिक संरचना (होल जिनोम) अध्ययन गरेको थियो। जिनोम भनेको कुनै जीवभित्र रहेको सम्पूर्ण आनुवंशिक जानकारी हो, जसले उक्त जीवका गुण र व्यवहार निर्धारण गर्छ। वैज्ञानिकहरूले केही मलेरिया परजीवीमा देखिएका आनुवंशिक परिवर्तनका कारण अफ्रिका र अमेरिकामा मलेरिया उपचारका लागि सबैभन्दा बढी प्रयोग हुने औषधिप्रतिको संवेदनशीलता घटेको पत्ता लगाएका छन्। उक्त अध्ययनको नतिजा ‘नेचर मेडिसिन’ जर्नलमा हालै प्रकाशित भएको हो।
‘यी नयाँ आनुवंशिक परिवर्तन निकै छिटो फैलिरहेको देखिनु चिन्ताजनक छ। यसले ती परिवर्तनहरू परजीवी बाँच्न महत्त्वपूर्ण रहेको संकेत गर्छ,’ अध्ययनका लेखक तथा ब्राउन विश्वविद्यालयका सहप्राध्यापक डा. जेफ्री बेलीले उक्त विश्वविद्यालयद्वारा प्रकाशित एक विज्ञप्तिमा भनेका छन्। बेलीका अनुसार अझै पनि विशेष गरी सबसहारा अफ्रिका क्षेत्रमा ठुलो संख्यामा मानिसको मृत्युको कारण मलेरिया रहेको छ।
औषधि प्रतिरोध बढ्दै गएको अवस्थामा मलेरिया नियन्त्रण कार्यक्रम कमजोर हुने र धेरै मानिसको ज्यान जाने जोखिम रहन्छ।
औषधिले किन काम गर्न छोड्छ?
औषधिको प्रतिरोधी क्षमता सामान्यतया ब्याक्टेरिया, भाइरस वा परजीवीबाट हुने रोगको उपचारका लागि औषधि ठुलो स्तरमा प्रयोग गर्दा विकसित हुन्छ। मलेरियाको उपचारमा अफ्रिकामा ठुलो मात्रामा औषधि प्रयोग हुने भएकाले केही परजीवीमा यस्ता आनुवंशिक परिवर्तनको विकास भएको हुन्छ, जसले औषधिको प्रभावबाट उनीहरूलाई बचाउन मद्दत गर्छ।
डा. बेलीका अनुसार त्यसैले वैज्ञानिकहरू रोग फैलाउने जीवमा हुने यस्ता परिवर्तन र औषधिको प्रभावकारिता समयसँगै निगरानी गर्ने प्रणाली विकासमा जुटेका छन्। ब्राउन विश्वविद्यालयको अनुसन्धान टोलीले डिएनएको अध्ययन गरेर मलेरिया परजीवीमा हुने परिवर्तन पहिचान गर्ने ‘जिनोमिक निगरानी प्रणाली’ विकास गर्न महŒवपूर्ण भूमिका खेलेको छ। जिनोमिक निगरानी भनेको रोग फैलाउने जीवको आनुवंशिक परिवर्तन नियमित रूपमा अध्ययन गरेर नयाँ जोखिम पत्ता लगाउने प्रक्रिया हो।
नयाँ तथ्य उजागर
अहिलेसम्म औषधि प्रतिरोधको निगरानी गर्दा वैज्ञानिकहरूले केही पहिचान भएका जैविक संकेतक मात्र हेर्ने गरेका थिए। तर ब्राउन विश्वविद्यालयका अनुसन्धानकर्ता करामोको नियारेले मलेरिया परजीवीको सम्पूर्ण जिनोम अध्ययन गर्ने निर्णय गरे। ‘हामीलाई थाहा थियो कि समयसँगै परजीवीमा परिवर्तन भइरहेको छ र मलेरियाको औषधिले कम काम गर्न थालेको छ तर यसको ठ्याक्कै आनुवंशिक कारण के हो भन्ने हामी जान्न चाहन्थ्यौं,’ नियारेले भने। सम्पूर्ण जिनोम अध्ययन गर्दा परजीवीभित्र भइरहेको परिवर्तनबारे अझ स्पष्ट जानकारी प्राप्त भएको उनको भनाइ छ।
नयाँ आनुवंशिक संकेतक
