स्वास्थ्य

अन्नपूर्णवासीको निःशुल्क स्वास्थ्य बिमा

कास्कीको अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षदेखि पालिकाभित्रका सबै नागरिकलाई निःशुल्क स्वास्थ्य बिमाको दायरामा ल्याउने भएको छ।

यसअघि दलित, अपाङ्गता भएका तथा अशक्त नागरिकको निःशुल्क स्वास्थ्य बिमा गरिदिएको गाउँपालिकाले यस वर्षदेखि भने सबै नागरिकको स्वास्थ्य बिमा गर्ने कार्यक्रम अघि बढाएको हो। गाउँपालिकाले स्वास्थ्य बिमाका लागि रु ९० लाख बजेट विनियोजन गरेको छ।

गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीका अनुसार अन्नपूर्ण गाउँपालिकामा करिब छ हजार ५०० घरधुरी छन्। सबै नागरिकको स्वास्थ्य बिमा गर्न विनियोजित बजेट अपुग भए आवश्यकता अनुसार थप बजेटको व्यवस्था गरिने उनले बताए।

'संविधानले स्वास्थ्यलाई जनताको मौलिक हकका रूपमा सुनिश्चित गरेको छ। स्वास्थ्य सेवामा नागरिकको पहुँच विस्तार गर्नु राज्यको दायित्व हो। सबै नागरिकको निःशुल्क स्वास्थ्य बिमा कार्यक्रमले न्यून आय भएका परिवारलाई समयमै उपचार सेवा लिन सहज बनाउनुका साथै उपचारमा हुने आर्थिक भारसमेत कम गर्नेछ,' अध्यक्ष केसीले भने। 

विकासका पूर्वाधारसँग मानवीय स्वास्थ्यलाई समेत ध्यान दिएर यो कार्यक्रम कार्यान्वयन गरिएको उनले बताए।

गाउँपालिकाले स्वास्थ्य बिमासँगै पालिकाभित्रको अन्नपूर्ण आधारभूत अस्पताललाई थप सुविधासम्पन्न बनाउने तयारी पनि गरेको छ। अस्पतालमा चिकित्सकको उपलब्धता बढाउनुका साथै विभिन्न स्वास्थ्य परीक्षणका लागि आवश्यक उपकरण विस्तार गर्दै लगिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी बरालले जानकारी दिए।

गाउँपालिकाले अन्नपूर्ण आधारभूत अस्पताललाई स्थानीय नागरिकको स्वास्थ्य उपचारको पहिलो सेवा बिन्दुका रूपमा विकास गर्ने नीति लिएको छ। अस्पतालमा उपचार सम्भव नभएका बिरामीलाई थप उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सिफारिस गर्ने व्यवस्था मिलाइएको उनले बताए।

गाउँपालिकाले सबै नागरिकलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउने उद्देश्यले निःशुल्क स्वास्थ्य बिमासँगै आधारभूत स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउने तयारी गरेको जनाएको छ। रासस

प्रकाशित: २६ श्रावण २०८३ ०८:४८ मंगलबार