स्वास्थ्य

भारी वर्षाको पूर्वानुमानपछि स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन

फाइल तस्बिर : स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता

सम्भावित भारी वर्षा र त्यसबाट बाढी, पहिरो तथा डुबानको जोखिम बढ्न सक्ने भन्दै स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन र आवश्यक पूर्वतयारी गर्न निर्देशन दिइएको छ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार जल तथा मौसम विज्ञान विभाग र विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त जानकारीअनुसार कार्तिक १२ देखि १४ गतेसम्म देशका विभिन्न स्थानमा चट्याङ, हावाहुरीसहित मध्यमदेखि भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। त्यसलाई ध्यानमा राख्दै स्वास्थ्य सेवाको तयारी र विपद् प्रतिकार्य क्षमता सुदृढ बनाउन आग्रह गरिएको हो।

यस सम्बन्धमा स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाईले सातै प्रदेशका प्रादेशिक स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रलाई पत्राचार गरेको छ। इकाईका प्रमुख डा. हेमन्त चन्द्र ओझाले जारी गरेको पत्रमा आवश्यक स्वास्थ्य सेवा र प्रतिकार्य क्षमता तयारी अवस्थामा राख्न भनिएको छ।

पत्रअनुसार प्रत्येक प्रदेशमा चौबिसै घण्टा सम्पर्कमा रहने एक जना आपतकालीन सम्पर्क व्यक्ति तोक्नुपर्नेछ। उक्त व्यक्तिको सम्पर्क विवरण इकाईमा उपलब्ध गराउनुका साथै सार्वजनिक गर्न पनि आग्रह गरिएको छ।

त्यसैगरी, सम्बन्धित हब तथा स्याटलाइट अस्पताल सञ्जालसँग समन्वय गरी आकस्मिक चिकित्सकीय टोली (ईएमटी) सहित आवश्यक स्वास्थ्य जनशक्तिलाई तयारी अवस्थामा राख्न भनिएको छ। स्वास्थ्य क्षेत्रका साझेदार निकायसँग समन्वय गरेर उपलब्ध जनशक्ति, औषधि, स्वास्थ्य सामग्री, उपकरण, एम्बुलेन्स तथा अन्य स्रोतसाधनको विवरण अद्यावधिक गर्न पनि निर्देशन दिइएको छ।

एम्बुलेन्स र स्वास्थ्य सामग्री तयारी अवस्थामा राख्न आग्रह
विपद्का बेला घाइते तथा प्रभावित नागरिकलाई समयमै उपचार उपलब्ध गराउन प्रदेशमा रहेका एम्बुलेन्स प्रेषण केन्द्रसँग निरन्तर समन्वय गर्नुपर्ने पत्रमा उल्लेख छ। एम्बुलेन्स सेवालाई सहज, छिटो र प्रभावकारी रूपमा परिचालन गर्ने व्यवस्था मिलाउन पनि आग्रह गरिएको छ।

स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाईले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित घटना र अवस्थाको विवरण दैनिक रूपमा अनिवार्य पठाउन निर्देशन दिएको छ। यसका लागि ‘जिरो रिपोर्टिङ’ वा ‘इन्सिडेन्ट रिपोर्टिङ’ प्रणाली प्रयोग गर्न सबै प्रदेशका केन्द्रलाई आग्रह गरिएको छ।

सम्भावित विपद्का बेला स्वास्थ्य सेवा प्रभावित हुन नदिन, आवश्यक जनशक्ति र स्वास्थ्य सामग्रीको उपलब्धता सुनिश्चित गर्न तथा प्रभावित क्षेत्रमा तत्काल स्वास्थ्य सेवा पुर्‍याउन यी तयारीलाई प्राथमिकतामा राखिएको मन्त्रालयले जनाएको छ।

प्रकाशित: ११ कार्तिक २०८३ १०:०६ बुधबार