स्वास्थ्य

कलेजो स्वास्थ्य

पुस्तक

‘मेरो मुटुको टुक्रा आँखाको नानी’, ‘कलेजाको टुक्रा’, ‘कलेजाको टुक्रा जतिकै माया गर्छु’ भनेर हामीले धेरै माया गरेकोलाई भन्छौं। तर प्रायः यसको भाव धेरै बुझिन्न।

भारतका एक प्रसिद्ध चिकित्सक डा. सरिनले लेखेको किताबले मलाई कलेजो स्वास्थ्यबारे धेरै कुरा सिकाएको छ। सुन्दा अचम्म लाग्छ, कलेजो एउटा यस्तो अंग हो, यदि यसको ७० प्रतिशत पनि क्षति भएर निकाल्नुपर्‍यो भने यो पुनः सामान्य आकारमा फर्किन्छ। त्यसैले कलेजो दान गर्ने मानिसले आफ्नो स्वस्थ कलेजोको केही भाग दिए पनि उनीहरू स्वस्थ भएर बाँच्छन्।

कसरी कलेजो स्वस्थ रहे सम्पूर्ण शरीरको स्वास्थ्यमा प्रभाव पर्छ भनेर उनले आफ्नो ज्ञान बाँडेका छन्। बिरामीका कथाहरूबाट कसरी कलेजोबारे जनचेतना फैलाउन सकिन्छ भनेर उनले धेरै राम्रा उदाहरण दिएर लेखेका छन्। उनको यो किताब पढेपछि मैले पनि ‘कलेजो स्वस्थ नभएका व्यक्तिको गर्धन हेरेर पनि कलेजोमा केही समस्या छ भन्ने ज्ञान दिन सक्ने सम्भावना छ’ भनेर बुझेँ। आजकल त मैले गर्धन हेरेर केही व्यक्तिलाई सल्लाह पनि दिने गर्छु।

यो किताब पढ्दै गर्दा झन्डै एक वर्षअघि म नेपालगन्जमा एक (मयुरी) तीन पांग्रे वाहनमा बसेको थिएँ। चालकको तौल धेरै थियो। उनको गर्धन पत्रपत्र परेको थियो। मैले उनलाई भनेँ, ‘ए भाइ, तपाईंको तौल धेरै छ, पेट ठुलो छ। तपाईंको गर्धनबाट थाहा हुन्छ कि तपाईंको कलेजोमा बोसो जमेको छ। तपाईंले आफ्नो स्वास्थ्यको ख्याल गर्नुभएन भने त चिनी रोग पनि लाग्ला है, अनि पछि धेरै समस्या पर्ला नि।’

ती चालकले भने, ‘मलाई त चिनीको रोग भइसकेको छ। कलेजोमा बोसो पनि जमेको छ भनेर डाक्टरले भनेको छ तर के गर्ने मेरो त काम नै यस्तो छ। भोक लागि हाल्छ। तौल घटाउन सक्दैन। केही औषधी छैन, खाएपछि तौल घटिहाल्ने? नत्र त मैले तौल घटाउन सकेन।’

मलाई उनको कुरा सुनेर हाँस उठ्यो र भनेँ, ‘त्यस्तो तौल घटाउने औषधी र सुई हुँदैन। सायद अमेरिकामा होला। नेपालमा त आएको छैन तर लाखौं रुपैयाँ पर्छ।’

‘अब के गर्ने, मेरो जीवन यस्तै होला,’ चालकले भने। उनलाई डाक्टरले औषधी गरेर सल्लाह दिएर निको भए कि? वा समस्या परेर सुतेका छन् कि? ती चालकको स्वास्थ्य अवस्था अहिले कस्तो होला? जान्न मन लाग्छ। तर सरिनको किताब पढेपछि मोटो गर्धन देखेर समस्या छ भनेर चाहिँ बुझेको थिएँ।

