स्वास्थ्य

आफन्त नजिक नहुँदा ‘कुरुवा संकट’

वीर अस्पतालको न्युरो वार्डमा भर्ना भई उपचाररत छन् रोल्पाका बुद्धिराम परियार। बाटोमै बेहोस भएपछि उनलाई वीर अस्पताल पुर्‍याइएको हो। उपचारमा संलग्न चिकित्सक डा. सुनिल कोइरालाका अनुसार उनमा मस्तिष्क ज्वरो (मेनेन्जाइटिस) को संक्रमण छ। भक्तपुरमा अस्थायी बसोबास गरी मजदुरी गर्दै आएका उनलाई साथीभाइले अस्पताल पुर्‍याएका हुन्।

सानैमा पिताको मृत्यु भएको र आमा पनि वृद्धा भइसकेको हुँदा परियारको हेरचाहमा खटिने कोही छैनन्। भारतमा रोजगारीका क्रममा दाजुको मृत्यु भइसकेको छ भने पत्नीले पनि छाडेर विदेश गएपछि उनी एक्ला भएका हुन्। सुरुमा साथीभाइ बसे पनि अहिले बहिनीज्वाइँ कुरुवा बसेका छन्। ज्वाइँ गनबहादुर परियार पनि धेरै दिन बस्न सक्ने अवस्थामा छैनन्। ज्यामी काम गर्दै आएका परियारको आर्थिक अवस्था कमजोर छ। त्यसैले उपचारका लागि आवश्यक औषधि किन्न र परीक्षण गर्न उनले नसकेको वार्डका नर्सहरूले बताए। ‘अस्पतालको क्रिस्टिना (विपन्नलाई औषधि वितरण गर्ने संस्था) बाट औषधि दियौं, अरू किन्नलाई पैसा छैन। पूरा डोज औषधि नभए मेनेन्जाइटिस निको हुन्न,’ वार्डकी नर्स सम्झना श्रेष्ठले भनिन्।

पैसाको अभाव र कुरुवाको कमीको पीडा परियारका लागि थप समस्या बनेको छ। ‘यहाँ हेरचाह गर्ने कोही छैन, अब घरमै लगेर राख्नुपर्छ,’ ज्वाइँ गनबहादुरले भने।

आर्थिक संकटपछि गनबहादुर अपुरो उपचारमै उनलाई घर लैजाने तयारीमा छन्। ‘पैसा नभएपछि के गर्नु ?’ उनले भने, ‘अब घरमै लगेर राख्नुबाहेक उपाय छैन।’

सोही वार्डको अर्को शय्यामा उपचाररत सिरहाका ९० वर्षीय रामसेवक यादवकी कुरुवा उनकै जेठी बुहारी रिंकु यादव छिन्। रामसेवकलाई मस्तिष्कघात भएपछि १२ दिनअघि रामसेवकलाई उपचारका लागि वीर अस्पताल लगिएको हो। मस्तिष्कघातपछि रामसेवक हिँडडुल गर्न सक्दैनन्। उनका दुवै छोरा विदेशमा भएकाले घरमा रहेका दुई बुहारी पालैपालो कुरुवा बस्दै आएका छन्। सुरुमा कान्छी बुहारी हिरादेवी यादव र त्यसपछि जेठी बुहारी रिंकु कुरुवा बनेका हुन्। उठबस गर्न नसक्ने यादव ओछ्यानमै दिसापिसाब गर्छन्। ससुराको ‘डाइपर’ फेर्नेदेखि शौच सफा गर्नेसम्म र राति कुर्नेसम्मको काम रिंकुले नै गर्दै आएकी छन्। ‘छोराहरू विदेशमा भएकाले यो सबै काम मैले नै गरें,’ उनले भनिन्।

