नेपालगन्जबाट करिब पाँच किमि दूरीमा जानकी गाउँपालिकाको आधारभूत अस्पताल भवन बनेको छ। संघीय सरकारले भवन निर्माण गर्न बजेट पठाएको छ तर १५ शड्ढयाको अस्पताल चलाउन आवश्यक जनशक्ति तथा उपकरण कसरी जोहो गर्ने भन्ने चिन्ता थपिएको छ। एकातिर नेपालगन्जको सीमासँगै जोडिनु, अर्कातिर जनशक्ति र उपकरण व्यवस्थापन गर्न आर्थिक समस्या आउनुले अस्पताल दीर्घकालीन रूपले चल्नेमा यहाँका जनप्रतिनिधि र कर्मचारी ढुक्क छैनन्।
गाउँपालिका आफैंले जनशक्ति र उपकरण व्यवस्थापन गरेर अस्पताल चलाउन नसक्ने गाउँपालिका अध्यक्ष छब्बन खाँ बताउँछन्। ‘हामी आफैंले अस्पताल चलाउन त सम्भव छैन। बजेट मागेको छु। बजेट नआए त गाउँपालिकाले चलाउने स्थिति छैन’, उनले भने।
खजुरा गाउँपालिकाले अस्पताल भवन निर्माण कार्य अन्तिम चरणमा पुर्याएको छ तर भवन निर्माण नहुँदै अस्पताल कसरी चलाउने भन्ने चिन्ताले जनप्रतिनिधि र कर्मचारी पिरोलिन थालेका छन्। गाउँपालिका अध्यक्ष डम्बरबहादुर विक अस्पताल भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको र आगामी मंसिरसम्म अस्पताल सञ्चालनमा ल्याउने बताउँछन्।
उक्त गाउँपालिकामा हाल प्राथमिक स्वास्थ्य केन्द्रले सेवा दिइरहेको छ। एमबिबिएस डाक्टरसहित स्वास्थ्यकर्मी टोलीले प्राथमिक स्वास्थ्य केन्द्रबाट दिइरहेको सेवालाई आधारभूत अस्पतालमा परिणत गर्ने गाउँपालिकाको योजना छ।
नेपालगन्जदेखि करिब सात किलोमिटर दूरीमा बन्न लागेको यस अस्पतालबाट सुत्केरीलक्षित सेवा प्रदान गर्ने अध्यक्ष बिक बताउँछन्। ‘नेपालगन्जबाट नजिक दूरीमा रहेको यो ठाउँमा अस्पताल चलाउन त्यसै पनि चुनौती छ, तर संघीय सरकारको नीति कार्यान्वयन गर्नैपर्यो’, बिकले भने, ‘हामीले यहाँ सुत्केरीलाई केन्द्रित गरेर अस्पताल चलाउने सोच बनाएका छौं।’
नरैनापुर गाउँपालिकाले १५ शड्ढयाको अस्पताल चलाउन भवन निर्माण कार्य सम्पन्न गरिसकेको छ, तर जनशक्ति र आवश्यक उपकरण व्यवस्थापन हुन सकेको छैन। जनशक्ति र उपकरण व्यवस्थापन गरिदिन संघ र प्रदेश सरकारलाई अनुरोध गरेर पठाएको गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाह बताउँछन्। ‘हामीकहाँ भवन त बनेको छ, तर जनशक्ति र उपकरण छैन’, अध्यक्ष शाहले भने, ‘राज्यले जनशक्ति र उपकरणको व्यवस्था गरिदियो भने हाम्रो ठाउँमा आधारभूत अस्पताल चल्न सक्छ।’ यो ठाउँ नेपालगन्जबाट करिब ४० किलोमिटर टाढा छ। वार्षिक रूपमा ४० लाख आन्तरिक आम्दानी हुने गाउँपालिकाले वार्षिक अढाई/तीन करोड खर्च गर्न नसक्ने उनी बताउँछन्।
