नेपाल–चीन सीमावर्ती रसुवामा गत भदौ १० गते आएको विनाशकारी बाढीले हिमाली क्षेत्रमा बढ्दो विपद् जोखिमसँगै मानव स्वास्थ्यमा पर्न सक्ने गम्भीर असरप्रति ध्यानाकर्षण गराएको छ। बाढीले बस्ती, सडक, पुल र अन्य पूर्वाधारमा क्षति पुर्याउनुका साथै खानेपानी, स्वास्थ्य सेवामा पहुँच, खाद्य सुरक्षा र मानसिक स्वास्थ्यमा समेत जोखिम निम्त्याउन सक्ने विज्ञहरूले बताएका छन्।
चिकित्सा क्षेत्रको प्रतिष्ठित अन्तर्राष्ट्रिय जर्नल ‘द ल्यान्सेट’मा अक्टोबर १६ मा प्रकाशित ‘चाइना–नेपाल बोर्डर क्याटास्ट्रोफिक फ्लड्स: अ प्लानेटरी हेल्थ अलार्म’ शीर्षकको पत्राचारमा विज्ञहरूले हिमाली वातावरणमा भइरहेको परिवर्तन र मानव स्वास्थ्यबिचको अन्तरसम्बन्धलाई उजागर गरेका छन्। उनीहरूले हिमाली विपद्लाई तत्कालीन मानवीय र भौतिक क्षतिमा मात्र सीमित नराखी पृथ्वीको प्राकृतिक प्रणाली, जनस्वास्थ्य र समुदायको जीविकोपार्जनसँग जोडेर हेर्नुपर्ने बताएका छन्।
मन्दिरा लामिछाने धिमाल, कमल विश्वकर्मा, कृष्णप्रसाद शर्मा, मेघनाथ धिमाल र एन्थोनी कोस्टेलो सहभागी पत्राचारले हिन्दुकुश हिमालय क्षेत्रमा बढ्दो जलवायु जोखिम तथा हिमताल विस्फोटबाट आउन सक्ने बाढीको खतरालाई औंल्याएको छ।
विज्ञहरूका अनुसार यस्ता विपद्को प्रभाव तत्काल देखिने विनाशभन्दा परसम्म पुग्न सक्छ। सुरक्षित खानेपानीको अभाव, स्वास्थ्य संस्थासम्म पुग्न कठिनाइ, सरसफाइमा समस्या र जीविकोपार्जन गुमाउँदा प्रभावित समुदायको स्वास्थ्य तथा सामाजिक सुरक्षामा दीर्घकालीन असर पर्न सक्छ।
सातदेखि आठ मिनेटमै सीमासम्म बाढी
पत्राचारमा उल्लेख भएअनुसार भदौ १० को बाढीको गति प्रतिघण्टा १८८ किलोमिटरसम्म पुगेको थियो। स्रोतबाट करिब २० किलोमिटर दुरी पार गर्दै बाढी सातदेखि आठ मिनेटमै रसुवागढीस्थित नेपाल–चीन सीमामा पुगेको विवरण छ।
यति छोटो समयमा बाढी सीमावर्ती क्षेत्रमा पुग्नुले हिमाली विपद्को पूर्वानुमान, पूर्वसूचना प्रवाह र तत्काल उद्धार कार्यमा रहेका चुनौतीलाई देखाउँछ। जोखिमयुक्त क्षेत्रमा रहेका बासिन्दा, सुरक्षाकर्मी, व्यापारी तथा यात्रुलाई सुरक्षित स्थानमा सार्न पर्याप्त समय नपाइन सक्छ। यस्तो अवस्थामा समयमै सूचना प्राप्त हुनु र त्यसअनुसार सुरक्षित स्थानमा जान सक्ने व्यवस्था हुनु जीवनरक्षाका लागि निर्णायक हुन्छ।
हिमाली क्षेत्रमा हिमताल विस्फोटबाट आउने बाढी (ग्लेसियल लेक आउटबस्र्ट फ्लड–ग्लोफ) पनि गम्भीर जोखिमका रूपमा रहेको विज्ञहरूले औंल्याएका छन्। हिमनदी पग्लिएर बनेका तालमा जम्मा भएको पानी प्राकृतिक बाँध फुट्दा वा अन्य कारणले अचानक बाहिर निस्किए तल्लो तटीय क्षेत्रमा विनाशकारी बाढी आउन सक्छ। नेपाल, चीन र भारतका कोसी, गण्डकी तथा कर्णाली नदी बेसिनमा गरिएको अध्ययनले सम्भावित जोखिमयुक्त ४७ हिमताल पहिचान गरेको छ।
तीमध्ये २५ चीनको तिब्बत क्षेत्रमा, २१ नेपालमा र एउटा भारतमा छन्। यी तालको नियमित निगरानी र जोखिम न्यूनीकरणका उपाय आवश्यक छन्।
