दुई साताअघि काठमाडौंकी ३२ वर्षीया एक युवती ललितपुरस्थित क्रिएटर आइभिएफ केन्द्रमा पुगिन्। उनी आफ्नै डिम्ब निकालेर भविष्यका लागि सुरक्षित गर्ने उद्देश्यले त्यहाँ पुगेकी हुन्। विवाहित ती महिलाले तत्काल बच्चा जन्माउन नचाहेका कारण डिम्ब भण्डारण गर्न खोजेकी हुन्। उनी अहिले चिकित्सकको परामर्शमा छिन्।
काठमाडौंकै ३५ वर्षीया अर्की युवतीले एक वर्षअघि सोही केन्द्रमा आफ्नो डिम्ब निकालेर भण्डारण गरिसकेकी छन्। विदेशमा बस्ने ती युवती अविवाहित हुन्। पछि विवाह भए बच्चा जन्माउन सकियोस् भन्ने उद्देश्यले उनले डिम्ब भण्डारण गरेकी हुन्।
यी दुईबाहेक थप दुई युवतीले पनि केन्द्रमा डिम्ब भण्डारण गरिसकेका छन्। काठमाडौंको इन्दिरा आइभिएफमा हालसम्म सात युवतीले डिम्ब भण्डारण गरिसकेका छन्। सबै केन्द्रमा गरी करिब एक सय युवतीले डिम्ब भण्डारण गरेको अनुमान गरिएको छ।
ग्रान्डी अस्पतालको आइभिएफ केन्द्रले १२ वर्षअघिदेखि नै डिम्ब भण्डारण सुरु गरेको हो। त्यहाँ कतिले डिम्ब भण्डारण गरे भन्ने यकिन तथ्यांक अस्पतालसँग छैन। सर्वोच्च अदालतले २० वर्षमुनिका युवतीको डिम्ब निकाल्न नपाउने व्यवस्था गरेपछि ग्रान्डीले डिम्ब भण्डारणको काम नै बन्द गरेको त्यही अस्पतालमा स्त्रीरोग तथा आइभिएफ विशेषज्ञ डा. पदमराज पन्त बताउँछन्। उमेर पुगेका, एकल तथा सम्बन्ध विच्छेद गरेका महिलाको हकमा भने डिम्ब फ्रिज गर्न सकिने डा. पन्त बताउँछन्।
पछिल्लो समय अविवाहित तथा एकल महिला पनि डिम्ब भण्डारणको माग लिएर आउने गरेको प्रसूति गृह अस्पतालको आइभिएफ केन्द्रकी प्रजनन विशेषज्ञ डा. ज्वाला थापा बताउँछिन्। हालसम्म चार जना युवती डिम्ब भण्डारणबारे बुझ्न आएका थिए। अस्पतालमा अविवाहित महिलाको डिम्ब भण्डारण गर्ने सेवा भने छैन।
केही वर्षअघि एक विवाहित महिलाको डिम्ब भण्डारण गरिएको थियो। दुई वर्षदेखि आइभिएफ सेवा सञ्चालन गरेको शिक्षण अस्पतालमा भने डिम्ब भण्डारण गर्न युवतीहरू आएका छैनन् तर क्यान्सर लागेर केमोथेरापी लिएका महिलाको डिम्बाशय नष्ट हुने जोखिम हुने भएकाले उनीहरूको डिम्ब भने भण्डारण गरिन्छ।
के हो डिम्ब भण्डारण प्रक्रिया
तत्काल आमा बन्न नचाहेका तथा अनुकूलता नमिलेका महिलाहरूले डिम्ब निकालेर पछिका लागि सुरक्षित राख्ने प्रक्रियालाई नै डिम्ब भण्डारण भनिन्छ। विधिपूर्वक भण्डारण गरिने डिम्ब लामो समयसम्म पनि जस्तको तस्तै रहन्छ। भण्डारण गरिएको डिम्बलाई पछि विवाह भएपछि वा अनुकूल समय आएपछि पुरुषको शुक्रकिटसँग प्रयोगशालामा निषेचन गरिन्छ।
भ्रूण बनेपछि पाठेघरमा राखेर गर्भधारण गराउने प्रक्रिया अपनाइन्छ। डिम्बको गुणस्तर कायम राख्न उचित तापक्रम र आवश्यक रसायनको प्रयोग गरी विशेष प्रविधिबाट लामो समय फ्रिज गरेर सुरक्षित राखिन्छ। समय मिलेपछि युवती उक्त डिम्ब प्रयोग गरी आमा बन्ने प्रक्रियामा जान सक्छिन्। यो प्रक्रियामा प्रयोग हुने रसायन तथा प्रविधि महँगो पर्ने भएकाले सबैको पहुँचमा पुग्न नसकेको चिकित्सकहरू बताउँछन्।
किन डिम्ब भण्डारण गर्न चाहन्छन् युवती
चिकित्सकका अनुसार डिम्ब प्रायः ३० वर्ष कटेकाहरू डिम्ब भण्डारण गर्न चाहन्छन्। डिम्ब भण्डारण गर्न चानेमा ४८ वर्षसम्मका महिला पनि छन्। उनीहरू प्राज्ञिक अध्ययनमा व्यस्त रहेका, आत्मनिर्भर बन्न खोजिरहेका तथा प्रेम सम्बन्धमा रहे पनि विवाह निश्चित नभएकाहरू हुन्। साथै विवाह गरे पनि सम्बन्ध टिक्न सक्ने अवस्था कम देखेका र सम्बन्धविच्छेद भएका महिलाहरू पनि डिम्ब फ्रिजको खोजीमा हुने क्रिएटर आइभिएफकी स्त्रीरोग तथा आइभिएफ विशेषज्ञ डा. सानुमाया श्रेष्ठले बताइन्।