रामसेवक बिरामी भएर तीन पटक अस्पताल भर्ना भइसकेका छन्। डेंगी लाग्दा र अघिल्लो पटक मस्तिष्कघात हुँदा पनि हेरचाहको जिम्मेवारी बुहारीकै भागमा परेको थियो। डेंगी लाग्दा आफ्नो रगत दिएर ससुरालाई बचाएको रिंकु सुनाउँछिन्। बिरामी पुरुष मान्छे मात्र नभएर नाताले ससुरासमेत भएकाले रिंकुका लागि कुरुवा बस्नु सजिलो काम भने छैन। परिवारमा सासूससुराको हेरचाह गर्दा त्यही संस्कार अर्को पुस्ताले सिक्ने भएकाले आफूले खुसीपूर्वक यी सबै काम गरेको रिंकु बताउँछिन्। ‘ससुराले हामीलाई भएको धनसम्पत्ति जोडिदिनुभएको यही बुढेसकालका लागि त हो,’ उनले भनिन्।

सोही वार्डमा भर्ना भई एक महिनाअघि डिस्चार्ज भएका कीर्तिपुरका ८० वर्षीय एक बिरामीका लागि उनकी वृद्धा पत्नी लामो समय कुरुवा बनेकी थिइन्। घरका दुवै छोराछोरी विदेशमा भएपछि वृद्धा पत्नी आफैं कुरुवा बनेको वार्डका नर्सहरूले सुनाए।

घरमा धेरै हेरचाह गर्ने मान्छे नभएपछि क्याबिनमा भर्ना भएका दीर्घरोगीका कुरुवा आफैं पीडित बन्ने गरेको नयाँ क्याबिनकी नर्सिङ इन्चार्ज सविता कार्कीले बताइन्। वीर अस्पतालको क्याबिनमा भर्ना भएका ६४ वर्षीय मन्जिर चित्रकारको केही दिनअघि मृत्यु भयो। उनी दुई वर्षदेखि क्यान्सरबाट पीडित थिए। यति लामो अवधिसम्म कुरुवा भने उनकी पत्नी मात्र बनिन्। भएका दुवै छोराछोरी विदेशमा भएकाले पत्नी मात्र एक्ली कुरुवा बन्न विवश थिइन्। छोराछोरी छोटो अवधिका लागि आएर फर्किन्थे। मृत्युको एक साताअघि छोरा आए र अन्तिम समयमा बिरामी बुवालाई साथ दिए। बाँकी समय पत्नी एक्लै खटिएको क्याबिनकी नर्सिङ इन्चार्ज सविता कार्कीले जानकारी दिइन्।

क्याबिनमा कुरुवा अभावमा एक्लै खटिने धेरै कुरुवा छन्। हुनेले केयरगिभर पनि पठाउँछन्, नहुने आफैं खट्छन्। बिरामीको हेरचाह गर्दागर्दै आफैं बिरामी पर्ने गरेको नर्सहरू सुनाउँछन्। कुरुवा नभएपछि क्याबिनमा भर्ना भएका कतिपय बिरामीका लागि केयरगिभरलाई कुरुवाको जिम्मा दिने चलन पनि बढेको नर्स कार्कीले बताइन्। उनले भनिन्, ‘कोही नाता पर्ने हुन्छन्, कोही पैसा तिरेर लिएका कुरुवा पनि हुन्छन्।’

पैसा तिरेर राखिएका कुरुवा सरकारी अस्पतालको तुलनामा निजी अस्पतालमा बढी भेटिने गरेको जनस्वास्थ्यविद् डा. लक्ष्मी तामाङ बताउँछिन्। ‘आमा बिरामी हुँदा मेडिसिटीमा थुप्रै केयर गिभरले बिरामी हेरेको देखें,’ सदस्य कम भएका परिवारतर्फ संकेत गर्दै उनले भनिन्।

