वीरगञ्जमा हैजा संक्रमित बढेका छन् । दिनप्रतिदिन संक्रमित थपिँदा स्वास्थ्य चुनौती पनि थपिएको छ ।
पछिल्लो तथ्याङ्क अनुसार संक्रमित बिरामीको सरकारी तथा निजी गरी १७ वटा स्वास्थ्य संस्थामा १९३ जनाको उपचार भइरहेको छ । ती मध्ये ३३ जना आईसीयू र ४ जना एचडीयूमा छन् ।
पर्साको वीरगञ्ज महानगरपालिका भित्र-भित्रै हैजा फैलिएपछि पर्साको पोखरी उपमहानगरपालिका र बारामा जनामा हैजाको संक्रमण पुष्टि भएको छ। अन्य जिल्लामा पनि झाडापखालाका बिरामी बढ्दै जाँदा हैजाको प्रकोप अझै गम्भीर बन्दै गएको चिकित्सक बताउँछन्।
पानीको स्रोतमा कहाँबाट हैजाको जीवाणु पुग्यो भन्ने पहिचान हालसम्म हुन सकेको छैन । स्रोत पत्ता नलाग्दा रोग नियन्त्रण कठिन बन्दै गएको छ।
हैजाको बढ्दो संक्रमणका बेला नागरिकले सावधानी अपनाउन आवश्यक छ । संक्रमण फैलिएका क्षेत्रका नागरिकले अपनाउनुपर्ने यी आठ टिप्स तपाईं पनि थाहा पाउनुहोस् :
१. सफा र उमालिएको पानी मात्र प्रयोग गर्ने: हैजा जलजन्य रोग भएकाले अशुद्ध पानी सेवन गर्दा संक्रमणको जोखिम अत्यधिक हुन्छ। पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनुपर्छ।
२. सफा र पकाएको खानेकुरा मात्र खाने: काँचो वा सडकछेउको खुला ठाउँको खाना नखानुहोस्। पकाएको खाना तातो अवस्थामा राख्नुहोस् र सकेसम्म तातै प्रयोग गर्नुहोस् ।
३. हातको सफाइमा ध्यान दिने: खाना खानुअघि, खाना पकाउँदा, दिसापिसापपछि अनिवार्य साबुनपानीले हात धुने बानी बसालौँ ।
४. सार्वजनिक स्थानको सरसफाइ: फोहोरमैला यथास्थानमा फाल्ने र घर वरिपरि सफा राख्ने अभ्यास गरौँ ।
५. दस्त वा बान्ता भएका बिरामीको सम्पर्कमा विशेष सावधानी अपनाउने: बिरामीको स्याहार गर्दा पञ्जा लगाउने र प्रयोग भएका सामाग्रीहरू नष्ट गर्ने वा राम्रोसँग सफा गर्ने।
६. स्वास्थ्य केन्द्रमा सम्पर्क गर्ने: हैजाको लक्षण (लगातार पातलो दिसा, बान्ता, जिउ कमजोर हुनु, पानीको कमी हुनु) देखिएमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरौँ ।
७. जीवनजलको प्रयोग: शरीरमा पानीको मात्रा सन्तुलनमा राख्न जीवनजल पानीको प्रयोग गरौँ ।
८. सार्वजनिक स्वास्थ्य सूचनामा ध्यान दिने: सरकारी वा स्वास्थ्य संस्थाबाट जारी निर्देशनहरू पालना गरौँ ।
प्रकाशित: १३ भाद्र २०८२ २१:०५ शुक्रबार