स्वास्थ्य

काठमाडौंमा डेंगु संक्रमण बढ्दो, भदौ-असोजमा उच्च जोखिमको चेतावनी

काठमाडौं उपत्यकामा डेंगुका बिरामीको संख्या बढ्न थालेपछि बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

यस वर्ष देशभर ६० हजारभन्दा बढी मानिस संक्रमित हुन सक्ने अनुमान गरिएको भन्दै मन्त्रालयले समयमै सचेत रहन अपिल गरेको हो।

मन्त्रालयले शुक्रबार भक्तपुरमा आयोजना गरेको पत्रकारसँगको अन्तरक्रियामा उपत्यकाका तीनै जिल्ला र प्रदेशभर नै डेंगुका बिरामीको संख्या उकालो लागेको जानकारी दिएको हो।

तथ्यांकअनुसार, चालू महिना (जेठ/असार) मा मात्रै भक्तपुरमा ३६, काठमाडौंमा ३२ र ललितपुरमा २७ जनामा डेंगु संक्रमण पुष्टि भएको छ। बागमती प्रदेशका १३ जिल्लामा यो संख्या ४४१ पुगेको छ।

कार्यक्रममा मन्त्रालयका स्वास्थ्य सचिव डा. सुमित्रा गौतमले साउनदेखि संक्रमण बढ्दै जाने र भदौ-असोजमा चरम विन्दुमा पुग्ने बताइन्।

‘डेंगु केस बढ्न सक्ने कुरालाई नकार्न सकिँदैन, अबको चार महिना हामी उच्च जोखिममा रहनेछौं,’ उनले भनिन्।

डा. गौतमले डेंगुको समस्या दशकौंसम्म रहन सक्ने भन्दै यसको नियन्त्रणका लागि दीर्घकालीन तयारी आवश्यक भएकोमा जोड दिइन्।

बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले रोग लागेपछि उपचार गर्नुभन्दा रोकथाम नै उत्तम उपाय भएको बताउँदै सरकार योजनाबद्ध रूपमा रोकथामका कार्यक्रममा लागिरहेको जानकारी दिए।

विज्ञहरूका अनुसार सहरी क्षेत्रमा अव्यवस्थित फोहोर व्यवस्थापन र जथाभावी जम्मा भएको पानी डेंगु फैलिनुको प्रमुख कारण हो। घरवरपर राखिएका ड्रम, पुराना टायर, गमला र खाल्डाखुल्डीमा जमेको सफा पानी एडिस एजेप्टाई र एडिस एल्वोपेक्टस प्रजातिका लामखुट्टेका लागि मुख्य प्रजनन स्थल हुन्।

चिकित्सकहरूका अनुसार सरकारी तथ्यांकमा देखिएभन्दा दशौं गुणा बढी बिरामी समुदायमा हुन सक्ने अनुमान छ।

‘१० हजार मानिसलाई डेंगु हुँदा १ हजारमा मात्र लक्षण देखिन्छ। लक्षण नदेखिएका ९ हजार व्यक्तिले पनि लामखुटे मार्फत् अरूलाई रोग सार्न सक्छन्,’ कार्यक्रममा वितरित जानकारीमा उल्लेख छ।

लक्षणविहीन संक्रमितहरूका कारण समुदायमा रोग फैलिरहेकाले हालको संख्या कम भन्दैमा ढुक्क नहुन र सरसफाइ तथा लामखुट्टेको लार्भा नष्ट गर्ने अभियानमा लाग्न मन्त्रालयले सबैलाई आग्रह गरेको छ।

प्रकाशित: २८ असार २०८२ २१:४४ शनिबार