वृद्धा तथा महिला कुरुवा बढी मारमा

परिवारमा सदस्य कम भएपछि पछिल्लो समय वृद्धाको कुरुवा वृद्धा पत्नी बन्ने गरेको वीर अस्पताल न्युरोलोजी विभागका प्रमुख डा. सुनिल कोइराला बताउँछन्। ‘पक्षाघात, क्यान्सरजस्ता बिरामीको कुरुवा एउटै व्यक्ति, त्यो पनि वृद्धा उमेरकै हुन्छन्,’ उनले भने।

 परिवारका सदस्य पैसा आर्जन गर्न घरबाहिर जाने क्रममा घरमा सक्रिय जनसंख्या नहुँदा पाका उमेरका व्यक्ति मर्कामा परेको डा. कोइरालाले बताए। घरमा कुरुवाको पालो दिने मान्छे नपाएपछि एक वर्षअघि बुवाको कुरुवा बनेकी एक छोरीले कुनै उपाय नलागेपछि पत्र लेखेर बुवालाई अस्पतालमै एक्लै छाडेको दृश्य डा. कोइरालाको मनमा ताजै छ।

उनका अनुसार भएका दुवै छोरा विदेशमा रहेका एक बुवाको कुरुवा नभएपछि उनी अस्पतालमा एक्लै बनेका थिए। ‘विवाह गरेकी छोरी थिइन्, उनको घरमा सानो बच्चा थियो। कुनै उपाय नभएपछि मलाई पत्र लेखेर बुवा अस्पतालमै छोडेर गएकी थिइन्,’ उनले घटना स्मरण गर्दै भने।

डा. कोइरालाका अनुसार सक्रिय उमेर समूह कुरुवा बन्नुपर्नेमा पाका उमेरका महिला तथा वृद्ध पुरुषसमेत कुरुवा बन्नुपर्ने अवस्थाले परिवारको संरचना परिवर्तन भइरहेको अनुभूति भएको छ। उनी भन्छन्, ‘दश–पन्ध्र वर्षदेखि यता कुरुवाको समस्या बढ्दै गएको देखिन्छ।’

डेढ दशकअघिसम्म परिवारभित्रकै सदस्य कुरुवा बन्ने चलन रहेको नेपालमा पछिल्लो समय कम हुँदै गएको छ। न्युरोलोजी तथा इन्डोक्राइन वार्डमा भर्ना भएका बिरामीमध्ये ३० प्रतिशत कुरुवा नहुने, कुरुवाको अभावमा बेवारिसे हुने र भइहाले एकल कुरुवा हुने गरेको नर्स सम्झना श्रेष्ठ बताउँछिन्। क्याबिनमा भर्ना भएकामध्ये चार जना द्वितीय कुरुवाको भरमा भर्ना हुने गरेको क्याबिनका नर्सहरूले बताए। ‘मन्दिरबाट ल्याएको भनेर आफन्त पर्नेले छोडेर जान्छन्,’ नर्स श्रेष्ठले भनिन्। घरमा सक्रिय जनशक्ति नभएपछि महिला तथा वृद्धाहरू बिरामीको हेरचाहमा खटिने गरेको डा. तामाङ बताउँछिन्। ‘९० प्रतिशत हेरचाहमा खटिने महिलाहरू हुन्,’ उनले भनिन्।

एकल परिवार र वैदेशिक रोजगारीले संकट

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले पछिल्लो समय समाजमा कुरुवाको अभाव हुँदै गएको महसुस भएको बताए तर कुरुवाको कमीबारे मन्त्रालयसँग कुनै तथ्यांक तथा अध्ययन भइनसकेको उनको भनाइ छ।

जनस्वास्थ्यविद् लक्ष्मी तामाङ नेपालमा जनसंख्याको आकारमा आएको परिवर्तनको प्रभाव बिरामीका कुरुवादेखि अन्य संरचनामा पर्न थालेको बताउँछिन्। ‘नेपालमा जनसांख्यिक लाभांश घटेको छ,’ उनले भनिन्।