यो किताबमा उनले एक राजनीतिक नेता र उनको छोराको कथा लेखेका छन्। अति मोटा, गर्धन मोटो, पेट ठुलो, उच्च रक्तचाप र मधुमेह भएका एक नेता उनीकहाँ आउँदा उनका १८ वर्षका छोरा पनि आएका थिए। नेतालाई जाँच गर्दा उनको कलेजोमा ५० प्रतिशतभन्दा बढी बोसो जमेको थाहा भएपछि डा. सरिनले उनलाई तुरुन्त भोजन परिवर्तन गर्ने, जीवनशैली सुधार्ने आदि जानकारी दिए। ‘औषधी त चलिरहेको छ तर औषधीले मात्र तपाईंको समस्या समाधान हुन सक्दैन’ उनले नेतालाई भने।

 नेतासँगै गएका ९० किलोका १८ वर्षका छोरालाई पनि उनले जाँच गर्ने सल्लाह दिए। ‘मलाई के भएको छ र मैले जाँच गर्ने?’ भनेर छोराले नमानेपछि उनले नेतालाई भनेछन्, ‘तपाईंको छोराको जाँच गर्ने सल्लाह दिन्छु। केही समस्या भए अहिले पत्ता लागि हाल्छ। नभए पछि त झन् समस्या पर्ला कि।’

अनि बाबुले छोरालाई जाँच गर्न कर गरे। बाबुको कुरा छोराले सुने। अनि जाँच गर्दा थाहा भयो, छोराको रगतमा मधुमेह हुन सक्ने सम्भावना देखियो। कलेजोमा पनि २० प्रतिशत बोसो जमेको रहेछ। ‘यो अवस्था रहिरह्यो भने पछि धेरै समस्या पर्न सक्ने कुरा अनेक उदाहरण दिएर डा. सरिनले बुझाएपछि छोराले एक वर्षमा १५ किलो तौल घटाएछन्। पत्रु खाना छोडेछन्, स्वस्थ जीवनशैली अपनाएर योगासन र व्यायाम गरेछन्। पछि ती नेतापुत्र डाक्टरकहाँ आउँदा त उनी चिन्नै नसकिने भएका रहेछन्। ‘मलाई उनलाई देखेर खुसी लाग्यो’ सरिनले लेखेका छन्। यस्ता धेरै सफलताका कथा दिएर उनले किताब लेखेको कुरा पढेपछि मलाई लाग्छ - अरूलाई पनि आफ्नो स्वास्थ्य राम्रो पार्न ऊर्जा मिल्छ।

रक्सीले कसरी कलेजोलाई खराबी गराउँछ भनेर उनले भनेका छन्। भारतमा महिलालाई पहिले रक्सी खाएर हुने कलेजोको समस्या धेरै कम हुन्थ्यो। तर अहिले बढेको छ। शारीरिक कारणले गर्दा महिलाको कलेजोमा पुरुषको भन्दा थोरै रक्सी खाए पनि उनलाई धेरै नकारात्मक असर पर्न सक्छ। रक्सीका साथसाथै कसरी पत्रु खानाले चिनी, चिसो पेय पदार्थले अहिले पनि कलेजोमा समस्या पुर्‍याउँछ भनेर उनले लेखेका छन्। महिला स्वास्थ्यमा चासो राख्ने सबैका लागि यो एक ठुलो पाठ हुनसक्छ। आमाले रक्सी खाएर बालबालिकाको स्वास्थ्यमा पनि नकरात्मक असर पर्नसक्छ भनेर उनले धेरै वैज्ञानिक तथ्य उजागर गरेका छन्।

अहिले युवापुस्ता र बालबालिकाको पनि कलेजोमा बोसो जम्ने समस्या बढेको छ भनेर अनेक उदाहरण दिएका छन्। माथि भनिएका समस्यालाई कम गर्न उनले धेरै सहज, सरल सुझाव दिएका छन्। ती उपाय हेर्दा सरल लागे पनि कहिलेकाहीं व्यवहारमा उतार्न गाह्रो परेर केही बिरामीहरू उनीकहाँ आएर कलेजो नै फेर्न परेको घटना पनि उनले लेखेका छन्।

