स्वास्थ्य

भक्तपुरमा आँंखाका बिरामी बढ्दो

भक्तपुरमा आँंखाका बिरामीहरूको संख्या वर्षेनी वढ्दो रहेको तथ्यांकले देखाएको छ । पछिल्लो २० वर्षमा यहाँं आँंखाका बिरामीहरूको संख्या प्रत्येक वर्ष निरन्तर उकालो लाग्दै गहेको तथ्यांकले देखाएको हो । 

ख्वप तीलगंगा आँंखा अस्पताल च्याम्हासिंह भक्तपुरले राखेको तथ्यांकअनुसार यहाँं आउने बिरामीहरुको संख्या निरन्तर उकालो लाग्दो छ । अस्पतालले सन् २००६ देखि आँंखाको सेवा सुरु गरेको थियो ।

तथ्यांकअनुसार सेवा सुभारम्भ भएको पहिलो वर्ष सन् २००६ मा कुल दुई सय २१ जनाले सेवा पाएका थिए । यो क्रम बढ्दै अहिले वर्षको जुन महिनासम्ममा मात्रै  १६ हजार बढीले सेवा पाइसकेका छन् । चालू आर्थिक वर्षको अन्तसम्ममा यो संख्या वढ्ने निश्चित नै छ, अस्पताल इन्चार्ज धीरज अधिकारीले बुधबार भएको स्थानीय परियोजना सल्लाहकार परिषद्को बैठकमा भने ।

तथ्यांकअनुसार सन् २००७ मा तीन हजार एक सय ६०, सन् २००८ मा चार हजार पाँंच सय २५, २००९ मा ६ हजार नौ सय ५३, २०१० मा सात हजार सात सय चार, २०११ मा सात हजार आठ सय ४३, २०१२ मा आठ हजार पाँच सय ३१, २०१३ मा ११ हजार चार सय ७४, २०१४ मा १३ हजार आठ सय ७८, २०१५ मा १४ हजार नौ सय ८७, २०१६ मा १५ हजार आठ सय २२, २०१७ मा १८ हजार ४८ जना, २०१८ मा २० हजार ४२७ जनाको तथ्यांकले प्रत्येक वर्ष निरन्तर बिरामीको संख्या बढ्दो देखाएको हो ।

त्यसको अर्को वर्ष अर्थात् सन् २०१९ मा पनि बढेर २५ हजार ७९४ जनाले सेवा लिए । त्यसपछि दुई वर्ष भने घटेको देखिएको छ । कोरोनाका कारण ती वर्षमा बिरामी आउने क्रम घटेको जनाइएको छ । 

सन् २०२० मा ११ हजार ६९१ जनाले सेवा पाए । यस्तै सन् २०२१ मा पुनः बढेर २० हजार ८९ जनाले सेवा पाए । त्यसपछि सन् २०२२ मा फेरि बढेर २५ हजार पाँंच सय ७३ रोगी उपचारमा आए । सन् २०२३ मा फेरि बढेर ३१ हजार दुई सय ७९ जनाले सेवा लिएका थिए । त्यसपछि  सन् २०२४ को नोवेम्भरसम्म २७ हजार पाँंच सय ६२ जनाले सेवा लिएको तथ्यांक छ । त्यसपछि सन् २०२५ को जुन महिनासम्म १६ हजार दुईजनाले सेवा पाएको तथ्यांक छ । विमाबाट चश्मा वितरण बन्द भएकाले पछिल्लो दुई वर्षमा सेवाग्राहीको संख्या घटेको जनाइएको छ ।

अस्पतालमा विरामीको चाप वढ्दो छ,’ इन्जार्ज अधिकारीले भने, ‘त्यसकारण अहिले हामी सेवा फराकिलो ठाउँंमा राखेका छौं ।’ अस्पताल अहिले भक्तपुर नगरपालिका वडा नं ९ च्याम्हासिहस्थित भव्य ख्वप अस्पताल भबनको माथिल्लो तल्लामा छ ।  

ख्वप तीलगंगा आँंखा अस्पताल भक्तपुर नगरपालिका र तीलगंगा आँंखा अस्पतालको संयुक्त स्वामित्वमा सञ्चालित छ । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले यो अस्पतालले अरु अस्पतालले भन्दा सेवामा गुणस्तर र शुल्कमा न्युन शुल्कमा सेवा दिइरहेको जानकारी गराए । काठमाडौंको तीलगंगा आँंखा अस्पताललगायतका निजी तथा सरकारी अस्पतालहरुमा भन्दा कम शुल्कमा आफूहरुले सेवा दिइरहेको उनको भनाइ थियो । यहाँं नयाँं बिरामी चेकअपका लागि विशेषज्ञसहितिको सेवाको लागि प्रतिव्यक्ति रु. ८० र पुरानाका लागि रु ५० मात्रै टिकट शुल्क रहेको छ ।

स्थानीय परियोजना सल्लाहकार समितिको बैठकमा तीलगंगा आँंखा अस्पतालका प्रबन्धक डा. मोहनकृष्ण श्रेष्ठ, तीलगंगा आँंखा अस्पतालका प्रमुख वितीय अधिकृत रामचन्द्र खनाल, चिकित्सक डा सुदीप राजभण्डारी, ख्वप तीलगंगा आँंखा अस्पताल व्यवस्थापन समितिका सदस्य एवं अस्पताल रहेको भक्तपुर नगरपालिका वडा नं ९ का वडा अध्यक्ष रवीन्द्र ज्याख्वलगायतका सदस्य तथा आमन्त्रित सदस्यहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित: २८ श्रावण २०८२ १९:०५ बुधबार