स्वास्थ्य

नेपालमै पहिलो पटक टिचिङमा ‘मेन हेल्थ क्लिनिक’

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ), महाराजगञ्जले पुरुषहरूको प्रजनन तथा यौन स्वास्थ्यसम्बन्धी समस्याको एकीकृत उपचारका लागि नेपालमै पहिलो पटक ‘मेन हेल्थ क्लिनिक’ सञ्चालनमा ल्याएको छ।

अस्पतालको युरोलोजी विभागले गत भदौ महिनादेखि यो विशिष्टीकृत सेवा सुरु गरेको हो। जुन कुनै पनि सरकारी अस्पतालमा पहिलो पटक हो।

यो क्लिनिकमार्फत पुरुषहरूमा देखिने यौन दुर्वलता, बाँझोपन, हर्मोन असन्तुलन, यौन तथा मनोसामाजिक समस्या लगायतका सम्पूर्ण प्रजनन स्वास्थ्यसम्बन्धी समस्याको गोप्य रूपमा एकै ठाउँबाट उपचार गरिनेछ। साताको दुई दिन, सोमबार र मंगलबार, सञ्चालन हुने यो सेवा सुरु भएको दुई सातामै १६ जनाले सेवा लिइसकेका छन्।

अस्पतालका युरोलोजिष्ट तथा एण्ड्रोलोजिष्ट डा. भोजराज लुइँटेलले एण्ड्रोलोजी (पुरुष प्रजनन स्वास्थ्य) मा फेलोसिप गरेपछि यो सेवाको अवधारणा अघि बढाएका हुन्।

उनले भने, ‘महिलाको प्रजनन स्वास्थ्यका लागि धेरै सेवाहरू छन्, तर पुरुषमा हुने बाँझोपना वा यौन दुर्वलता जस्ता समस्या लिएर कहाँ जाने भन्ने अन्योल थियो। अब त्यो समस्या रहनेछैन।’

डा. लुइँटेलका अनुसार, क्लिनिकमा आउने बिरामीको पहिले शारीरिक जाँच गरिन्छ। धेरैजसो यौन समस्याहरूको जड उच्च रक्तचाप, मधुमेह, उच्च कोलेस्ट्रोल जस्ता शारीरिक समस्या हुने भएकाले त्यसको पहिचान गरी उपचार गरिन्छ।

आवश्यक परेमा मधुमेह विशेषज्ञ वा मनोचिकित्सकलाई समेत बोलाएर एकै ठाउँबाट उपचार दिइने हुँदा बिरामीले विभिन्न विभाग धाउनुपर्ने झन्झट हटेको छ।

विभागले पुरुषको अण्डकोषबाट शुक्रकीट निकाल्ने तथा रगतको नली जोड्ने जस्ता जटिल शल्यक्रियाका लागि आवश्यक पर्ने अपरेटिङ माइक्रोस्कोप खरिद गर्ने तयारी पनि गरिरहेको छ।

गत वर्ष मात्रै टिचिङ अस्पतालमा ९३ जना यौन दुर्वलता, ६ जना इन्द्रियमा रगत जाने समस्या र ४ जना शीघ्र स्खलनको समस्या लिएर उपचारका लागि पुगेका थिए।

प्रकाशित: १९ आश्विन २०८२ २०:३३ आइतबार