राप्ती सोनारी गाउँपालिकाले साविकको बैजनापुर स्वास्थ्य चौकीलाई स्तरोन्नति गरेर विगत ५/६ वर्षदेखि अस्पताल सञ्चालन गर्दै आएको छ। एमबिबिएस डाक्टरसहितको सेवा दिँदै आएको उक्त अस्पतालका लागि थप १५ शड्ढयाको भवन निर्माण गरिएको छ, तर भवन निर्माण भए पनि आन्तरिक स्रोतबाट मात्र गाउँपालिकाले अस्पताल चलाउन सक्ने अवस्था छैन। अस्पताल सञ्चालन गर्न गाउँपालिकाले दातृ निकायको सहयोग मागेको अध्यक्ष तप्तबहादुर पौडेल बताउँछन्। ‘अस्पताल चलाउने विषयमा एउटा संस्थासँग प्रक्रिया अगाडि बढाएका छौं। संस्थाबाट सहयोग प्राप्त भए गाउँपालिकालाई आर्थिक भार कम पर्नेछ’, अध्यक्ष पौडेलले भने।
कोहलपुर नगरपालिकाले विगतदेखि नै नगर अस्पताल सञ्चालन गर्दै आएको छ। नगरपालिकाले आधारभूत स्तरको १५ शड्ढयाको अस्पताल चलाउन छुट्टै भवन निर्माण गरिसकेको नगर प्रमुख पूर्णप्रसाद आचार्य बताउँछन्। ‘हामीले अहिल्यै पनि नगर अस्पतालबाट विशेषज्ञ स्वास्थ्य सेवा दिइरहेका छौं। अब पनि नयाँ हिसाबले स्वास्थ्य सेवा प्रदान गर्ने योजनामा छौं’, उनले भने।
वैजनाथ गाउँपालिकाले १५ शड्ढयाको आधारभूत अस्पताल बनाउन भवन निर्माण गर्न सकेको छैन। ठेकेदारले भवन निर्माण कार्यमा ढिलाइ गरिदिँदा तोकिएको समयमा अस्पताल सञ्चालन नहुने गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाही बताउँछन्। ‘ठेकेदारले काममा ढिलाइ गर्दा भवन समयमा बन्न पाएन। हामीले ठेकेदारलाई ताकेता गरिरहेका छौं’, उनले भने, ‘भवन बने पनि अस्पताललाई दीर्घकालीन समयसम्म चलाउन स्थानीय सरकारलाई चुनौती छ।’
स्थानीय सरकारले विकास निर्माणमा खर्च गर्ने बजेट भविष्यमा अस्पताल चलाउनमै खर्च गर्नुपर्ने स्थिति आउने अध्यक्ष शाही बताउँछन्।
डुडुवा गाउँपालिकाले हाल पाँच शड्ढयाको आधारभूत अस्पताल सञ्चालन गरिरहेको छ। गाउँपालिकाले आफ्नै स्रोतबाट अस्पताल चलाइरहेको अध्यक्ष नरेन्द्रकुमार चौधरी बताउँछन्। ‘हामीले आफ्नै स्रोतबाट अस्पताल चलाइरहेका छौं’, उनले भने, ‘अस्पताल चलाउन स्थानीय तहलाई त्यति सजिलो छैन।’
नेपालगन्ज उपमहानगरपालिका कार्यालयले भने आधारभूत अस्पतालको ठाउँमा नगर स्वास्थ्य केन्द्र सञ्चालन गरिरहेको छ। नगर प्रमुख प्रशान्त बिष्ट नगर स्वास्थ्य केन्द्र र उपमहानगरपालिकाका विभिन्न वडामा रहेका बर्थिङ सेन्टरलाई सुविधासम्पन्न गराउने काम गरिएको बताउँछन्। उपमहानगरभित्र रहेको भेरी अस्पताललाई पनि आवश्यक सहायता प्रदान गर्दै आएको उनले सुनाए।
प्रकाशित: १५ श्रावण २०८३ १०:०८ शुक्रबार



