स्वास्थ्य

‘वर्षमा एकपटक सबैले मिर्गाैला जाँच गरौं’

बुधबार विश्व मिर्गौला दिवस। नेपालमा पनि विभिन्न चेतनामूलक कार्यक्रम गरी मिर्गौला दिवस मनाइँदै छ। विश्व स्वास्थ्य संगठनले मार्च १० लाई विश्व मिर्गौला दिवसका रूपमा मनाउने घोषणा गरेसँगै नेपालमा पनि हरेक वर्ष यो दिवस मनाउन थालिएको हो। दिवसको यस वर्षको नारा ‘मिर्गौला रोग र बालबालिका, मिर्गौला रोग नियन्त्रणमा तत्काल सक्रिय बनौं’ रहेको छ।

मिर्गाैलाको उपचारको नेपालकै केन्द्र हो, भक्तपुर नगरपालिका वडा नं १ दूधपाटीस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. कल्पनाकुमारी श्रेष्ठ उपचार गरे मिर्गाैला रोगको उपचार सम्भव भएको बताउँंछिन्। त्यसका लागि स्वस्थ मानिसले पनि वर्षमा न्यूनतम एकपटक मिर्गाैला परीक्षण गराउनुपर्ने उनी सुनाउँछिन्। धूमपानको आदत भएका, ५० वर्ष माथिका बयस्क र मिर्गौलामा समस्या भएकाहरूलाई मिर्गौला रोगको खतरा बढी हुने भएकाले ६ महिनामा एकपटक अनिवार्य रूपमा मिर्गौला परीक्षण गर्नुपर्ने उनी औंल्याउँछिन्। ‘मिर्गाैला रोग ट्राफिक जामजस्तै हो’, दिवसको पूर्वसन्ध्यामा बुधबार डा. श्रेष्ठले भनिन्, ‘जसरी ट्राफिक जाम भएपछि पछाडि फर्कन मिल्दैन र अगाडि नै बढ्नुपर्छ, त्यसरी नै मिर्गाैला रोग लागेपछि पछि सर्न नमिल्ने भएर त्यहींबाट मात्रै उपचार सुरु गर्नुपर्ने भएकाले रोग लागिसकेपछि नै पत्ता लगाउनुपर्छ। मिर्गौला रोगको शीघ्र पहिचान तथा र त्यसको समयमै निदान नै मिर्गौला स्वस्थ राख्ने मुख्य उपाय भएको उनी सुनाउँछिन्।

संसारभर १० प्रतिशत मानिस मिर्गौलासम्बन्धी समस्याबाट पीडित रहेको बताइन्छ। यसका आधारमा नेपालमा पनि कुल जनसंख्याको १० देखि १३ प्रतिशत करिब २७ लाख मानिसमा मिर्गौलासम्बन्धी समस्या भएको अनुमान गर्न सकिन्छ। यसमध्ये १० प्रतिशत अर्थात् दुई लाख ७० हजारको मिर्गौला बिग्रने गरेको छ भने प्रत्येक वर्ष तीन हजारको मिर्गौला पूर्ण रूपमा फेल हुने गरेको विश्व स्वास्थ्य संगठनले जनाएको छ।

केही वर्षयता संसारभर मिर्गौला रोगीको संख्या बढ्दै गएको छ। नेपाललगायतका बिकासोन्मुख मुलुकमा पनि मिर्गौला रोगीको संख्या चुनौतीपूर्ण रूपमा बढेको छ। मिर्गौला स्वस्थ्य राख्न हरेक दिन कम्तीमा तीन लिटर पानी पिउनुपर्छ, मधुमेह र उच्च रक्तचापलाई सन्तुलनमा राख्नुपर्छ।

मिर्गौला रोग लागिसकेपछि यसको उपचार महँगो भएकाले समयमै मिर्गौला परीक्षण गरी रोग निदान र उपचार गर्नु बुद्धिमानी हुन्छ।

विलासितापूर्ण जीवन जिउने र सुविधाभोगी जीवनशैलीले मोटोपनासँगै मिर्गौलाका समस्या बढ्दै गएकाले सन्तुलित खाना सरल जीवनशैली र पर्याप्त मात्रामा व्यायाम गर्नुपर्छ। बिहान वा बेलुका कम्तीमा ३० देखि ४५ मिनेट हिँडडुल गर्नु अनिवार्य रहेको चिकित्सकहरू बताउँछन्।

मिर्गौला उपचार सम्भव नभएपछि अर्को बिकल्पका रूपमा प्रत्यारोपण गर्नुपर्ने हुन्छ। नेपालमा मिर्गौला प्रत्यारोपणका लागि सामान्यतः साढे तीन लाखदेखि पाँच लाख रुपैयाँसम्म खर्च हुन्छ। प्रत्यारोपणका लागि मिर्गौलादाता आफ्नो नजिककै नाताबाट हुनुपर्छ, जुन सहज काम होइन। प्रत्यारोपण गरिसकेपछि खाने औषधि र प्रत्यारोपणअघिको डायलाइसिसको खर्चसमेत सामान्य नेपालीले धान्न सक्ने अवस्था छैन।

विश्व मिर्गौला दिवस हरेक वर्ष मार्च महिनाको दोस्रो बिहीबार मनाइन्छ। मिर्गौला स्वास्थ्यका बारेमा जनचेतना फैलाउन, रोगको समयमै पहिचान गर्न र बच्ने उपायहरूका बारेमा जानकारी दिन यो दिवस मनाइन्छ। नेपालमा पनि यो दिन विभिन्न सचेतनामूलक कार्यक्रम र स्वास्थ्य शिविर सञ्चालन गरी मनाइन्छ, जसमा मिर्गौला जोगाउने उपायमा बढी जोड दिइन्छ।

प्रकाशित: २८ फाल्गुन २०८२ ११:५८ बिहीबार