विकसित देशको तुलनामा नेपालमा छारेरोगीको संख्या धेरै रहे पनि उनीहरू सबै उपचारमा नआउने गरेको चिकित्सकहरू बताउँछन्। अन्तर्राष्ट्रिय आकलित तथ्यांकअनुसार प्रति एक हजारमध्ये ८ जनामा छारे रोग हुन्छ। वीर अस्पतालमा प्रतिदिन २० जना यस्ता बिरामी उपचारार्थ आउने गरेका छन्।
यो हिसाबले प्रति महिना औसत २ सय ४० जना उपचारमा पुग्छन् भने प्रति वर्ष २८ सय ८० जना छारेरोगका बिरामी उपचारमा आइपुग्छन्, तर समुदायमा योभन्दा धेरै संख्यामा छारे रोगी रहेका र उनीहरू उपचारमा नआएको वीर अस्पतालका न्युरोलोजिस्ट डा. सुनिल कोइराला बताउँछन्।
डा. कोइरालाका अनुसार अस्पतालमा रोगका कारण दुर्घटनामा परेपछि र छारेरोग लागेको १५/२० वर्ष बितेपछि उपचारमा पुग्ने गरेका छन्। यो हिसाबले समुदायमा उल्लेख्य बिरामी रहेको उनको विश्लेषण छ। उनी भन्छन्, ‘बिरामी अहिले पनि छारेरोग भएको १२/१५ वर्षपछि मात्र उपचारमा आइरहेका छन्। छारेरोगले दुर्घटनामा परी चोटपटक लागेपछि रेफर भएर उपचार गर्न यता आएका छन्’, उनले भने।
समाजमा अहिले पनि काम्नु, मुखबाट फिँज छाड्नु र जिब्रो टोक्ने लक्षण भएमा मात्र छारेरोग रोग हो भन्ने गलत बुझाइ र छारेरोग देउता लागेर हुन्छ भन्ने रुढीवादी मान्यताका कारण सबै उपचारमा नपुगेको उनको अनुभव छ। ‘अहिले पनि छारेरोग लागेपछि धामी–झाँक्रीकै भर पर्छन्’, उनले भने।
‘एमए तहको अध्ययन सकेपछि मात्र एकजना महिला उपचार गर्न आइन्, उनलाई छारेरोग भएको १५ वर्ष बितिसकेको थियो’, उनले भनिन्।
विभिन्न कारणले हुने संक्रमण, चोटपटकका क्रममा मस्तिष्क कोषमा ठोक्किन गई केही समयका लागि मस्तिष्कको काममा अवरोध हुने अवस्थालाई छारेरोग भनिन्छ। मधुमेहका बिरामी, टाउकोमा गम्भीर चोटपटक लागेका व्यक्ति, खाना या पानीका माध्यमबाट रगत हुँदै मस्तिष्कमा टेपवर्म (नाम्लेकीरा) को अन्डा पुगेमा र मस्तिष्क ज्वरो आएको व्यक्तिमा छारेरोग हुन्छ।
छारे रोग लागेमा व्यक्तिअनुसार फरक–फरक लक्षण देखिन्छ। चक्कर लाग्नु, मुखबाट फिँज आउनु, एक छिन नरोकिने गरी हाँसो उठ्नु, अकस्मात जिब्रो चलाउने जस्ता लक्षण देखिन्छ।
कतिपय छारेरोगीमा हाँसो नियन्त्रण गर्न नसक्ने, आफैं टोलाउने, टाउको झुकाउनेजस्ता लक्षण देखिन्छ। बच्चा उमेरमा लडेको छ भने मस्तिष्कमा दाग रहेमा पछि गएर छारे रोग लाग्न सक्छ। यस्तो लक्षण देखिएमा समयमै बच्चालाई छारेरोगको उपचार गर्नुपर्ने चिकित्सक सुझाउँछन्। यीमध्ये कुनै पनि एकदुई प्रकारका लक्षण देखिएमा छारे रोग हो भनी पहिचान गर्न सकिने र उपचारमा जानुपर्ने चिकित्सक बताउँछन्, तर अझै पनि विकट समाजमा छारे रोगलाई रुढिवादी रूपमा बुझ्दा धेरैको समयमै उपचार हुन नसकेको चिकित्सक बताउँछन्।
विकसित देशको तुलनामा नेपालमा कम मात्र छारेरोगको संक्रमण हुने गरेकोमा यो रोगका बिरामी कमै मात्र उपचारमा पुग्ने गरेको चिकित्सक बताउँछन्। चोटपटकका कारण मस्तिष्कमा लाग्ने चोट, सफाइको कमीका कारण पानी या खानाका माध्यमबाट मस्तिष्कमा लार्भा पुग्नु, मधुमेह, मस्तिष्क ज्वरोको संक्रमण उल्लेखनीय संख्यामा वृद्धि हुनुजस्ता कारणले नेपालमा छारेरोगको स्थिति विकसित देशको तुलनामा बढी देखिन्छ।
छारे रोग भएका बिरामी काम गर्दा, हिँड्दा जुनसुकै बेला पनि चक्कर लागेर दुर्घटनामा पर्ने भएकाले समयमै उपचार गरे मात्र उनीहरूलाई जोखिमबाट बचाउन सकिन्छ। नेपालमा यो रोगको उपचार विशेषज्ञ अस्पताल र प्रादेशिक अस्पतालहरूमा समेत हुने गर्छ। केन्द्रीय अस्पतालहरूमा न्युरोलोजिस्टहरूले यो रोगको उपचार गर्छन्। अन्य अस्पतालको हकमा तालिमप्राप्त एमबिबिएस चिकित्सक, आवासीय एमडी चिकित्सकले उपचार गर्न सक्छन्, तर प्रभावकारी उपचार भने न्युरोलोजिस्टहरूबाटै सम्भव हुन्छ।
नेपालमा जनचेतना र सफाइको कमीका कारण छारेरोग नियन्त्रण हुन सकेको छैन। ‘पानी उमालेर खाने चलन अहिले पनि छैन। हरिया धनियाँ र सागपात राम्रोसँग सफा नगरी खाने चलनले पनि खानाका माध्यमबाट टेपवर्म मस्तिष्कमा पुग्ने गर्छ’, डा. कोइरालाले भने।
तर समयमै उपचारमा आउने, चिकित्सकको निर्देशनमा मात्र औषधी सेवन गर्ने, मधुमेह तथा मस्तिष्क ज्वरो नियन्त्रणमा राखेमा छारेरोगबाट छुटकारा पाउन सकिने चिकित्सकको सुझाव छ। यसका साथै शुद्धीकरण गरेको पानी पिउने, काँचो फलफूल तथा सागपात सफा गरेर मात्र खाने, सकेसम्म पकाएर खानेकुरा खाने गरेमा छारेरोगबाट बच्न सकिने चिकित्सक सुझाउँछन्।
प्रकाशित: १६ कार्तिक २०८३ ०९:११ सोमबार