स्वास्थ्य

जापनिज इन्सोप्लाइटिशबाट तीन महिनामा १५ जनाको मृत्यु

गत वर्ष भन्दा बढी संक्रमित

चालु वर्षको जेठदेखि यता भदौभित्रमा  जापनिज इन्सोप्लाइटिसबाट १५ जनाको मृत्यु भएको छ । ती मध्ये तीन जनाको पछिल्लो महिनामा मृत्यु भएको हो । भदौ २ गते  चितवनका युवाको मृत्यु भएको हो ।  

मृत्यु हुनेहरूमा धेरैजसो तराइ भेगको रहेको परिवार कल्याण महाशाखाको तथ्याङ्क छ । मृत्यु हुनेमा कोशी प्रदेशबाट ३,मधेसबाट ३, बाग्मीतबाट ३, गण्डकीबाट १, लुम्बिनीबाट ४ र सुदूरपश्चिमबाट १ जना छन् । सन् २०२४ मा कुल मृत्यु संख्या २५ जना थिए भने यो वर्ष दुई महिनाकै अवधिमा १५ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ४८ जना पुरुष छन् भने ३६ जना महिला छन् ।  

गत वर्षको तुलनामा यो वर्ष संक्रमित संख्या पनि धेरै देखिएको महाशाखाका खोप शाखाका प्रमुख डा. अभियान गौतमले बताए । गत वर्ष अर्थात सन् २०२४ मा कुल संक्रमित संख्या ८६ रहेकोमा यो वर्ष संक्रमण अवधि तीन महिना बाँकी रहँदा नै ८४ जना पुगिसकेका छन् ।  

संक्रमण हुने थप तीन महिना अघि नै यो संख्यामा हुनु भनेको संक्रमित दोब्बर हुन सक्ने जोखिम रहेको डा. गौतम बताउँछन् । ‘ संक्रमण हुने महिना थप तीन महिना बाँकी छ, यो वर्ष आधा अवधिमै गत वर्षको जतिकै संक्रमण देखा परेको छ ’ उनले भने । गत वर्ष अगस्टको दोस्रो सातासम्म  ३२ जना संक्रमित थिए भने यो वर्ष ४२ जना पुगिसकेका छन् । हालसम्म २८ वटा जिल्लामा जापनिज इन्सोप्लाइटिस संक्रमण फैलिसकेको छ । धेरैजसो तराइका जिल्लाहरू छन् ।

यसको पछि यकिन कारण नभए पनि महाशाखाले अपनाएको खोजपड्ताल तथा सचेतना अभियानको परिणाम बिरामी पहिचान हुन थालेको या जलवायु परिवर्तनको असर कारण हुन सक्ने उनको अनुमान छ । ‘ महाशाखाले खोज कार्यक्रम पनि सशक्त बनाएको छ, मौसम परिवर्तनको असर पनि हुन सक्छ’ उनले भने ।  

चिकित्सकको अनुसार क्युलेक्स  स्पाइसिस  नामक सेतो रङको लामखुट्टेले टोकेमा यो रोगको संक्रमण हुन्छ । संक्रमित सुँगुर, जङ्गली चराहरू, हाँस र घोडालाई टोकेर  मानिसलाई टोकेमा मानिसमा संक्रमण हुन्छ ।  यो लामखुट्टे बिहान झिसमिसे र साँझपख सक्रिय हुन्छ ।  

यो लामखुट्टेले जापनिज इन्सुप्लाइटिश नामक भाइरस संक्रमित गराएपछि मानिसमा विभिन्न जटिल लक्षणहरू देखिन्छ । यो लामखुट्टे धानखेत या पोखरी,दलदले पानी नजिक, हाँस फार्म  नजिक घर भएका मानिसलाई बढी मात्रामा टोक्ने गर्छ र संक्रमित हुन्छन् । यो रोगको संक्रमण भएपछि ज्वरो आउने, टाउको दुख्न,वाकवाकी लाग्ने, कमजोरी महसुस हुने हुन्छ । मस्तिष्कमा संक्रमण भई मस्तिष्कको अनुसन्तलजन्य लक्षण पनि देखिन्छ ।  यो रोगको संक्रमण भएमा स्नायुमा असर गर्छ । संक्रमित भएका  मध्येमा १५ देखि ३० प्रतिशतको मृत्यु हुन्छ ।बाच्न सफल भएकाहरू जीवनभर कुनै न कुनै प्रकारको अपाङ्गता हुने चिकित्सक औल्याउँछन ।  

डा. अभियानका अनुसार तराई भेगमा पानी जम्ने पोखरी, धानखेत, हाँस पालन  घरदेखि नजिक भएको र अव्यवस्थित रुपमा पालिने कारण बढी  संक्रमण हुने गरेको महाशाखाको तथ्याङ्कमा उल्लेख छ । जसमा संक्रमित हुनुको कारण ६६ प्रतिशत धानखेत र नजिक तथा अव्यवस्थित बङ्गुर पालन रहेको छ । बङ्गुर र धान खेती यो लामखुट्टेको मुख्य वासस्थान भएकोले कृषक तथा व्यवसायीले बंंगुर तथा हाँस पालन गर्दा जालीको प्रयोग गर्ने र घरदेखि केही टाढाको दूरीमा पाल्ने गर्नाले संक्रमणको जोखिम कम हुने डा. गौतमले सुझाए । उनले भने, ‘ पालिहाल्नु परेमा जनवार र हाँसलाई लामखुट्टेको टोकाइबाट जोगाउन सके मानिसमा पनि संक्रमण हुने सम्भावना कम हुन्छ’ उनले भने । यसको साथै शरीर छोप्ने लुगा लगाउने, घरमा लामखुट्टे धपाउने औषधी या झुलको प्रयोग गर्ने जस्ता सावधानी अपनाएर बच्न सकिने उनको सुझाव छ ।  

प्रकाशित: ८ भाद्र २०८२ १४:३३ आइतबार