वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई झण्डै ४८ लाख रुपैयाँ बराबरको आवश्यक मेडिकल सामग्री तथा उपकरणहरू प्रदान गरिएको छ। काठमाडौंस्थित पेस्ट प्रो सोलुसन प्रालिले प्रतिष्ठानलाई सामग्री प्रदान गरेको हो।
प्रालिका तर्फबाट प्रोप्राइटर सुप्रिया माझी बनेपाली र दीपक बनेपालीले उक्त सामग्रीहरू प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर बिक्रमप्रसाद श्रेष्ठलाई हस्तान्तरण गरेका हुन्। हस्तान्तरण गरिएका सामग्रीहरूमा प्रतिष्ठानको दैनिक उचार सेवामा प्रयोग हुने विभिन्न मेडिकल उपकरण तथा सर्जिकल सामग्रीहरू रहेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रवक्ता प्राध्यापक डाक्टर शमसेर श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
उनका अनुसार प्रतिष्ठानमा बिरामीको चाप बढ्दो क्रममा रहेको र आर्थिक संकटका कारण कतिपय स्वास्थ्य सामग्रीहरूको अभाव खट्किरहेको अवस्थामा प्राप्त सामग्रीले सेवा प्रवाहमा सहयोग पुग्नेछ।
सहयोग हस्तान्तरणका क्रममा दाता दीपक बनेपालीले आफू धरानकै स्थायी बासिन्दा भएको नाताले आफ्नो ठाउँको प्रतिष्ठानको सेवामा योगदान पुर्याउन सहयोग गरेको बताए। उपकुलपति श्रेष्ठले आर्थिक संकटमा रहेको प्रतिष्ठानलाई निजी क्षेत्रबाट प्राप्त सहयोगले बिरामीको उपचारलाई थप सहज र प्रभावकारी बनाउने बताए।
प्रकाशित: १७ चैत्र २०८२ १४:५० मंगलबार