स्वास्थ्य

अल्पआयुमै हुने मृत्यु रोक्न विश्वव्यापी संकल्प: यस्तो छ राष्ट्रसंघको नयाँ स्वास्थ्य रणनीति

विश्वभरि नै जनस्वास्थ्यको गम्भीर चुनौतीका रूपमा देखा परेका नसर्ने रोग तथा मानसिक स्वास्थ्य समस्याको नियन्त्रणका लागि पहिलो पटक विश्वव्यापी रूपमै उच्चस्तरीय राजनीतिक प्रतिबद्धता घोषणा गरिएको छ।

संयुक्त राष्ट्रसंघको १७ औं महासभाका क्रममा विश्वका नेताहरूले जनस्वास्थ्यका यी जटिल आयामहरूलाई सम्बोधन गर्न ऐतिहासिक ऐक्यबद्धता जाहेर गरेका हुन्।

गत सेप्टेम्बर २५ मा सम्पन्न संयुक्त राष्ट्रसंघको नसर्ने रोगहरूको रोकथाम र नियन्त्रण सम्बन्धी चौथो उच्चस्तरीय बैठकले गरेको गहन छलफल र निष्कर्षलाई महासभाले ठूलो उपलब्धिको रूपमा अंगीकार गरेको छ।

यो बैठकले नसर्ने रोग र मानसिक स्वास्थ्य समस्याको न्यूनीकरण, रोकथाम र उपचारमा विश्वव्यापी सहकार्यको खाँचो औंल्याएको थियो।

कोभिड–१९ महामारीले विश्वको स्वास्थ्य प्रणालीमा पारेको प्रभावलाई मध्यनजर गर्दै भविष्यमा आइपर्ने यस्तै किसिमका अन्य स्वास्थ्य जटिलताहरूलाई सम्बोधन गर्ने उद्देश्यले यो नयाँ प्रतिबद्धता जाहेर गरिएको संघले जनाएको छ।

घोषणा पत्रमा नसर्ने रोगको परिभाषा र दायरालाई फराकिलो बनाइएको छ। नयाँ प्रतिबद्धता अनुसार अब नसर्ने रोगको सीमाभित्र मुख, फोक्सो, कलेजो, र मिर्गौला सम्बन्धी रोगहरूलाई विशेष प्राथमिकताका साथ समेटिएको छ।साथै, बालबालिकामा देखिने क्यान्सर र अन्य दुर्लभ प्रकृतिका रोगहरूलाई पनि यसै दायराभित्र राखेर सम्बोधन गरिनेछ।

परम्परागत स्वास्थ्य जोखिमका अलावा यो प्रतिबद्धताले वातावरणीय र आधुनिक जीवनशैलीका चुनौतीहरूलाई पनि उजागर गरेको छ।

वातावरणीय प्रदूषण र हानिकारक रसायनहरूको नियन्त्रण गर्दै नागरिकका लागि स्वच्छ र सफा खानाको सुनिश्चितता हुनुपर्ने विषयलाई जोडदार रूपमा उठाइएको छ।

विशेषगरी, पछिल्लो समय तीव्र रूपमा बढिरहेको डिजिटल प्रविधिको प्रयोगले जनस्वास्थ्यमा पारिरहेको नकारात्मक असरलाई पनि यस पटक सम्बोधन गरिएको छ।

प्रतिबद्धता पत्रमा डिजिटल असर नियन्त्रणका लागि सामाजिक सञ्जाल प्रयोगको अवधि (स्क्रिन टाइम) र त्यसका सीमाहरूमा नियमन तथा नियन्त्रण गर्नुपर्ने विषयलाई समेत प्राथमिकताका साथ समेटिएको छ।

नयाँ स्वरूपमा उत्पादन तथा बिक्री वितरण भइरहेका जनस्वास्थ्यका लागि हानिकारक वस्तुहरूको नियन्त्रणमा पनि विश्व समुदाय एकमत देखिएको छ। यसअन्तर्गत ई–सिगरेट र खानामा पाइने हानिकारक चिल्लो पदार्थ ‘ट्रान्सफ्याट’ को प्रयोगलाई नियन्त्रण गर्ने नीति लिइनेछ।

साथै, बालबालिकाहरूले अत्यधिक उपभोग गर्ने अस्वस्थकर खानाको विज्ञापनमा समेत रोक लगाउने वा नियन्त्रण गर्ने विषय प्रतिबद्धतामा समावेश गरिएको छ।

विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले यस कदमको स्वागत गर्दै भनेका छन्, ‘नसर्ने रोग तथा मानसिक स्वास्थ्य नियन्त्रणका लागि सदस्य राष्ट्रहरूले आफ्ना नागरिकको स्वास्थ्य रक्षा र जीवनको गुणस्तर सुधारका लागि अत्यन्तै बलियो र महत्वपूर्ण लक्ष्य लिएका छन्।’

