स्वास्थ्य

वित्तीय सुरक्षाको संकल्पसहित ‘युएचसी’ दिवस मनाइँदै

फाइल तस्बिर: नागरिक

‘स्वास्थ्यमा सर्वव्यापी पहुँचका लागि वित्तीय सुरक्षा’ भन्ने मूल नाराका साथ शुक्रबार ‘स्वास्थ्यमा सर्वव्यापी पहुँच दिवस’ मनाइँदै छ।

दिवसको अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै सबै नागरिकलाई आर्थिक कठिनाइबिना गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच पुर्‍याउने प्रतिबद्धता दोहोर्‍याएको छ।

‘सुलभ स्वास्थ्य सेवा : हाम्रो चाहना’ भन्ने राष्ट्रिय संकल्पका साथ सरकारले यो दिवस मनाउन लागेको हो।

मन्त्रालयका निर्देशक डा. पवन जंग रायमाझीद्वारा जारी विज्ञप्तिमा स्वास्थ्यमा सर्वव्यापी पहुँचले नागरिकलाई गरिबीको रेखाबाट माथि उठाउन मद्दत गर्ने उल्लेख छ।

‘सबै समुदायका मानिसले आर्थिक कठिनाइबिना स्वास्थ्य प्रवर्द्धनदेखि रोकथाम, उपचार, पुनः स्थापना र स्याहारसम्मका सेवा पाउनु नै स्वास्थ्यमा सर्वव्यापी पहुँच हो,’ विज्ञप्तिमा भनिएको छ।

मन्त्रालयले नेपालको संविधान र जनस्वास्थ्य सेवा ऐनमार्फत नागरिकको आधारभूत स्वास्थ्य सेवा निःशुल्क पाउने र आकस्मिक उपचार सेवामा पहुँचको मौलिक हक सुनिश्चित गर्न विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ।

सरकारले स्थानीय तहका सबै वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र, पालिकास्तरमा आधारभूत अस्पताल र सातवटै प्रदेशमा विशेषज्ञ सेवा दिने आधुनिक अस्पताल निर्माणको कामलाई प्राथमिकता दिएको छ।

यस्तै, ७७ वटै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम विस्तार गरिएको र विपन्न नागरिकका लागि कडा रोगको उपचारमा सहुलियत दिइएको मन्त्रालयले जनाएको छ।

दुर्गम क्षेत्रमा टेलिमेडिसिन सेवामार्फत पनि स्वास्थ्य पहुँच बढाइएको उल्लेख छ।

सरकारले स्वास्थ्य क्षेत्रमा व्याप्त असमानता हटाउन र सर्वव्यापी पहुँच हासिल गर्न विशेष मार्गचित्र तयार गरी रणनीतिक कार्ययोजना अघि बढाएको जनाएको छ।

नागरिकको आवश्यकता र क्षमताका आधारमा स्वास्थ्य बीमा कार्यक्रमलाई परिमार्जन गर्ने, स्वास्थ्य सेवा प्रदायकको कार्यसम्पादन प्रभावकारी बनाउने र स्वास्थ्य संस्थाहरूको क्षमता अभिवृद्धि गर्ने नीति मन्त्रालयले लिएको छ।

निर्देशक डा. रायमाझीले स्वास्थ्यमा सर्वव्यापी पहुँचको लक्ष्य प्राप्तिका लागि नीति निर्माता, व्यवस्थापक, शैक्षिक प्रतिष्ठान, साझेदार निकाय र आम जनसमुदायलाई सरकारको अभियानमा हातेमालो गर्न आह्वान गरेका छन्।

प्रकाशित: २५ मंसिर २०८२ २१:२१ बिहीबार