हिमाली क्षेत्रमा आउने यस्ता विपद्ले बस्ती र सडकमा क्षति पु¥याउनुका साथै जलविद्युत् आयोजना, सञ्चार प्रणाली, व्यापारिक मार्ग र अत्यावश्यक सेवामा अवरोध सिर्जना गर्न सक्छन्। पूर्वाधारमा क्षति पुग्दा राहत तथा उद्धारमा कठिनाइ हुने र प्रभावित समुदायको पुनःस्थापना प्रक्रिया लम्बिने जोखिम रहन्छ।
बाढीपछि जनस्वास्थ्यमा थप जोखिम
बाढीले सडक, पुल र सञ्चार सञ्जालमा क्षति पुर्याउँदा दुर्गम बस्तीका बासिन्दालाई अस्पताल तथा स्वास्थ्य संस्थासम्म पुग्न कठिन हुन्छ। स्वास्थ्यकर्मीलाई औषधि, उपकरण र अन्य अत्यावश्यक सामग्री पुर्याउन पनि समस्या आउन सक्छ। नियमित उपचारमा निर्भर दीर्घरोगी, गर्भवती तथा सुत्केरी महिला र बालबालिका यस्तो अवरोधबाट विशेष रूपमा प्रभावित हुन सक्छन्।
खानेपानीका मुहान र वितरण प्रणालीमा क्षति पुगे पानी दूषित हुने जोखिम बढ्छ। बाढीको पानीमा ढल, पशुजन्य फोहोर र अन्य प्रदूषक मिसिएमा झाडापखाला तथा पानीबाट सर्ने रोग फैलिन सक्ने सम्भावना हुन्छ। सुरक्षित शौचालय, सरसफाइ र पर्याप्त आश्रयको अभावले विस्थापित परिवारको स्वास्थ्यमा थप असर पार्न सक्छ।
बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, गर्भवती र दुर्गम क्षेत्रमा बसोबास गर्ने समुदाय विपद्का बेला बढी जोखिममा पर्न सक्छन्। स्वास्थ्य सेवा अवरुद्ध हुँदा बालबालिकाको खोप, गर्भवतीको नियमित परीक्षण र दीर्घरोगको उपचारसमेत प्रभावित हुन सक्छ। विपद्को असर शारीरिक स्वास्थ्यमा मात्र सीमित हुँदैन। परिवारका सदस्य गुमाउनु, घरबार नष्ट हुनु र जीविकोपार्जनको आधार गुमाउनुजस्ता घटनाले मानिसको मानसिक स्वास्थ्यमा गहिरो असर पार्न सक्छ।
प्रभावित व्यक्तिमा डर, चिन्ता र तनाव देखिन सक्ने भएकाले राहत तथा पुनःस्थापनाका कार्यक्रमसँगै मनोसामाजिक सहयोगलाई पनि प्राथमिकता दिन आवश्यक हुन्छ। यद्यपि भोटेकोसी बाढीपछि कति मानिसमा रोग, मानसिक स्वास्थ्य समस्या वा अन्य स्वास्थ्य असर देखियो भन्ने निष्कर्ष निकाल्न छुट्टै अध्ययन र प्रमाणित तथ्यांक आवश्यक हुन्छ। सम्भावित स्वास्थ्य जोखिमलाई घटनापछि पुष्टि भएका असरका रूपमा प्रस्तुत गर्न नमिल्ने भएकाले निरन्तर स्वास्थ्य निगरानी महत्त्वपूर्ण हुन्छ।
जलवायु परिवर्तन र हिमाली अस्थिरता
हिन्दुकुश हिमालयलाई एसियाको महत्त्वपूर्ण जलस्रोत क्षेत्र मानिन्छ। यहाँका हिमनदी, हिमताल र नदी प्रणालीमा आउने परिवर्तनले खानेपानी, कृषि, जलविद्युत् र जैविक विविधतामा असर पार्न सक्छ। यसको प्रभाव हिमाली बस्तीमा मात्र सीमित नभई नदीका तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने समुदायसम्म फैलिन सक्छ।