यसरी डा. सरिनको सुझावलाई ध्यानमा राखेर जीवनशैली र भोजन परिवर्तन नगरेर, काममा मात्र खटिएका एक व्यापारीको कथा पनि उनले लेखेका छन्। पछि ती व्यक्तिको कलेजो फेर्नुपर्ने अवस्था आउँदा डा. सरिनले चित्त पनि दुखाएका छन्।

यो किताब स्वास्थ्यमा चासो राख्ने सबै व्यक्तिका लागि अति नै महत्त्वपूर्ण छ। उनले लेखेका छन्– ‘कलेजो एउटा यस्तो अंग हो, जसले जीवनको अन्तिम समयसम्म पनि काम गरिरहन्छ। अपसोच, केही व्यक्तिले यस्तो काम गर्ने अंगलाई रक्सी र बढी पत्रु खाना खाने बानीले खतम गर्छन्।

 ‘कलेजो बिग्रेपछि मधुमेह हुन सक्ने सम्भावना हुन्छ। कलेजोमा बोसो जमेपछि क्यान्सर हुनसक्ने सम्भावना हुन्छ। जीवनमा धेरै गाह्रो हुन्छ। त्यसैले कलेजो जोगाऔं,’ उनले लेखेका छन्, ‘यो किताबमा कलेजो बिग्रेपछि मुटु, मिर्गौला, फोक्सो, आन्द्रा सबै बिग्रने सम्भावना हुन्छ भनेर अनेक उदाहरण दिइएको छ। ‘यदि बच्चाहरूको कलेजोमा समस्या भएपछि उनीहरूलाई मधुमेह, उच्च रक्तचाप हुने सम्भावना धेरै बढ्छ’ उनको भनाइले मलाई लाग्छ - कलेजो स्वस्थ राख्न लेखेको कुरा सबैले मनन गर्नुपर्छ।

यो किताबमा उनले मधुमेहको समस्या भएकाहरूको कलेजोमा पनि जाँच गर्दा समस्या देखिएपछि धेरै सुझाव दिए। कलेजो कसरी स्वस्थ राख्ने भनेर उनले कति जना व्यक्तिको भ्रम ‘कलेजोका लागि टनिक भिटामिन’ भन्ने कुरा खोज्छन् तर त्यस्तो भिटामिन हुँदैन भनेर किताबमा लेखेका छन्। ‘यस्ता खानेकुरा जसले मुटु, मस्तिष्क, मिर्गौला स्वस्थ राख्छ, त्यही खानाले कलेजोलाई पनि स्वस्थ राख्छ’ भनेका छन्। उनले कलेजो पनि सुत्छ भनेका छन्, ‘बेलुकाको खाना छिटै खाएर उसलाई आराम गर्न दिनुपर्छ। जसले कलेजो सधैं स्वस्थ र जवान रहन्छ।’

कलेजोले शरीरका विभिन्न थरीका पाँच सय वटा काम गर्छ। यस्तो मेहनत गर्ने अंग बिग्रियो भने शरीरको कामै हुँदैनन्। कलेजोमा खानेकुराबाट प्राप्त पोषक तत्त्व, भिटामिन, खनिज आदि भण्डारण हुन्छ। भण्डारणले चाहिएको बेला मालसामान निकालेझैं कलेजोले पनि उपवास बस्दा ‘फुत्त फुत्त’ पौष्टिक तत्त्व निकालिरहन्छ। स्वस्थ कलेजो भए रोग प्रतिरोधात्मक शक्ति बढ्छ, शरीरले अनेक संक्रमणसँग लड्न सक्छ। यस्तो अंगलाई कसरी स्वस्थ राख्ने भनेर डा. सरिनले सुझाव दिएका छन्।

प्रकाशित: २५ आश्विन २०८२ ११:२१ शनिबार