राजनीतिक प्रतिबद्धताले केवल घोषणा मात्र नगरी सन् २०३० सम्ममा हासिल गर्नुपर्ने स्पष्ट र मापनयोग्य लक्ष्यहरू समेत निर्धारण गरेको छ। जसलाई अनिवार्य रूपमा पूरा गर्नुपर्ने दायित्व सदस्य राष्ट्रहरूको हुनेछ। तय गरिएका प्रमुख लक्ष्यहरू यस प्रकार छन्।

यस्तो छ सन् २०३० सम्मका लागि ‘८०–६०–८०’ को महत्वाकांक्षी लक्ष्य

नीति तथा ऐन निर्माण: कम्तीमा ८० प्रतिशत देशहरूले नसर्ने तथा मानसिक रोगको नियन्त्रण र रोकथामका लागि वर्षभरि नै लागू हुने गरी ठोस राष्ट्रिय नीति तथा ऐन निर्माण गरिसक्नुपर्नेछ।

पूर्वाधार र सेवा विस्तार: विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार ८० प्रतिशत आधारभूत अस्पताल तथा प्राथमिक स्वास्थ्य केन्द्रहरूमा नसर्ने रोग र मानसिक स्वास्थ्य उपचारका लागि आवश्यक औषधि तथा उपकरणहरूको व्यवस्थासहित सेवा उपलब्ध हुनुपर्नेछ।

बजेट र नीतिगत व्यवस्था: ६० प्रतिशत सदस्य राष्ट्रहरूले नसर्ने रोग तथा मानसिक स्वास्थ्य सेवाको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक बजेट विनियोजन र नीतिगत व्यवस्थाहरू गरिसक्नुपर्नेछ।

राष्ट्रिय योजनामा समावेश: कम्तीमा ८० प्रतिशत देशहरूले आफ्नो मूल राष्ट्रिय योजना वा विकासका खाकाहरूमा नसर्ने रोग तथा मानसिक स्वास्थ्यको विषयलाई समेटी नीति तथा योजना निर्माण गरिसक्नुपर्नेछ।

तथ्यांक र निगरानी: यसका साथै, ८० प्रतिशत देशहरूले आफ्नो देशमा मानसिक स्वास्थ्य तथा नसर्ने रोगको विद्यमान स्थितिबारे अध्ययन–अनुसन्धान गरी यथार्थ तथ्यांक खोजी गर्ने लक्ष्य पूरा गरेको हुनुपर्नेछ।

विश्व स्वास्थ्य संगठनले नसर्ने रोग तथा मानसिक स्वास्थ्य सुधारका लागि यो स्तरको राजनीतिक प्रतिबद्धता इतिहासमै पहिलो भएको जनाएको छ।

संघद्वारा जारी लिखित वक्तव्यमा भनिएको छ, ‘दिगो विकास लक्ष्य २०३० मा पुग्नका लागि यो एउटा भिन्न र महत्वपूर्ण अवसर हो।’ वर्तमान शताब्दीमा विश्वभरका विभिन्न उमेर समूह, वर्ग र फरक आय भएका मानिसहरूका लागि नसर्ने रोग सबैभन्दा ठूलो चुनौती बनेको संगठनको निष्कर्ष छ।

संघको तथ्यांक अनुसार हाल विश्वमा मृत्युको मुख्य कारण नै नसर्ने रोगहरू बनेका छन्। विश्वमा प्रतिवर्ष करिब १ करोड ८८ लाख मानिसको नसर्ने रोगकै कारण अल्पआयुमै मृत्यु हुने गरेको छ।

त्यसैगरी, मानसिक स्वास्थ्य समस्याका कारण विश्वका अर्बौं मानिसहरू प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रभावित भइरहेका छन्।

अस्वस्थकर खानपान, सुर्तीजन्य पदार्थको सेवन, मदिरापान, निष्क्रिय जीवनशैली र वायु प्रदूषण जस्ता जोखिम तत्वहरूले शारीरिक मात्र नभई मानसिक स्वास्थ्यमा समेत गम्भीर असर पुर्‍याइरहेका छन्।

नसर्ने रोग तथा मानसिक स्वास्थ्य समस्या प्रत्येक देशमा तीव्र गतिमा वृद्धि भइरहेको र यसबाट समाजको प्रत्येक तप्का प्रभावित भइरहेको अवस्थामा यो घोषणापत्र आएको हो।

आम नागरिकको अस्वस्थताले देशको उत्पादकत्वमा ह्रास ल्याउने र अन्ततः यसले दिगो आर्थिक वृद्धिमा समेत नकारात्मक असर पार्ने हुँदा यो राजनीतिक प्रतिबद्धताको कार्यान्वयन पक्ष निकै महत्वपूर्ण हुने देखिन्छ।

प्रकाशित: २ पुस २०८२ २१:४९ बुधबार