स्वास्थ्य

दसैंमा घर जाँदा इन्सेफलाइटिस सर्ला है !

तपाईंको घर तराई वा भित्री मधेसमा पर्छ ? लामो समयपछि दसैं, तिहार, छठका लागि देशका विभिन्न भूभाग वा विदेशबाट घर फर्किंदै हुनुहुन्छ? सावधानी नअपनाए जापानिज इन्सेफलाइटिसको संक्रमण हुन सक्छ। दसैं, तिहार वा छठका अवसरमा यो रोग सर्न सक्ने जोखिम रहेको परिवार कल्याण महाशाखाको खोप शाखाले जनाएको छ।

खोप शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार यस वर्ष जापानिज इन्सेफलाइटिसको प्रकोप देखिएका जिल्लामा घरमै बस्ने बालबालिका र महिलामध्ये धेरैले खोप लगाएका छन् तर जागिर वा कामका सिलसिलामा घरबाहिर र विदेशमा रहेका परिवारका सदस्य, विशेष गरी पुरुषहरू खोप लगाउनबाट छुटेका छन्। यसकारण उनीहरूमा संक्रमणको जोखिम कायमै रहेको गौतमले बताए। ‘रोगको प्रकोप देखिएका जिल्लामा खोप लगाउन छुटेकाहरू दसैंमा घर फर्किंदै छन्। उनीहरूमा संक्रमणको जोखिम छ,’ उनले भने।

छठ पर्वपछि पनि थप एक महिनासम्म यो रोग सर्ने जोखिम हुने भएकाले चाडपर्वमा घर फर्किनेहरू सचेत हुनुपर्ने गौतमले बताए। यस वर्ष जापानिज इन्सेफलाइटिसको प्रकोप बढी देखिएका झापाका सबै स्थानीय तह र कैलालीका तीन स्थानीय तह (लम्कीचुहा, घोडाघोडी र धनगढी) मा खोप अभियान सञ्चालन गरिएको छ। जापानिज इन्सेफलाइटिसविरुद्ध खोप लगाउन छुटेकाले घर गएपछि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरी नि:शुल्क रुपमा लगाउन सक्छन्। ‘घर पुग्नेबित्तिकै खोप लगाउँदा उचित हुन्छ,’ गौतमले भने।

खोप अभियान सञ्चालन नभएका तराई तथा भित्री मधेसका जिल्लामा पनि यो रोगको जोखिम कायमै रहेको उनले बताए। मधेस प्रदेशका सबै जिल्ला तथा चितवन, मोरङ, सुनसरी, बाँके, बर्दिया, कञ्चनपुर, रूपन्देही, दाङ, उदयपुर, सुर्खेत, तनहुँ र नवलपुरलगायत जिल्लामा विशेष सावधानी अपनाउनुपर्ने उनको सुझाव छ। 

जापानिज इन्सेफलाइटिसबाट बच्न खोप लगाउनु सबैभन्दा प्रभावकारी उपाय हो। खोप लगाउन छुटेका व्यक्तिले स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्ने र खोप अभियान नभएका क्षेत्रमा लामखुट्टेको टोकाइबाट जोगिनुपर्ने गौतमले बताए। लामखुट्टेको टोकाइबाट जोगिन झुल लगाएर सुत्ने, शरीर ढाक्ने लुगा लगाउने तथा हाँस र बंगुरपालन घरदेखि टाढा राख्ने गर्नुपर्छ।

गत वर्ष खोप अभियान सञ्चालन गरिएको नवलपुरमा यस वर्ष जापानिज इन्सेफलाइटिसको संक्रमण नदेखिएको गौतमले बताए। उनका अनुसार खोप नै संक्रमणबाट बच्ने प्रमुख उपाय हो। यस वर्ष जापानिज इन्सेफलाइटिसका कारण ३० जनाको मृत्यु भइसकेको छ। यसबाहेक १३३ जनामा संक्रमण पुष्टि भएको छ।

गत वर्ष यो रोगबाट ४१ जनाको मृत्यु भएको थियो। भदौ र असोजमा संक्रमणको जोखिम उच्च रहने भए पनि असोजको अन्तिमतिर संक्रमणदर घट्दै गएको गौतमले बताए। संक्रमितहरू अझै अस्पतालमा उपचाररत छन्। थप एक महिनासम्म सावधानी अपनाए संक्रमणबाट जोगिन सकिने उनको सुझाव छ।

प्रकाशित: २७ आश्विन २०८३ ०८:१५ मंगलबार