उनका अनुसार विवाहपछि सम्बन्धविच्छेद पनि हुन सक्ने भन्दै डिम्ब भण्डारण गर्न चाहनेहरू पनि भेटिन्छन्। ‘विदेशमा बस्ने र ढिलो विवाह गर्न चाहने युवतीहरू पनि डिम्ब भण्डारण गर्न खोज्छन्,’ श्रेष्ठले भनिन्। पछिल्लो समय ढिलो विवाह गर्ने र ढिलो बच्चा जन्माउने चलन सहरी समाजमा बढ्दै गएको छ।
वैदेशिक अध्ययन वा रोजगारीमा गएका युवतीहरूले पनि डिम्ब भण्डारणको माग गर्ने गरेको इन्दिरा आइभिएफ सेन्टरकी प्रजनन विशेषज्ञ डा. नेहा हुमागाईंले बताइन्। डिम्ब भण्डारण गर्ने युवतीहरू प्रजनन स्वास्थ्य र स्वस्थ शिशु जन्माउने प्रक्रियाबारे राम्रो जानकारी भएकाहरू हुन्छन्।
ढिलो विवाह भए पनि आमा बन्ने चाहना पूरा गर्न उनीहरू डिम्ब सुरक्षित राख्न चाहन्छन्। साथै उमेर बढ्दै जाँदा डिम्बको गुणस्तर घट्ने र कतिपय अवस्थामा डिम्बको संख्या नै कम हुँदै जाने भनेर बुझेका कारण पनि उनीहरूले यस्तो विकल्प रोज्ने गरेका छन्।
अहिलेका सहरिया युवतीहरू सकेसम्म ढिलो विवाह गर्ने र ढिलो सन्तान जन्माउने क्रम बढेको शिक्षण अस्पताल महाराजगन्जकी चिकित्सक डा. पुनम शर्मा बताउँछिन्। ‘अहिलेका युवतीहरू विवाहको सबै भार वहन गर्न चाहँदैनन्, समाज बदलिइसकेको छ,’ डा. शर्माले भनिन्।
३५ वर्षपछि डिम्बको संख्या घट्दै जान्छ
चिकित्सकका अनुसार महिलाको अण्डाशयमा सीमित संख्यामा डिम्ब हुन्छन्। उमेर बढ्दै जाँदा डिम्बको संख्या र गुणस्तर दुवै घट्दै जान्छ।
विशेषगरी ३५ वर्षपछि डिम्बको संख्या घट्दै जाने र गुणस्तरमा पनि कमी आउने चिकित्सकहरू बताउँछन्। कतिपय महिलामा ३८ वर्षपछि डिम्बको संख्या निकै कम हुन सक्छ। यस प्रक्रियाबारे राम्रो जानकारी भएका युवतीहरू युवा उमेरमै डिम्ब भण्डारण गरेर भविष्यमा सन्तान जन्माउने सम्भावना सुरक्षित राख्न चाहन्छन्।
डिम्ब भण्डारणपछि लामो समय सुरक्षित राख्न सकिने डा. पन्त बताउँछन्। उचित रूपमा भण्डारण गर्न सके लामो समयसम्म डिम्ब सुरक्षित राख्न सकिने उनी बताउँछन्। डिम्ब उपलब्ध भए पाठेघरको अवस्था र अन्य स्वास्थ्य पक्ष अनुकूल रहेसम्म गर्भधारणको प्रयास गर्न सकिन्छ।
डिम्ब भण्डारण कति उचित
चिकित्सकका अनुसार महिलाको डिम्ब र पाठेघर दुवैको गुणस्तर उमेर बढ्दै जाँदा घट्दै जान्छ। पाठेघरमा विभिन्न रोग लाग्दा भ्रूण प्रत्यारोपण गर्न सहज नहुन सक्छ। पाठेघरभित्र फाइब्रोइड, इन्डोमेट्रियोसिसजस्ता समस्या भए गर्भ बस्न कठिन हुन सक्छ।
भण्डारण गरिएका डिम्बको प्रयोगबाट सफलता पनि उमेर, डिम्बको गुणस्तर र अन्य स्वास्थ्य अवस्थाअनुसार फरक पर्न सक्छ। डा. पन्तका अनुसार डिम्ब भण्डारणपछि सफलताको सम्भावना करिब ७० प्रतिशतसम्म हुन सक्छ तर समय र उमेरअनुसार यो घट्दै जान्छ।
ढिलो उमेरमा ‘टेस्टट्युब बेबी’ जन्माउँदा पाठेघरको स्वास्थ्यलगायत विभिन्न पक्षमा चुनौती आउन सक्ने भएकाले सकेसम्म उचित उमेरमा प्राकृतिक रूपमा बच्चा जन्माउनु उपयुक्त हुने चिकित्सकहरूको सुझाव छ।
डिम्ब भण्डारण प्रक्रियाका क्रममा महिलाको स्वास्थ्यमा केही जोखिम हुन सक्ने भएकाले चिकित्सकको परामर्श आवश्यक हुन्छ। ‘डिम्ब निकाल्नुअघि दिइने हर्मोनले शरीरमा विभिन्न समस्या उत्पन्न हुन सक्छ,’ डा. पन्तले भने।
प्रकाशित: ४ भाद्र २०८३ ०८:२२ बिहीबार