पछिल्लो दुई दशकदेखि युगान्डामा सामान्य प्रकारको मलेरियाको मुख्य उपचारका रूपमा आर्टेमेथर–लुमेफान्ट्रिन प्रयोग हुँदै आएको छ। यो आर्टेमिसिनिनमा आधारित संयुक्त उपचार (एसिटी) अन्तर्गत पर्ने औषधि हो। एसिटीअन्तर्गत मलेरिया परजीवीलाई मार्न दुई वा बढी औषधि एकसाथ प्रयोग गरिन्छ।
सन् २०२६ सम्म आइपुग्दा अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी) ले अफ्रिकाको यात्राबाट फर्किएका केही मानिसमा सामान्य मात्राको औषधिले पूर्ण रूपमा निको पार्न नसकेको देखिएपछि उपचार अवधि बढाउन सिफारिस गरेको छ। यसले मलेरिया परजीवी औषधिप्रति कम संवेदनशील हुँदै गएको संकेत गरेको छ। अनुसन्धानकर्ताहरूले मलेरिया परजीवीको जिनोममा ६९ वटा जिन रहेको एउटा विशेष क्षेत्र पहिचान गरेका छन्।
थप आनुवंशिक अध्ययनपछि उनीहरूले तीन वटा विशेष उत्परिवर्तन (म्युटेसन) र दुईवटा जिन हराउने परिवर्तन (डिलेसन) को समूहले औषधिको प्रभाव घटाएको देखे।
यी परिवर्तनले आर्टेमिसिनिन, लुमेफान्ट्रिन र अर्को मलेरिया औषधि मेफ्लोक्विनप्रति परजीवीको संवेदनशीलता घटाएको पाइएको थियो। वैज्ञानिकहरूले यी परिवर्तन मुख्य रूपमा ‘पिएक्स–१’ नामक जिनमा भएको पत्ता लगाए।
मलेरियाको संयुक्त उपचारमा प्रयोग हुने औषधिप्रतिको कम संवेदनशीलता कसरी खास जिनमा भएको परिवर्तनसँग अन्तरसम्बन्धित छ भनेर प्रमाणित भएको यो पहिलो पटक हो। ‘लुमेफान्ट्रिन प्रतिरोधसँग सम्बन्धित प्रमाणित आनुवंशिक संकेतक हामीसँग थिएन। हाम्रो अध्ययनले अफ्रिकाभरि मलेरियाका मुख्य उपचार औषधिप्रति कम संवेदनशीलता फैलिँदै गएको निगरानी गर्न सकिने एउटा महत्त्वपूर्ण संकेतक पहिचान गरेको छ,’ नियारेले भने।
थप अध्ययन आवश्यक
वैज्ञानिकहरूले पत्ता लगाएको नयाँ उत्परिवर्तन (म्युटेसन) लाई औषधि प्रतिरोध निगरानी प्रणालीमा समावेश गर्नुपर्ने र थप अध्ययन गर्नुपर्ने बताएका छन्। यो अध्ययन प्रयोगशालामा बिरामीबाट संकलन गरिएका परजीवीमा गरिएकाले भविष्यमा यस्ता परिवर्तन भएका परजीवीले वास्तविक बिरामीमा उपचारको परिणामलाई कसरी असर गर्छन् भन्ने अध्ययन गर्नुपर्ने डा. बेलीले बताए। डा. बेलीका अनुसार यो आनुवंशिक परिवर्तन युगान्डामा तीव्र रूपमा फैलिरहेको देखिएको छ। तर यो युगान्डाबाहिर अन्य देशमा कति फैलिएको छ भन्ने अझै स्पष्ट छैन।
‘यसले औषधि कहिले पूर्ण रूपमा प्रभावहीन हुन सक्छ भन्ने अनुमान गर्ने मोडल विकास गर्नुपर्ने आवश्यकता देखाएको छ,’ बेलीले भने, ‘साथै मलेरियाको उपचारका लागि नयाँ औषधि विकास गर्न तत्काल काम गर्नुपर्ने देखिन्छ।’
यो अनुसन्धानमा अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालय, युगान्डाको इन्फेक्सियस डिजिज रिसर्च कोल्याबोरेसन, क्यालिफोर्निया विश्वविद्यालय सान फ्रान्सिस्को, नर्थ क्यारोलिना विश्वविद्यालय र नोट्रे डेम विश्वविद्यालयका वैज्ञानिकहरूको पनि सहभागिता थियो।
प्रकाशित: ८ भाद्र २०८३ ०७:३० सोमबार