तापक्रम वृद्धिले हिमनदी पग्लने प्रक्रिया तीव्र बनाउन सक्छ। जमेको माटो तथा चट्टानको स्थिरता कमजोर हुनु र भिरालो भूभाग अस्थिर बन्नु पनि हिमाली जोखिमसँग जोडिएका विषय हुन्। यस्ता वातावरणीय परिवर्तन भौगर्भिक अवस्था र अन्य प्राकृतिक प्रक्रियासँग मिल्दा बाढीपहिरो तथा अन्य विपद्को जोखिम बढ्न सक्छ तर कुनै एक विपद्को प्रत्यक्ष कारण जलवायु परिवर्तन नै हो भन्ने निष्कर्ष निकाल्न घटनाविशेषको वैज्ञानिक अध्ययन आवश्यक हुन्छ। भोटेकोसी बाढीले भने बदलिँदो हिमाली वातावरणमा जोखिमको निगरानी, वैज्ञानिक अनुसन्धान र पूर्वतयारीलाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखाएको छ।
‘प्लानेटरी हेल्थ’ अर्थात् पृथ्वी र मानव स्वास्थ्यबिचको अन्तरसम्बन्धले प्राकृतिक प्रणालीको अवस्था र मानिसको स्वास्थ्यलाई अलग गरेर हेर्न नसकिने मान्यता अघि सार्छ। वातावरणीय अस्थिरताले पानी तथा खाद्य सुरक्षादेखि जीविकोपार्जन र स्वास्थ्य सेवासम्म असर पार्न सक्ने भएकाले विपद् व्यवस्थापनमा यी पक्षलाई एकीकृत रूपमा सम्बोधन गर्नुपर्नेमा विज्ञहरू जोड दिन्छन्।
नेपाल–चीन सहकार्य अपरिहार्य
नेपाल र चीनबिच हिमाली विपद्को निगरानी, वैज्ञानिक तथ्यांक आदानप्रदान र आपत्कालीन सूचना प्रणालीमा सहकार्य आवश्यक छ। सीमावर्ती हिमाली भूभाग तथा नदी प्रणालीमा उत्पन्न हुने जोखिमले दुवै देशका समुदायलाई असर गर्न सक्ने भएकाले सूचना आदानप्रदान र उद्धार प्रणालीलाई समन्वित बनाउनुपर्ने देखिन्छ।
हिमनदी र हिमतालको नियमित निगरानी, जोखिमयुक्त क्षेत्रमा पूर्वसूचना प्रणालीको विस्तार तथा स्थानीय समुदायलाई समयमै सूचना पुर्याउने संयन्त्र आवश्यक छ। पूर्वसूचना प्रणाली स्थापना गर्नु मात्र पर्याप्त हुँदैन, सूचना बुझ्न सकिने भाषामा उपलब्ध गराउने, सुरक्षित स्थानसम्म पुग्ने मार्ग पहिचान गर्ने र नियमित अभ्यास गराउने व्यवस्था पनि हुनुपर्छ।
स्वास्थ्य संस्थाको विपद् तयारीलाई पनि प्राथमिकता दिनुपर्छ। सडक तथा पुल अवरुद्ध हुँदा वैकल्पिक मार्गबाट औषधि र स्वास्थ्य सामग्री पुर्याउने व्यवस्था, आकस्मिक उपचार सेवा निरन्तर सञ्चालन गर्ने योजना र सुरक्षित खानेपानी तथा सरसफाइ प्रणालीको संरक्षण आवश्यक हुन्छ।
विपद्पछिको पुनर्निर्माणमा सडक, पुल र अन्य भौतिक संरचनासँगै अस्पताल, खानेपानी, सरसफाइ तथा समुदायको मानसिक स्वास्थ्यलाई समेत प्राथमिकतामा राख्नुपर्छ। हिमाली जोखिमको वैज्ञानिक अध्ययन, आधुनिक निगरानी प्रविधि र पूर्वसूचना प्रणाली विस्तारका लागि नेपालजस्ता जोखिममा रहेका देशलाई प्राविधिक तथा वित्तीय सहयोग आवश्यक छ।
भोटेकोसी बाढीले दिएको सन्देश स्पष्ट छ– हिमाली विपद् व्यवस्थापनलाई उद्धार र राहतमा मात्र सीमित राखेर जोखिम न्यूनीकरण गर्न सकिँदैन। जलवायु अनुकूलन, जनस्वास्थ्य सुरक्षा, पूर्वसूचना र क्षेत्रीय सहकार्यलाई एकीकृत रूपमा अघि बढाउनुपर्छ। हिमालको प्राकृतिक प्रणाली सुरक्षित राख्नु त्यहाँ बसोबास गर्ने मानिसको स्वास्थ्य र जीवन सुरक्षासँग प्रत्यक्ष जोडिएको विषय हो।
प्रकाशित: ९ कार्तिक २०८३ १०:२० सोमबार