स्वास्थ्य

मस्तिष्कघात भएका भारतीय नागरिकको वीरमा निःशुल्क उपचार

वीर अस्पताल यस्तो स्वास्थ्य संस्था हो, जहाँ पैसा नभएका र कोही नभएका बिरामीको पनि उपचार हुन्छ। सोमबार वीर अस्पतालमा यस्तै बिरामी पुगे, जो मस्तिष्कघातका कारण बाटैमा ढलेका थिए। उनी हुन् भारतको सितामढी घर भई काठमाडौं जडीबुटीमा बस्दै आएका ४७ वर्षीय विजय चौधरी।

सोमबार आफन्तका घरमा गएकै बेला उनमा एक्कासि समस्या भयो। घुमायो र एकैछिनमा खुट्टाको दाहिने भाग चल्न छाड्यो। आफन्तले उनलाई वीर अस्पतालको आकस्मिक कक्षमा पु¥याए। आकस्मिक कक्षले उनमा मस्तिष्कघातका कारण खुट्टाको देब्रे भाग नचल्ने समस्या भएको पत्ता लगाए।

आकस्मिक कक्षमा पुगेरै सेवा दिएका न्युरोलोजिस्ट डा. सुनिल कोइरालाले सो उपचार अघि बढाए। लगत्तै मस्तिष्कमा अवरोध गर्ने डल्लो फुटाउने उपचारका लागि तयारी गरे। यो औषधी किन्नका लागि बिरामी पक्षसँग पैसा थिएन।

डा. कोइराला आफैं फार्मेसी पुगेर स्वास्थ्य मन्त्रालयले अनुदानमा प्राप्त भएको औषधी छिटोभन्दा छिटो बिरामीलाई दिए। यो समस्यामा उपचार हुने ‘एल्टिपेलेज’ मन्त्रालयले दुई महिनाअघि मात्र वीर, टिचिङ र भरतपुर अस्पतालमा पठाएको थियो। निजीको हकमा यो औषधी बिरामी आफैंले किन्नुपर्छ। औषधीको प्रभावपछि उनको स्वास्थ्यमा सुधार भएको डा. कोइरालाले बताए।

उनका अनुसार यो औषधी दुई महिनाअघि स्वास्थ्य मन्त्रालयबाट वितरण गरिएको थियो। मन्त्रालयलाई पनि अन्तर्राष्ट्रिय निकायले अनुदानका रूपमा उपलब्ध गराएको थियो। औषधी प्राप्त भएपछि केही सरकारी अस्पतालमा वितरण गरिएको थियो। यही औषधी ती पुरुषलाई दिइएको हो।

कोइरालाका अनुसार यस्तो समस्या भएका बिरामी चार घन्टाभित्र अस्पताल पुगेमा मात्र यो औषधीले काम गर्छ। सुईबाट दिइने यो औषधीले रगतमा जमेको डल्लो टुक्रा–टुक्रा पारेर फुटाउँछ। यो उपचार प्रक्रियालाई थम्बोलाइसिस भनिन्छ। ‘एल्टिपेलेज’ नामक औषधी मस्तिष्कघातका लागि प्रभावकारी मानिन्छ। ‘बिरामीको खुट्टाको भाग चल्न थालेको छ, औषधी प्रभावकारी देखिन्छ’, उनले भने।

समयमै निःशुल्क औषधी पाएकाले बिरामीले नयाँ जीवन पाएको डा. कोइराला बताउँछन्। मंगलबार अस्पतालको आइसियुमा भेटिएका चौधरीले अस्पतालले उपचार गरी बचाएकोमा खुसी व्यक्त गरे। ‘हिजो आफन्तकहाँ गएका बेलामै ढलेको थिएँ, अहिले खुट्टा चल्न थालेको छ’, चौधरीले खुट्टा देखाउँदै भने।

चौधरी विगत आठ वर्षदेखि ठेलामा तरकारी व्यापार गरेर जीविका चलाउँदै आएका छन्। उपचार गर्ने खर्च नभएकाले अन्य आवश्यक खर्च परिवारले क्रण खोजेर जुटाएको उनको छोराले बताए।

स्वास्थ्य मन्त्रालयले अन्तर्राष्ट्रिय दातामार्फत लिएको यो औषधीले विपन्न बिरामीका लागि राहत बनेको चिकित्सक बताउँछन्। एकातिर पैसा हुनेले पनि यो समस्यामा भनेकै बेलामा ८० हजार रूपैयाँ जुटाउन नसक्ने अर्कातिर विपन्न नागरिकका हकमा पहुँच बाहिरको औषधी भएकाले मस्तिष्कघात भएका बिरामीले समयमै औषधी नपाएमा मस्तिष्कघातले क्षति पुगेको समस्या दिगो रूपमा रहन्छ र बिरामी जीवनभर अपांगता हुनुपर्छ।

चिकित्सकका अनुसार मस्तिष्कघात भएका बिरामीमा मुखको एक भाग नचल्ने या बांगो हुने, एउटा हात या खुट्टा नचल्ने, एउटा आँखा बांगो हुने या नचल्ने जस्ता लक्षण देखिन्छ। यस्तो लक्षण देखिएमा चारदेखि साढे चार घन्टाभित्र अस्पताल पुगेमा उपचारपछि सामान्य अवस्थामा फर्कन सकिन्छ। केही समय मात्रै ढिला भएमा उपचार भए पनि बिरामीको बिग्रेको भाग सामान्य अवस्थामा फर्कन नसक्ने भएकाले यीमध्ये कुनै पनि लक्षण देखिएमा समयभित्रै अस्पताल जानुपर्ने सुझाए। 

प्रकाशित: २५ असार २०८२ ०९:२५ बुधबार

# Bir Hospital # Nagarik