उनको विचारमा नेपालमा सन् २००२ देखि सुरु भएको सुरक्षित गर्भपतन सेवाको परिणाम जनसंख्यामा परेको छ। सेवा सुरु भएयताको २० वर्षको अवधिमा अर्को पुस्ताको निर्माण भइसक्दा बुढ्यौली जनसंख्याको आकार बढी, सक्रिय जनसंख्याको आकार कम हुनु, एकल परिवारको संख्या बढ्दै जानु र भएका युवाशक्ति पनि विदेश जाने क्रमले सक्रिय जनसंख्या घटेको छ। ‘सुरक्षित गर्भपतनका कारण भ्रूणको छनोट गरी बच्चा जन्माउने प्रवृत्तिले जन्मदर घटेको छ,’ उनले भनिन्, ‘घरको एउटा बच्चासमेत विदेश जान्छन्, घरमा बिरामी कुर्ने युवा छैनन्।’ काठमाडौंकै हकमा हेर्ने हो भने आमाबुवालाई केयर होममा पठाउने चलन बढ्दै गएको तामाङ बताउँछिन्।

तामाङका अनुसार अस्पतालमा पुगेका थुप्रै कुरुवा निश्चित अवधिका लागि पैसा तिरेर राखिए पनि उनीहरूका बारेमा अध्ययन नभएको स्थिति छ। पैसा नहुने परिवारका हकमा घरमा रहेकी महिलामाथि परिवार व्यवस्थापनदेखि बिरामीको हेरचाहसम्मको भार पर्ने गरेको उनको विश्लेषण छ।

कुरुवा व्यवस्थापन राज्यको दायित्व

बिरामी कुरुवाको बोझ व्यक्तिगत रूपमा पर्दै गएको स्थिति रहेकाले यसको व्यवस्थापनबारे राज्यले सोच्ने र बहस गर्ने समय आएको डा. सुनिल कोइराला बताउँछन्।

विशेषगरी गम्भीर तथा दीर्घरोगी र वृद्ध बिरामीको हकमा राज्यले केयर होम तथा अस्पतालभित्रै कुरुवा व्यवस्थापन गर्ने नीति अवलम्बन गरेर समाधान गर्न सकिने उनको सुझाव छ। यसका लागि व्यापारिक वर्गले सामाजिक उत्तरदायित्वस्वरूप यस्ता होमहरू स्थापना गर्न सकिने उनी सुझाउँछन्। बिरामी भएपछि लगानी गर्नुभन्दा बिरामी हुन नदिन राज्यले लगानी गर्नुपर्ने उनको सुझाव छ।

डा. लक्ष्मी तामाङले कुरुवा नभएका र भएका दुवै बिरामीका हकमा कुरुवाबिना नै सेवा दिने व्यवस्था गर्नुपर्ने भएकाले अब नेपालले त्यस्तो सेवाको नीति तथा कार्यक्रम बनाएरै अघि बढ्नुपर्ने सुझाइन्। नागरिकले जम्मा गरेको आयकर स्वास्थ्य तथा सामाजिक सुरक्षामा लगानी गरेर नागरिकलाई सुरक्षा प्रदान गर्नुपर्ने र राज्यले चाहेको खण्डमा यो सम्भव रहेको तामाङको भनाइ छ।

समाजशास्त्री विश्वकर्माको विचारमा बदलिँदो समस्याको समाधानका लागि परिवार र राज्य दुवैले जिम्मेवारीका साथ नीति तथा उपाय खोज्न सक्नुपर्छ। विदेशमा आर्जन गरेकाहरूले वृद्ध बुवाआमा तथा बिरामीका लागि निश्चित रकम देशमा संकलन गरी राज्यलाई जिम्मेवार बनाउने र राज्यले नीति बनाएरै लागु नगरी नहुने स्थिति आइसकेको विश्वकर्माले बताए। उनले भने, ‘केयर होम, वृद्धाश्रमको खाका बनाएरै अघि बढ्नुपर्छ।’

प्रकाशित: २२ श्रावण २०८३ ०८:१८ शुक्रबार