स्वास्थ्य

पार्किन्सन्सको उपचारमा थप अनुदान बढाउन जोड

नेपालमा पार्किन्सन्सका बिरामीको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएकाले सो रोगबारे जनचेतना अभिवृद्धि गर्न तथा बिरामी र हेरचाहकर्तालाई उपचार, पुनस्र्थापना र रोग व्यवस्थापनमा ध्यान दिनुपर्ने विज्ञहरुले सुझाव दिएका छन्।

अन्तर्राष्ट्रिय पार्किन्सन्स तथा मुभमेन्ट डिसअर्डर सोसाइटीको सहयोगमा सेन्टर फर रिसर्च पोलिसी एन्ड इम्प्लिमेन्टेसन, विराटनगर र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको स्नायु रोग विभागले आयाजना गरेको कार्यक्रममा विज्ञले बिरामी, परिवार र स्वास्थ्यकर्मीबीच रोगबारे साझा बुझाइ आवश्यक रहेको बताए।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालका उपनिर्देशक प्राध्यापक डा गोपाल सेढाईँले नेपालमा पार्किन्सन्स रोगसम्बन्धी जनचेतना विस्तार, उपचार तथा बिरामी व्यवस्थापन उत्कृष्ट बनाउन बहुविशेषज्ञ मञ्च गठन गर्नुपर्नेमा जोड दिए।

उनले भविष्यमा बिरामीलाई बहिरङ्ग तथा अन्तरङ्गसेवामा सहज पहुँच पाउने गरी थप काम गर्नुपर्ने आवश्यकता औँल्याए।

स्नायु रोग विशेषज्ञ डा राजीव ओझाले पार्किन्सन्स रोगको बढ्दो प्रचलन, यसका विभिन्न जोखिम कारक, रोगका क्लिनिकल लक्षण तथा नेपालमा उपलब्ध उपचार विधिबारे जानकारी दिए।

डा मनकुमार तामाङले यस रोगको उपचारसम्बन्धी उपलब्ध क्लिनिकल परीक्षणबारे जानकारी गराए। न्युरोसर्जन डा अमित प्रधानाङ्गले डिप ब्रेन स्टिमुलेसनको सङ्केत र परिणामबारे प्रस्तुति दिनुभएको थियो भने जेरियाट्रिसियन डा ऊर्जा भट्टराईले पार्किन्सन्स रोगसँगै देखिने बहुरोगावस्था तथा रोग व्यवस्थापनमा शारीरिक गतिविधि र पोषणको आवश्यकतामा जोड दिए।

छलफलका क्रममा अभियन्ता बनिता खनालले बिरामीले अपोइन्टमेन्ट (समय) पाउन र पार्किन्सन्स रोगका औषधि प्राप्त गर्न भोग्नुपरेका कठिनाइबारे सुनाए।

नेपालमा अझै धेरै औषधि उपलब्ध नभएकाले सरकारले तिनको सहज पहुँच सुनिश्चित गर्न प्रक्रिया अघि बढाउनुपर्ने उनको भनाइ थियो।

बिरामीका हेरचाहकर्तालाई सरकारले दिँदै आएको रु एक लाखको सहयोग पनि सीमित भएकाले बढाउनुपर्ने बताए।

यस्तै, डिप ब्रेन स्टिमुलेसनको खर्च महँगो भएकाले अधिकांश पार्किन्सन्स बिरामीको पहुँचमा नभएकाले सरकारले थप अनुदान उपलब्ध गराउनुपर्नेमा जोड दिए। 

प्रकाशित: ८ मंसिर २०८३ १३:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App